२०३० फिफा विश्वकप तीन महादेशका ६ देशहरूमा आयोजना गरिने
प्रकाशित मिति : आश्विन १७, २०८० बुधबार
सन् २०३० को पुरुष विश्वकप पहिलो संस्करणको १ सय वर्ष पूरा भएको उत्सव मनाउन तीन अलग अलग महादेशका ६ देशहरूले आयोजना गर्ने फुटबलको विश्व प्रशासक निकाय फिफाले बुधबार घोषणा गरेको छ। स्पेन, पोर्चुगल र मोरक्कोले प्रतियोगिताको सह आयोजना गर्नेछन् भने उरुग्वे, पाराग्वे र अर्जेन्टिनाले पहिलो विश्वकप आयोजना भएको १०० वर्षको अवसरमा उद्घाटन खेल आयोजना गर्नेछन् । सन् १९३० को प्रतियोगिता उरुग्वेले आयोजना गरेको थियो र जितेको थियो।
विभाजित संसारमा फिफा र फुटबल एकताबद्ध रहेको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन् । फिफा काउन्सिल फुटबलको सम्पूर्ण संसारको प्रतिनिधित्व गर्दै सर्वसम्मतिले फिफा विश्वकपको शताब्दी मनाउन सहमत भएको उनले बताएका छन् । जसको पहिलो संस्करण सन् १९३० मा उरुग्वेमा खेलिएको थियो । फिफा काउन्सिलले सर्वसम्मतिले २०३० को फिफा विश्वकप आयोजना गर्ने मोरक्को, पोर्चुगल र स्पेनको संयुक्त प्रस्ताव स्वीकृत गरेको हो ।
तीन महादेशहरू अफ्रिका, युरोप र दक्षिण अमेरिकाका छ देशहरू अर्जेन्टिना, मोरक्को, पाराग्वे, पोर्चुगल, स्पेन र उरुग्वेमा फिफा विश्वकप हुनेछ । पहिलो खेल उरुग्वेको मोन्टेभिडियोमा खेलिने घोषणा गरेसँगै सबै ६ देशका टोलीहरू पहिलो ४८ टोलीमा खेल्न स्वतः योग्य हुनेछन्।
विश्व कप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ । २०२६ मा पहिलो पटक तीन फरक देशहरूले प्रतियोगिता साझारुपमा गर्दैछन् ।
अमेरिकाले शियाटल, सान फ्रान्सिस्को, लस एन्जलस, कन्सास सिटी, डलास, एटलान्टा, ह्युस्टन, बोस्टन, फिलाडेल्फिया, मायामी र न्युयोर्क /न्यु जर्सीमा खेलहरू आयोजना गर्नेछ। मेक्सिकोले मेक्सिको सिटी, ग्वाडालाजारा र मोन्टेरीमा खेल आयोजना गर्नेछ । क्यानडाले भ्यानकुभर र टोरन्टोमा खेलहरू आयोजना गर्नेछ।
मेक्सिकोले यसअघि सन् १९७० र १९८६ मा दुई पटक विश्वकप आयोजना गरिसकेको छ भने २०२६ मा तेश्रो पटक प्रतियोगिता आयोजना गर्ने पहिलो देश बन्नेछ ।
अमेरिकाले सन् १९९४ मा एक पटक प्रतियोगिता आयोजना गरेको थियो। क्यानडाले कहिल्यै पुरुष विश्वकप आयोजना गरेको छैन, तर २०१५ मा महिला संस्करणको आयोजना गरेको थियो।
२०२६ को विश्वकप आयोजना गर्ने अर्को उम्मेद्वार मोरक्को पनि थियो। तर २०१८ मा फिफाको कंग्रेसले अमेरिका, क्यानडा र मेक्सिकोको पक्षमा १३४ र मोरक्कोको पक्षमा ६५ भोट आएपछि अमेरिका, क्यानडा र मेक्सिकालाई छनौट गरेको हो ।