अमेरिकाको सिमाबाट विनाभिसा छिर्न खोज्ने आतंकवादी निगरानी सूचीमा रहेका १७ व्यक्ति पक्राउ


प्रकाशित मिति : पुस ८, २०८० आईतबार

अमेरिकाको भन्सार र सीमा सुरक्षा सीबीपीद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्क अनुसार नोभेम्बरमा दक्षिणी सीमा क्षेत्रबाट विना भिसभ अमेरिका छिर्न खोज्ने एफबीआईको आतंकवादी निगरानी सूचीमा रहेका १७ जना पक्राउ परेका छन् । अक्टोबरमा सुरु भएको आर्थिक बर्ष २०२४ मा आतंकवादी निगरानी सूचीमा रहेका ३० जना सिमाक्षेत्रमा पक्राउ परिसकेका छन् ।

उक्त निगरानी सूचीलाई आधिकारिक रूपमा आतंकवादी स्क्रिनिङ डाटासेट भनिन्छ । यो अमेरिकी डाटाबेस हो जसले आतंकवादी पहिचानको जानकारी समावेश गर्दछ र यसमा ज्ञात वा संदिग्ध आतंककारीहरू मात्र नभई निगरानी सूचीमा राखिएको व्यक्तिहरूको सम्बद्ध व्यक्तिहरू पनि समावेश हुन्छन्।

आर्थिक बर्ष २०२३ मा निगरानी सूचीमा रहेका यस्ता १६९ जना व्यक्ति पक्राउ परेका थिए । आर्थिक बर्ष २०२२ को तुलनामा यो संख्यामा उल्लेख्य बृद्धि आएको थियो । किनभने आर्थिक बर्ष २०२२ मा निगरानी सूचीमा रहेका ९८ जना पक्राउ परेका थिए ।

निगरानी सूचीमा राखिएका व्यक्तिसँग सिमानामा जम्काभेट धेरै असामान्य रहेको सीबीपीले जनाएको छ । तर सिमाक्षेत्रमा यस्तो मुठभेडको संख्याले चिन्ता बढाएको छ । खतरनाक आपराधिक इतिहास भएकाहरू या त आप्रवासीको समूहको रूपमा अमेरिका प्रवेश गर्न खोज्न सक्छन् वा सीमा गस्तीलाई छलेर अमेरिका छिर्न सक्छन् ।

इजरायलमा हमासको आतंककारी हमलाको कारण आतंकवादी निगरानी सूचीमा रहेकाहरुसँग मुठभेडको संख्याले थप ध्यानाकर्षण गराएको छ । आतंकवादी लडाकुहरूले अमेरिकामा प्रवेश गर्न खोज्नसक्नेबारे सांसदहरूले पनि चिन्ता व्यक्त गरेका छन् ।

अक्टोबरमा प्रकाशित होमल्यान्ड सेक्युरिटीको खतरा मूल्याङ्कन विभागले पनि निगरानी सूचीमा रहेका व्यक्तिसँगको मुठभेड बढ्दो रहेको उल्लेख गर्दै आतंकवादी र आपराधिक व्यक्तिले अमेरिका प्रवेश गर्न उच्च प्रवाह र बढ्दो जटिल सुरक्षा वातावरणको दुरुपयोग गर्नसक्ने चेतावनी दिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com