यो साता ७ हजार आप्रवासीलाई अमेरिकी नागरिकता, कुल नेपाली अमेरिकन ७५ हजार
प्रकाशित मिति : आश्विन १, २०८० सोमबार
अमेरिकाले यो साता संविधान दिवस र नागरिकता दिवस मनाउन झण्डै ७ हजार आप्रवासीलाई नागरिकता प्रदान गर्न आइतबारदेखि शुक्रबारसम्मका लागि नागरिकता सपथग्रहण समारोहहरु आयोजना गरेको छ । युएससीआईएसले सेप्टेम्बर १७ देखि सेप्टेम्बर २२ का बीचमा देशभर १३० भन्दा बढी नागरिकता वितरण समारोहहरू अयोजना गरेर ६ हजार ९ सय भन्दा बढी नयाँ नागरिकहरूलाई स्वागत गरेर संविधान दिवस र नागरिकता दिवस मनाउने जनाएको छ ।
युएससीआईएसले निष्पक्षता, अखण्डता र सम्मानका साथ स्वागत र सम्भाव्यताको राष्ट्रको रूपमा अमेरिकाको प्रतिज्ञालाई कायम राख्ने मिशन अनुरूप नागरिकताको बारेमा सचेतना जगाउन समुदायहरूमा काम गर्न जारी राख्ने युएससीआईएस निर्देशक उर एम जद्दौले बताएकी छिन् । नागरिकता प्रवर्द्धन गर्न र योग्य आप्रवासीहरूलाई अमेरिकी लोकतन्त्रमा पूर्ण रूपमा सहभागी हुन प्रोत्साहित गर्नु युएससीआईएसको कामको आधारशिला भएको तथा नागरिकताको अधिकार, जिम्मेवारी र महत्त्वमा केन्द्रित भएर संविधान दिवस र नागरिकता दिवसको भावनालाई चित्रण गर्ने उनले बताएकी छिन् ।
सेप्टेम्बर १७ मा अमेरिकाले संविधान सप्ताहको भागको रूपमा संविधान दिवस र नागरिकता दिवस मनाउँछ। सेप्टेम्बर १७, १७८७ मा अमेरिकी संविधानमा हस्ताक्षर भएको थियो । सन् १९४० बाट यो अमेरिकी दिवसको रूपमा मनाउन सुरु गरिएको थियो भने सुरु भएको उत्सव दुवैलाई सम्झनाले सम्मान गर्दछ। राष्ट्रपति ह्यारी ट्रुमन द्वारा कानूनमा हस्ताक्षर गरेपछि नागरिकता दिवस सन् १९५२ मा सुरु भयो भने राष्ट्रपति ड्वाइट आइसेनहोवरले सन् १९५५ मा पहिलो संविधान सप्ताह को घोषणा गरे।
प्रत्येक वर्ष युएससीआईएसले संविधान दिवस र नागरिकता दिवसलाई संविधान दिवस सप्ताहका रुपमा मनाउदै आएको छ । संविधान र नागरिकता बीचको सम्बन्ध मनाउन युएससीआईएसले अमेरिकाको नागरिक हुनुको अर्थ के हो भनेर प्रतिबिम्बित गर्दै देशभर विशेष नागरिकता वितरण समारोहहरू आयोजना गरेर मनाउँछ। संविधानले कानूनको शासन मात्र स्थापित गर्दैन यसले आप्रवासीहरूलाई नागरिक बन्न सक्षम बनाउने अध्यागमन प्रणालीको ढाँचा पनि बनाउने युएससीआईएसको भनाई छ ।
अमेरिकामा योग्य ग्रिनकार्डवाहकहरु अमेरिकी नागरिक बन्नको लागि एक व्यापक र बहु चरणको प्रक्रिया पार गर्नुपर्छ । नागरिकता वितरण प्रक्रियाको अन्तिम चरण सबैभन्दा महत्त्वपूर्ण निष्ठाको शपथ हो । संविधान सप्ताहको एक भागको रूपमा युएससीआईएसले सेप्टेम्बर १७ र सेप्टेम्बर २२ बीच हुने नागरिकता वितरण समारोहहरू हाइलाइट गर्दै प्रत्येक समारोह पछि नयाँ अमेरिकी नागरिकहरू र तिनीहरूका परिवार तथा साथीहरूलाई सामाजिक सञ्जालमा फोटोहरू शेयर गर्न प्रोत्साहित गरेको छ ।
नेपाली अमेरिकन ७५ हजार, विगत ७ बर्षमा तेब्बर, एकदशकमा चारगुणा बृद्धि
अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ७५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । जसमध्ये झण्डै १५ प्रतिशत न्युयोर्क निवासी रहेका छन् । अर्थात् न्युयोर्क निवासी नेपाली अमेरिकनको संख्या झण्डै ११ हजार छ । कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा अमेरिकाभर ५ हजार ७ सय ९४ र सन् २०२१ मा ७ हजार २ सय ३२ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२२ र २०२३ को तथ्यांक समेत जोड्दा ७५ हजार नेपालीले अमेरिकन नागरिकता लिइसकेका छन् ।
आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।
सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।
त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।
विगत ७ बर्षमा नेपाली अमेरिकनको संख्या तेब्बरले बृद्धि भएको छ । किनभने २०१५ सम्म २५ हजार नेपालीले अमेरिकी नागरिकता लिएका थिए भने अहिले यो संख्या ७५ हजार पुगेको छ । विगत एकदशकको तुलना गर्ने हो भने नेपाली अमेरिकनको संख्या झण्डै ४ गुणाले बढेको छ । किनभने एकदशक अगाडि नेपाली अमेरिकनको संख्या झण्डै १८ हजारमात्र रहेको थियो ।
अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।
त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।
सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।
सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।
त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।