डिभी लोटरी भर्ने अवधि समाप्त, नतिजा मे ४ मा, प्रतिक्षा अवधिमा जान्नुपर्ने २ कुरा
प्रकाशित मिति : कार्तिक २१, २०८० मंगलबार
२०२५ को डिभी लोटरी भर्ने अवधि समाप्त भएको छ । अक्टोबर ४ मा सुरु भएको डिभी लोटरी भर्ने अवधि नोभेम्बर ७ को मध्यान्हमा समाप्त भएको हो । डिभी २०२५ का विजेताहरुले सन् २०२५ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् सन् २०२४ को मे ४ मा आउनेछ ।
यदि डिभी भर्दा केही सामान्य गल्ती भएको भएमा डिभी परेपछि पनि सच्याउन मिल्छ । कुनै आशयविनाका प्रशासनिक गल्तीहरु डिभी परेपछि डीएस २६० भर्ने क्रममा सच्याउन मिल्छ ।
उदाहरणका लागि नामको स्पेलिंगमा भएको सामान्य गल्ती, स्थान वा ठेगानाको स्पेलिंगमा भएका सामान्य गल्ती, ठेगाना लेख्दा संरचनामा भएको गल्ती, नेपाली पात्रोबाट अँग्रेजी पात्रोमा जन्ममिति रुपान्तरण गर्दा उल्लेख भएको गलत जन्ममिति जस्ता विवरणहरु डीएस २६० भर्दा सच्याउन मिल्छ ।
त्यस्तै सिटीको नाम उल्लेख गर्दा जिल्लाको नाम उल्लेख गरेको खण्डमा वा जीपकोडमा त्रुटी भएमा त्यस्ता प्रकारका त्रुटीहरु पनि पछि सच्याउन मिल्छ ।
यदि डिभी भर्दा पेश गरेको विवरण आवेदकको ज्ञान अनुशार सही थियो र नियतवश ढाँटेको होइन भने त्यस्तो प्रशासनिक गल्तीहरु सच्याउन मिल्छ । सही नियतका साथ भएको प्रशासनिक त्रुटीका कारण डिभीको योग्यतामा असर पर्दैन । तर परिवारका सदस्यहरु उल्लेख गर्नमा छुटेको, विवाहितले अविवाहित उल्लेख गरेको जस्ता सामाग्रीगत त्रुटीहरु भने सच्याउन मिल्दैन ।
डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो । कन्फर्मेशन नम्बर, थर र जन्मबर्ष हालेर डिभी परे नपरेको चेक गर्न सकिन्छ । तर कन्फर्मेशन नम्बर हराइहाले पनि चिन्ता गर्नु पर्दैन ।
डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त सकिन्छ । तर तपाईले डिभी भर्ने बेला जुन इमेल ठेगाना प्रयोग गर्नुभएको थियो त्यही इमेल ठेगाना उल्लेख गर्नुपर्छ ।