जनवरीका लागि थपियो डिभी २०२४ का नेपाली विजेताको केस नम्बर, ३ हजारसम्मलाई भिसा
प्रकाशित मिति : कार्तिक २४, २०८० शुक्रबार
डिभी २०२४ का नेपाली विजेताको केस नम्बर जनवरीका लागि थपिएको छ । अब जनवरीमा ३ हजारसम्म केस नम्बर हुनेहरुले भिसा पाउन सक्नेछन् । अक्टोबर र नोभेम्बरमा केस नम्बर १३ सय सम्ममा सिमित गरिएको थियो भने डिसेम्बरका लागि २५ सय तोकिएको थियो । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार जनवरीका लागि केस नम्बरको सिमाबन्दी ३ हजार बनाइएको हो ।
आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ, जुन चालु आर्थिक बर्षको तुलनामा धेरै हो । आर्थिक बर्ष २०२३ का लागि ३८०८ जनाले डिभी लोटरी पारेका थिए । २०२४ मा पनि नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो भएको छ । एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका छन् ।
नतिजा सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमा हेर्न सकिनेछ । गतबर्षको अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् ।
कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएका थिए । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भए ।