क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदै, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना


प्रकाशित मिति : पुस ८, २०८० आईतबार

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले  ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिनुभएको छ । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ । ‘क्रिसमस डे’ का अवसरमा उहाँले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको छ ।

विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने बताउनुभयो ।

‘क्रिसमस डे’ले सबैलाई एकजुट बनाउन सहयोग गर्ने उपराष्ट्रपति यादवको विश्वास

उपराष्ट्रपति रामसहायप्रसाद यादवले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । उहाँले सम्पूर्ण इसाई धर्मावलम्बी, नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले ‘क्रिसमस डे’का अवसरमा जारी गर्नुभएको सन्देशमा नेपालमा मनाइने अन्य पर्वहरु जस्तै प्रेम, हर्षोल्लास र एकजुटताका साथ मनाउने आनन्दमय सामाजिक र सांस्कृतिक उत्सव भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र सांस्कृतिक पहिचान भएकामा एकता र एकजुटताको भावनालाई बढावा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले भन्नुभयो, “यस पर्वले अन्य चाडपर्वमा जस्तै मानिसलाई दया, दान र स्वयंसेवालगायत कार्यका समावेश गराउँदै खुशी र सद्भाव फैलाउन प्रोत्साहित गर्दछ । यो अत्यन्तै सकारात्मक पक्ष हो ।” खुशी, हर्ष र जोसका साथ मनाइने यो पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव आदिलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउन सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि अग्रसर र क्रियाशील हुनका लागि ‘क्रिसमस डे’ ले उत्प्रेरित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्नेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज जारी गर्नुभएको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रुपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

२१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको प्रधानमन्त्री दाहालले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रधामन्त्री दाहालले राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षासहित क्रिसमस पर्वले सङ्कीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति सबैलाई प्रेरित गर्दै आएको बताउनुभएको छ ।

चाडपर्वहरुले एकता र मेलमिलापको आधार गर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको हाम्रो मुलुकमा प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले यी चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताउनुभएको छ । उहाँले क्रिसमस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com