युक्रेनले पहिलोपटक डिसेम्बर २५ मा क्रिसमस मनाउने, रसियाको क्रिसमस जनवरी ७ मा
प्रकाशित मिति : पुस ८, २०८० आईतबार
युक्रेनले पहिलोपटक डिसेम्बर २५ मा क्रिसमस मनाउने भएको छ । पुटिन सम्बन्धित रसियन अर्थोडक्स चर्चको परम्पराहरूबाट आफूलाई टाढा राख्दै युक्रेनले डिसेम्बर २५ मा पहिलो आधिकारिक क्रिसमस बिदा मनाउने भएको हो ।
युक्रेनको संसदले क्रिसमसको बिदा डिसेम्बर २५ मा सार्नको लागि मतदान गरेको थियो । जसले युक्रेनलाई जनवरी ७ मा क्रिसमस मनाउने रसियन परम्परा त्याग्न र युक्रेनीहरूलाई आफ्नै परम्पराका साथ जीवन बिताउन मद्दत गर्ने युक्रेनको भनाई छ ।
गत जुलाईको सुरुमा युक्रेनको संसदले डिसेम्बर २५ मा क्रिसमस मनाउने विधेयक पारित गरेको थियो। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसलाई कानून बनाउन हस्ताक्षर गरेका थिए ।
युक्रेन र रसिया दुवै बहुसंख्यक अर्थोडक्स भएका देश हुन् । तर रसियाले क्राइमियालाई गैरकानुनी रूपमा गाभेपछि र २०१४ मा युक्रेनको पूर्वी डोनबास क्षेत्रमा पृथकतावादीहरूलाई समर्थन गर्न थालेपछि युक्रेनमा अर्थोडक्स समुदायको ठूलो हिस्सा मस्कोबाट टाढा सरेको छ।
युक्रेनमा रसियाको युद्धले अर्थोडक्स ईसाई धर्मका दुई शाखाहरू बीचको विभाजनलाई थप गति दिएको छ । विशेष गरी रसियाको अर्थोडक्स चर्चका प्रमुख पैट्रियार्क किरिलले आक्रमणलाई पूर्ण रूपमा समर्थन गरेका थिए र यसलाई व्यापक रसियन संसार र पश्चिमी उदारवादी मूल्यहरूबीचको सांस्कृतिक टकरावको रूपमा प्रस्तुत गरेका थिए ।
नयाँ कानूनले युक्रेनका केही चर्चहरूले पहिले नै अभ्यास गर्न थालेका कुराहरूलाई प्रभावकारी रूपमा औपचारिक बनाएको हो । युक्रेनको अर्थोडक्स चर्चको शाखाले आफ्ना चर्चहरूलाई गत वर्ष पनि डिसेम्बर २५ मा क्रिसमस मनाउन अनुमति दिएको थियो। युक्रेनको मुख्य ग्रीक क्याथोलिक चर्चले डिसेम्बर २५ मा क्रिसमस मनाउन नयाँ क्यालेन्डरमा सर्ने पहिले नै घोषणा गरेको थियो ।
गतबर्षको डिसेम्बरमा युक्रेनी सरकारले क्रिसमसको मिति डिसेम्बर २५ मा सार्ने कि नसार्ने भनेर नागरिकहरूलाई सोध्ने एक सर्वेक्षण सुरु गरेको थियो । मतदान गर्ने ५९ प्रतिशत अर्थात् १ दशमलव ५ मिलियन भन्दा बढी मानिसहरूमध्ये यस्तो कदमलाई समर्थन गरे।