के नेपालका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता हुनेछ?


प्रकाशित मिति : भाद्र २७, २०८० बुधबार

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभाको ७८ औं शत्रमा भाग लिन अमेरिकाको न्युयोर्क आउँदैछन् । प्रचण्डले यसै क्रममा विश्वका विभिन्न नेताहरुलाई भेट्ने र महासभामा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

न्युयोर्क भ्रमणका क्रममा के प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच छुट्टै भेटघाट पनि हुनेछ ? अमेरिकी राष्ट्रपतिले विश्वका नेताहरुलाई दिने सामुहिक स्वागत बाहेक नेपालका प्रधानमन्त्रीसँग छुट्टै भेटघाटको कार्यक्रम भने अहिलेसम्म तय भइनसकेको ह्वाइटहाउसले खसोखासलाई जानकारी दिएको छ ।

राष्ट्रपतिका लागि एक्जुक्युटिभ अफिस र ह्वाइट हाउसका लागि नेशनल सेक्युरिटी काउन्सिलले दिएको जानकारी अनुशार बाइडेनले नेपालका प्रधानमन्त्रीलाई छुट्टै भेट्ने कुनै कार्यक्रम रहेको छैन भने अमेरिकी विदेशमन्त्रीसँग पनि नेपालका अधिकारीहरुको भेटघाटको कार्यक्रम छैन ।

ह्वाइट हाउसको नेशनल सेक्युरिटी काउन्सिलमा कार्यरत एकजना सहायक प्रेस सेक्रेटरी तथा स्ट्राटेजिक कम्युनिकेशन निर्देशकले अहिले कार्यक्रम तय भइनसकेको भएतापनि आगामी दिनमा राष्ट्रपतिको तालिकाबारे थप जानकारी हुने बताएका छन् । नेपालको परराष्ट्र श्रोतले पनि प्रचण्ड र बाइडेनबीच छुट्टै भेटघाटको कुनै तालिका तय नभएको जनाएको छ ।

राष्ट्रपति बाइडेन सेप्टेम्बर १९ देखि २० सम्म न्युयोर्कमा रहने क्रममा संयुक्त राष्ट्रसंघमा सम्बोधन समेत गर्नेछन् । सेप्टेम्बर १९ मा महासभालाई सम्बोधन गर्नुका साथै राष्ट्रपति बाइडेनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा परेका खतराहरूको सामना गर्न, विश्वव्यापी समृद्धिलाई अगाडि बढाउन र मानवअधिकारको संरक्षणमा सहयोगका बारेमा छलफल गर्न विश्वका नेताहरूसँग भेट गर्नेछन्।

संयुक्त राष्ट्रसंघ महासभाका बेलामा अमेरिकी राष्ट्रपतिले राष्ट्रप्रमुखहरुका लागि रिसेप्सेन पार्टीको आयोजना गर्ने प्रचलन समेत रहेको छ । जस अनुशार विभिन्न देशका राष्ट्रप्रमुख र अमेरिकी राष्ट्रपति दम्पत्तिको फोटो सेसन हुने गर्छ । यो रिसेप्सनमा नेपालका प्रधानमन्त्री सहित सबै देशका राष्ट्रप्रमुखहरुलाई अमेरिकी राष्ट्रपतिले २ मिनेट वा त्यो भन्दा अझ कम समय भेट्ने कार्यक्रम हुन्छ ।

यो रिसेप्नसमा सबै देशका राष्ट्रप्रमुखसँग सामान्य हालखबर सोध्ने र फोटो खिच्नेमात्र काम हुन्छ । यद्यपी आफूले महत्व दिएका राष्ट्रप्रमुखहरुलाई अमेरिकी राष्ट्रपतिले रिसेप्सेन कार्यक्रम बाहेक अरु समयमा छुट्टै भेटघाट समेत गर्ने गर्छन् ।

प्रधानमन्त्रीलाई ढोका बाहिरसम्म छोड्न राष्ट्रसंघका लागि नेपाल मिसनको कार्यालय कर्मचारीहरु र अन्य अधिकारीहरु पनि जाने गर्छन् । त्यसपछि भित्र पसेपछि आफ्नो पालो आउनासाथ नेपालका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई भेटेर फोटो खिच्छन् । यो भेटमा सञ्चै हुनुहुन्छ रु भनेर सामान्य व्यक्तिगत हालखबर सोध्नेबाहेक अरु कुराकानी हुँदैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com