आज अमेरिकामा खोलिने पावरबल ज्याकपट १ दशमलव ५५ बिलियन डलर, आम्दानी शिक्षामा
प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार
आज अमेरिकामा खोलिने पावरबल ज्याकपट १ दशमलव ५५ बिलियन डलर पुगेको छ । जुन अहिलेसम्मकै सबैभन्दा तेश्रो ठूलो पावरबल ज्याकपट हो । विजेताले नगद लिन चाहेमा ६७९ मिलियन डलर प्राप्त गर्नेछन् । त्यसपछि ट्याक्स रकम पनि काटिनेछ ।
अहिलेसम्म सबैभन्दा ठूलो पावरबल सन् २०२२ नोभेम्बर ७ मा २ दशमलव शुन्य ४ बिलियनको ज्याकपट क्यालिफोर्नियाका व्यक्तिले जितेका थिए भने दोश्रो ठूलो पावरबल सन् २०१६ को जनवरी १३ मा १ दशमलव ५ बिलियन डलरको ज्याकपट क्यालिफोर्निया, फ्लोरिडा र टेनेसीका व्यक्तिले जितेका थिए ।
पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । पावरबल लोटरी सोमबार, बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ ।
लोटरीबाट राज्यले कमाएको नाफा रकम कहाँ जान्छ ?
न्युयोर्क लोटरी उत्तर अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा फाइदा गर्ने लोटरी बन्ने क्रम जारी रहेको छ । यो राज्यबाट संचालित सरकारी लोटरी हो । तपाईलाई लाग्न सक्छ यसरी लोटरीबाट कमाएको नाफा रकम कहाँ जान्छ ?
वास्तवमा लोटरीबाट गरेको नाफा रकम शिक्षामा जाने गरेको छ । आर्थिक बर्ष २०२१/२०२२ मा न्युयोर्क राज्यमा शिक्षामा सहायताका लागि न्युयोर्क लोटरीले ३ दशमलव ६ बिलियन डलर प्रदान गरेको थियो । न्युयोर्क लोटरीको आम्दानी स्थानीय विद्यालय डिस्ट्रिक्टहरुमा वितरण गरिन्छ ।
राज्यबाट प्रदान गरिने अन्य सहायताका लागि जुन शुत्र प्रयोग गरिन्छ, लोटरीको आम्दानी रकम पनि त्यही शुत्र प्रयोग गरेर शिक्षामा प्रदान गरिदै आएको छ । कुन स्कुल डिस्ट्रिक्टमा कति रकम जाने भन्ने कुरा डिस्ट्रिक्टको आकार र आयस्तर दुवैलाई ध्यान दिएर निर्धारण गरिन्छ । ठूला, कम आय भएका स्कुल डिस्ट्रिक्टहरुले धेरै सहायता रकम प्राप्त गर्छन्।
लोटरीबाट भएको शतप्रतिशत आम्दानीको रकम शिक्षामा खर्च गरिन्छ । सन् १९६६ मा न्युयोर्कमा ६६ प्रतिशत मतदाताहरुले न्युयोर्कको लोटरीको आम्दानीको रकम सबै शिक्षामा प्रदान गर्नुपर्ने नियम स्वीकृत गरेका थिए ।
आर्थिक बर्ष २०२०/२०२१ मा न्युयोर्कमा ८ दशमलव ५९ बिलियनको लोटरी बिक्री भएको थियो । त्यसमध्ये २ दशमलव ५ बिलियन डलर आम्दानी शिक्षामा खर्च गरिएको थियो भने ४ बिलियन डलरभन्दा धेरै रकम विजेताहरुले पाएका थिए । बाँकी रकम बिक्रेतालाई कमिशन, ठेकेदारलाई शुल्क र अन्य खर्चमा समेत जाने गर्छ ।
अहिलेसम्मको इतिहासमा सबैभन्दा धेरै न्युयोर्कमा १० दशमलव २९ बिलियनको लोटरी आर्थिक बर्ष २०१८ /२०१९ मा बिक्रि भएको थियो । जसमध्ये ३ दशमलव ४ बिलियन विद्यालयहरुलाई सहायतामा खर्च गरिएको थियो भने बाँकी रकम विजेता, बिक्रेता, ठेकेदार र अन्य खर्चमा लागेको थियो ।
न्युयोर्कमा मेगा मिलियन, पावरबल, क्यास फर लाइफ र न्युयोर्क लोट्टोगरी ४ वटा ज्याकपट खेलाइन्छ । जसमा सबैभन्दा धेरै मेगा मिलियन बिक्रि हुने गरेको छ । त्यो बाहेक न्युयोर्कमा स्क्रयाच गर्ने र दैनिक खेलिने अन्य लोटरीहरु पनि छन् ।