मुख्य आवेदनमा ग्रिनकार्ड स्पोन्सरका लागि छुटको अनुरोध गर्न सकिने नियम ल्याउँदै युएससीआईएस
प्रकाशित मिति : कार्तिक ९, २०८० बिहीबार
युएससीआईएसले ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि छुटको अनुरोध गर्ने प्रकृयामा परिवर्तन गर्ने भएको छ । त्यसका लागि स्पोन्सर फारम आई ८६४ मा समेत परिवर्तन गरिने भएको छ । त्यसका लागि ६० दिने कमेन्ट अवधि तोकेर बिहिबार फेडरल रजिष्ट्ररमा सुचना प्रकाशित गरिएको छ ।
अहिलेसम्म स्पोन्सर छुटका लागि अनुरोध गर्दा फर्म आई ८६४ डब्लु भरेर औपचारिक रुपमा युएससीआईएस समक्ष अनुरोध गर्न सकिने प्रावधान रहेकोमा त्यसलाई परिवर्तन गरिनेछ । नयाँ परिवर्तन अनुशार आवेदकले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्दा नै वा अन्य अध्यागमन राहतको अनुरोध गर्दा नै मूल फारममा टिक लगाएर स्पोन्सर छुटको अनुरोध गर्न सक्नेछन् । छुट्टै फारम भरेर पठाउने झन्झट हुनेछैन ।
अमेरिकी परिवारमा आधारित ग्रिनकार्ड प्राप्त गर्न र केही अध्यागमन सुविधा प्राप्त गर्नका लागि आवेदकलाई निश्चित आम्दानी भएको परिवारको सदस्य वा अन्य कुनै व्यक्तिले औपचारिक रुपमा फर्म भरेर स्पोन्सर गर्न आवश्यक हुन्छ । सन् १९९७ देखि अध्यागमन कानूनले ग्रिनकार्ड लिने व्यक्तिले अमेरिकामा सरकारी सुविधा नलिने कुरा सुनिश्चित गर्न यसको व्यवस्था गरेको हो ।
अमेरिकाको अध्यागमन कानुन अनुशार कुनै पनि अमेरिका आउने व्यक्तिलाई स्पोन्सर गर्दा सहयोगको प्रतिज्ञापत्र आई ८६४ भरेको खण्डमा स्पोन्सर गरिएको व्यक्तिको सबै आर्थिक जिम्मेबारी स्पोन्सर गर्ने व्यक्तिले लिनुपर्छ । खासगरी कुनै पनि व्यक्ति अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्नेगरी आउने क्रममा यस्तो खालको स्पोन्सर आवश्यक हुन्छ । परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा यस्तो स्पोन्सर आवश्यक पर्छ ।
स्पोन्सर गरिएको व्यक्ति अमेरिकामा आइसकेपछि अमेरिकी नागरिक नबन्दासम्म उक्त फर्म भर्ने स्पोन्सरकर्ता जिम्मेबार हुनुपर्छ । यदि स्पोन्सर गरिएको व्यक्ति अमेरिकी नागरिक नभएको खण्डमा कम्तीमा १० बर्ष अर्थात् कामको ४० क्वाटरसम्म जिम्मेबार हुन्छ ।
अमेरिकी अध्यागमन कानुनको २१३ ए र २१२ ए, ४ अनुशार स्पोन्सर गरिएको व्यक्तिले अमेरिकामा सरकारी सुविधा लिएको खण्डमा त्यसको क्षतिपूर्ति सरकारले स्पोन्सरकर्ताबाट भराउन सक्नेछ ।
अमेरिकी नागरिकका बुबाआमा, दम्पत्ति, २१ बर्ष मुनीका अविवाहित छोराछोरी लगायत पारिवारिक ग्रिनकार्डमा कुनै पनि व्यक्ति अमेरिका आउँदा यस्तो फर्म भर्नुपर्छ ।
सहयोगको प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुको अर्थ तपाईले स्पोन्सर गरिएको व्यक्तिको सम्पूर्ण आर्थिक जिम्मेबारी लिनु हो । सामान्यता ४० क्रेडिट क्वाटर अर्थात् १० बर्षसम्म वा उक्त व्यक्ति अमेरिकी नागरिक नबन्दासम्म यस्तो जिम्मेबारी कायम रहन्छ ।
स्पोन्सर गरिएको व्यक्तिको मृत्यु भएमा वा ग्रिनकार्ड त्यागेर अमेरिकाबाट बाहिर गएमा भने त्यस्तो जिम्मेबारी समाप्त हुन्छ । तर डिभोर्स भएको खण्डमा मात्र भने स्पोन्सरसिपको जिम्मेबारी समाप्त हुँदैन । यदि कुनै व्यक्तिले आफ्नो दम्पत्तिका लागि स्पोन्सर गरेको छ तर पछि डिभोर्स भयो भने पनि आर्थिक जिम्मेबारी कायमै रहन्छ ।
स्पोन्सर गरिएको व्यक्तिले सरकारी सुविधा लिएमा र स्पोन्सर गरेको व्यक्तिले उक्त रकम सरकारलाई नतिरेमा त्यस्ता स्पोन्सरकर्तालाई सरकारले अदालतमा उपस्थीत गराउनसक्नेछ । आवेदन दिएको स्पोन्सरकर्ताबिरुद्ध सरकारले मुद्दा नहालेको खण्डमा समेत ज्वाइन्ट स्पोन्सर गरेको व्यक्तिलाई रकम क्षतिपूर्तिका लागि सरकारले मुद्दा हाल्न सक्छ ।
यद्यपी स्पोन्सरकर्तासमक्ष रकम क्षतिपूर्तिका लागि सरकारले मुद्दा हालेको वा सरकारले रकम मागेको रेकर्ड भने छैन ।