‘दुईरातसम्म ट्रेन स्टेशन र सीभीएसमा सुतेर बिताएँ’ – न्युयोर्कबाट हराएकी आमा निर्मला मैनाली
प्रकाशित मिति : आश्विन २९, २०८० सोमबार
न्युयोर्कको क्विन्सबाट बेपत्ता ६८ बर्षिया निर्मला मैनालीलाई आइतबार राती फेला पारिएको पारिवारिक श्रोतले जनाएको छ । उहाँलाई ज्याक्सनहाइटबाट आइतबार राती सबा ११ बजे शिव पाण्डेले भेट्टाएको पारिवारिक श्रोतले जानकारी दियो ।
उहाँको स्वास्थ्य अवस्था ठीक भएको ज्वाई सन्तोष पराजुलीले जानकारी दिनुभएको छ । दुईरातसम्म सववे र सीभीएस फ़ार्मेसी लगायतका स्थानमा सुतेको र धार्मिक स्थलहरुमा मानिसहरुले दिएको केरा, बिस्कुट र ब्रेडहरु खाएको निर्मला मैनालीले परिवारका सदस्यलाई बताउनुभएको थियो ।
ज्याक्सनहाइट जाँदा नेपालीहरु भेटिने आशाले उहाँ मानिसहरुलाई सोधपुछ गर्दै त्यहाँ पुग्नुभएको थियो । आमाको खोजीमा सहयो गर्ने सबैलाई परिवारले धन्यवाद दिएको छ ।
उहाँ शुक्रबार बिहान ८ बजेतिर साउथ ओजन पार्क स्थित छोरी ज्वाईंको घर नजिकैबाट हराउनु भएको थियो । उहाँ सकुशल फेला पर्नुभएको पारिवारिक श्रोतले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो । झण्डै ४८ घण्टासम्म खोजीकार्य तीब्र पारिएको थियो ।
उहाँ घर फर्कने क्रममा हराउनु भएको थियो । कान्छी छोरी, ज्वाईं र नातिनातिलाई भेट्न न्युयोर्क आएको तीनदिनपछि उहाँ हराउनुभएको थियो । उहाँ बिहान ८ बजे मर्निङ वाकमा निस्कनु भएको थियो ।
शुक्रबार बेलुकाको ४ बजे सम्म पनि घर नफर्केपछि खोजी कार्य शुरु गरिएको थियो । स्थानिय प्रहरी प्रशासन, अस्पताल र तथा अन्य सार्वजनिक सहयोग निकायहरुलाई यसबारे जानकारी गराइएको थियो ।