एकहजार डलर लिएर नक्कली एसाइलम फाइल गरिदिने न्युजर्सीका दम्पत्ति पक्राउ र अभियोग


प्रकाशित मिति : भाद्र १८, २०८० सोमबार

न्युजर्सीको नेवार्क अदालतको एक ग्रान्ड जूरीले नक्कली एसाइलम फाइल गरिदिने न्युजर्सी निवासी दम्पतीलाई अध्यागमन ठगी र षड्यन्त्रको आरोपमा अभियोग लगाएको छ । ६१ वर्षीय जुवैरुल अमिर र उनकी श्रीमती ६३ वर्षीया क्लाउडेट अमिरले कम्तिमा सन् २००७ देखि नै यो काम गर्दै आएका थिए । एफबीआईको सम्पर्कमा आएका एक ग्राहक सरकारी सहयोगी बन्न राजी भएपछि यसको खुलासा भएको हो ।

अमेरिकामा शरणका लागि आवेदकहरूले युएससीआईएस समक्ष उनीहरु जाति, धर्म, राष्ट्रियता, राजनीतिक विचार, वा कुनै विशेष सामाजिक समूहको सदस्यताको कारणले जन्मभूमिमा सतावट र जोखिम भोगेको देखाउनुपर्छ । वा तिनीहरूले आफ्नो देशमा फर्कने हो भने सतावटको डर भएको कुरा राम्रोसँग प्रमाणित गर्नुपर्छ।

जुवैरुल अमिरले आफ्ना गैर नागरिक ग्राहकहरूको तर्फबाट जालसाजी शरण आवेदनहरू तयार गर्दै आएका थिए । अमिरकी श्रीमती क्लाउडेटले व्यवसायको व्यवस्थापन गर्दै आएकी थिइन् । उनी ग्राहकहरूको लागि सम्पर्कको प्राथमिक बिन्दु थिइन् भने बैठकहरू व्यवस्थित गर्ने र पूरा भएका आवेदनहरू युएससीआईएसमा पठाउने गर्दै आएकी थिइन् । उनीहरुका अधिकांश ग्राहकहरु श्रीलंकन रहेका थिए ।

श्रीमतीको सहयोगमा जुवैरुल अमिरले ग्राहकहरूसँग भेटेर उनीहरूको मूल देशहरूमा दुर्व्यवहारको कथाहरू सुन्थे र उनीहरूका तर्फबाट आवेदनहरू ड्राफ्ट गर्थे । उनीहरूले दुर्व्यवहारका कथाहरूलाई बढाइचढाइ गरेर झुटो रूपमा बनाउने गरेका थिए ।

फ्र्याङ्कलिन टाउनशिप निवासी दम्पतीले प्रति आवेदन कम्तिमा १ हजार डलर चार्ज गर्दै आएको नेवार्कको अदालतमा फाइलमा गरिएको उजुरीमा आरोप छ। श्रीलंकाबाट अमेरिका आएका एक व्यक्तिले दम्पतीको यस्तो कार्यको खुलासा गरेका थिए । उक्त व्यक्तिले जुवैरुल अमिरलाई श्रीलंकामा दुव्र्यवहार भएको साँचो कथा सुनाएका थिए । तर अमिरले त्यसमा झूटा विवरणहरू थपेर व्यक्तिलाई पुलिसले यौन दुर्व्यवहार गरेको उल्लेख गरेका थिए ।

निवेदकले यसको विरोध गरेका थिए । उनले थप गरिएका विवरणहरू गलत भएको अमिरलाई जानकारी दिँदै हटाउन भनेका थिए । तर अमिरले त्यस्तो नलेखे अमेरिकी अध्यागमन अधिकारीहरूले शरण नदिने बताएका थिए । निवेदकले अमिरलाई झूट हटाउन जोड दिएपछि अमिर कथित रूपमा सहमत भएका थिए तर उनले आवेदनमा रहेको झुठो विवरण सच्याएनन् ।

संघीय अनुसन्धानकर्ताहरुले आवेदकसँग उनको आवेदनको बारेमा सम्पर्क गरेका थिए । तयसपछि ती व्यक्ति एफबीआईसँग काम गर्न सहमत भएका थिए । त्यसपछि आवेदकले युएससीआईएससँगको उनको आगामी अन्तर्वार्तामा सल्लाहको लागि जुवैरुल अमिरलाई सम्पर्क गरे। एफबीआई एजेन्टहरूले जुवैरुल अमिरसँगका तीनवटा फोन कलहरू रेकर्ड गरेका थिए जसमा अमिरले आवेदकलाई गलत विवरण थप नगरे एसाइलमको दावी कमजोर हुने बताएका थिए ।

संघीय अनुसन्धानकर्ताहरुले त्यसपछि पति पत्नी दुवैद्वारा झुटा आवेदनहरूका अन्य उदाहरणहरू फेला पारेका थिए । एफबीआईको न्यूयोर्क फिल्ड अफिसका विशेष एजेन्टहरू र यूएससीआईएसको न्युयोर्कको एसाइलम अफिसका अधिकारीहरुको पहलमा उनीहरुले नक्कली एसाइलम फाइरल गरेको पत्ता लागेको हो । जसका कारण अनुसन्धान पक्राउ र अभियोगसम्म पुगेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com