शटडाउनको संघारमा अमेरिकी सरकार, निकाश नखोजे मध्यरातपछि शटडाउन
प्रकाशित मिति : आश्विन १३, २०८० शनिबार
अमेरिकी संघीय एजेन्सीहरूले शटडाउनको संघारमा अन्तिम तयारी गरिरहेका छन् भने शनिबारको महत्वपूर्ण मध्यरातको समयसीमा अगाडि नै सहमति खोज्न सांसदहरू दौढधुप गरिरहेका छन् । तर रिपब्लिकन नेता केभिन म्याकार्थीले शुक्रबार सरकारी कोष विस्तार गर्न आफ्नै पार्टी भित्र सहमति फेला पार्न असफल भएपछि शटडाउनलाई रोक्ने सम्भावना कम देखिन्छ।
हाउस रिपब्लिकनहरू बीचको झगडाले संसदमा बजेटमा अवरोधमा ल्याउनमा केन्द्रीय भूमिका खेलेको छ । र यो मुद्दा कसरी समाधान हुन्छ भन्ने कुरा अझै स्पष्ट छैन । सरकार शटडाउन भएमा त्यसको अन्त्य गर्न सजिलो नहुन सक्ने चिन्ता व्यक्त गरिएको छ । म्याकार्थीले आफ्नो पार्टीका कट्टरपन्थी रूढीवादीहरूबाट निरन्तर प्रतिरोधको सामना गर्नुपर्दा डेमोक्र्याटहरूसँग काम गरेमा आफ्नो पदबाट हटाउने धम्की पनि सामना गर्नुपरेको छ।
सरकार शटडाउनले हवाई यात्रादेखि सफा पिउने पानीसम्म देशभर प्रभाव पार्ने अपेक्षा गरिएको छ । धेरै सरकारी कार्यहरू ठप्प हुनेछन् । यद्यपि सार्वजनिक सुरक्षाको लागि आवश्यक मानिने सेवाहरू भने जारी रहनेछन्। संसदका दुबै सदन डेडलाइन भन्दा केही घण्टा अगाडि शनिबार शत्रमा रहने तालिका छ। सिनेटले स्टप ग्याप बिलको संस्करणलाई अगाडि बढाउन काम गरिरहेको भने प्रतिनिधिसभा पनि योजना ल्याउने प्रयास गरिदैछ ।
हाउस रिपब्लिकनहरूले नोभेम्बर १७ सरकारलाई बजेट उपलब्ध गराउन द्विदलीय सिनेटको प्रस्तावमा चिसो पानी फ्याँकेका छन् । तर उनीहरू कट्टरपन्थी रूढीवादीहरूको गुटबाट प्रतिरोधको बीचमा शटडाउन रोक्नको लागि आफ्नै योजनाको वरिपरि एकताबद्ध हुन असफल भएका छन्। हाउस रिपब्लिकनसँगको बैठक पछि सिनेट बिल अगाडि बढाउन कुनै बाटो नभएको म्याकार्थीले बताएका थिए ।
यदि सरकार शटडाउन भएको खण्डमा अध्यागमनबारेका केही प्रकृयाहरु प्रभावित हुनेछन् । तर केही प्रकृयाहरु भने सुचारु नै हुनेछन् । सरकार शटडाउन भएको खण्डमा अध्यागमन अदालतमा रहेका एसाइलमका सुनुवाईहरु प्रभावित हुनेछन् ।
सरकार शटडाउन भएको खण्डमा डिपार्टमेन्ट अफ लेवरका अध्यागमनबारेका कामहरु रोकिने सम्भावना रहेको छ । स्थायी लेबर सर्टिफिकेशन, लेबर कन्डिशन आवेदन, प्रचलित ज्याला निर्धारण वा अस्थायी लेबर सर्टिफिकेशन प्रकृयामा लगिनेछैन । अनलाइन आवेदन प्रणालीले स्थायी लेबर सर्टिफिकेशन लगायतका यी आवेदन स्वीकार गर्नेछैन । त्यस्तै हुलाकबाट पठाइएका आवेदन पनि डिपार्टमेन्टले स्वीकार गर्न नसक्ने सम्भावना रहन्छ ।
आवेदकको शुल्कबाट चल्ने युएससीआईएसले अध्यागमन सुविधाका आवेदनहरु प्रकृयामा लैजान काम सुचारु नै गर्नेछ । तर युएससीआईएसमा आवेदन प्रकृयामा लैजान ढिलाइ भइरहेको सन्दर्भमा शटडाउन भएको खण्डमा यो अवस्था अझ खराब हुने देखिन्छ । किनभने शटडाउन भएमा सुरक्षा सफाई लगायतका काम गर्ने एजेन्सी प्रभावित हुनेछन् । शटडाउनका कारण एप्लीकेशन सपोर्ट सेन्टर वा युएससीआईएसका स्थानीय कार्यालयहरु पनि प्रभावित हुनेछैनन् ।
अमेरिकी विदेश मन्त्रालय अन्तरगत दूतावास वा कन्सुलेटबाट भिसा प्रकृयामा लैजाने काम प्रभावित हुनेछैन । तर शटडाउनका कारण संघीय भवनहरुमा रहेका केही पासपोर्ट कार्यालयहरु प्रभावित हुनेछन् ।
त्यस्तै एयरपोर्ट र सिमाक्षेत्रमा सीबीपीको काम सुचारु रहनेछ । सीबीपीले अध्यागमन आवेदनहरु सिमाक्षेत्रमा प्रकृयामा लैजाने काम जारी नै राख्नेछ । आइसको काम कारवाही पनि जारी रहनेछ भने सेभिजपनि प्रभावित हुनेछैन । विधेयक पारित नभएमा इलेक्ट्रोनिक प्रमाणिकरणको काम रोकिनेछ । रोजगारदाताले इलेक्ट्रोनिक प्रमाणिकरण सुरुवात गर्न सक्नेछैनन् । तर रोजगारदाताले शटडाउनका कारण कामदारको काम गर्न पाउने नपाउने योग्यता प्रमाणित नभएको खण्डमा कामदारबिरुद्ध कुनै प्रतिकुल कदम चाल्न पाउने भने छैनन् ।
ड्राइभर लाइसेन्स वा स्टेट आईडी जारी गर्दा आवेदकको अध्यागमन अवस्था सुनिश्चित गर्ने सेभ प्रणाली पनि सुचारु नै हुनेछ । टीपीएसवाहकको वर्क परमिट वा संरक्षणको अवधि कतिसम्म छ भन्ने थाहा पाउन ड्राइभर लाइसेन्स वा स्टेट आईडी जारी गर्दा यो प्रमाणीमा हेर्नसक्ने सम्भावना रहन्छ ।