अमेरिकामा आगामी अप्रिलभित्र ट्याक्स फाइल गर्दा जान्नै पर्ने यी ४ परिवर्तनहरु


प्रकाशित मिति : पुस ९, २०८० सोमबार

black Android smartphone near ballpoint pen, tax withholding certificate on top of white folder

आगामी ट्याक्स फाइल गर्दा केही नियमहरुमा महत्वपूर्ण परिवर्तन भएका छन्, त्यसबारे थाहा पाउँदा ट्याक्स फाइल गर्ने व्यक्तिलाई फाइदा नै हुन्छ ।

करको दर परिवर्तन

अमेरिकामा आम्दानी अनुशार करका दरहरु निर्धारण गरिएको छ । कम आम्दानी हुनेहरुले कम प्रतिशत र बढी आम्दानी हुनेहरुले बढीप्रतिशत कर तिर्नुपर्ने गरी करको दर निर्धारण गरिएको हुन्छ । यस्ता करका दरहरु हरेक बर्ष परिवर्तन हुने गर्छन् । यसपटक पनि त्यसमा केही परिवर्तन भएको छ ।

२०२३ को कर कोष्ठकको माथिल्लो सीमा २०२२ को रिटर्नका लागि प्रयोग गरिएको कोष्ठक भन्दा ७ प्रतिशत बढी छ। अर्थात् २०२२ को तुलनामा २०२३ मा ७ प्रतिशत बढी आम्दानी गर्दा समेत कर भने गतबर्षकै दरमा तिरे पुग्नेछ ।  अर्थात् करदाताको ठूलो रकम जोगिनेछ ।

आगामी अप्रिलभित्र कर फाइल गर्दा यो बर्षको कर दर गतबर्षको तुलनामा फरक तोकिएको छ । सन् २०२३ मा ११ हजार सम्म आम्दानी हुने एकल र २२ हजार सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले २०२४ मा ट्याक्स फाइल गर्दा  १० प्रतिशतसम्म कर तिर्नुपर्छ । २०२२ मा यो दरका लागि आम्दानीको सिमा एकलका लागि १० हजार २ सय ७५ सम्म र दम्पत्तिका लागि २० हजार ५ सय ५० सम्म रहेको थियो ।

त्यस्तै ११ हजार १ भन्दा माथि र ४४ हजार ७ सय २५ सम्म आम्दानी हुने एकल तथा २२ हजार १ भन्दा माथि र ८९ हजार ४ सय ५० सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले १२ प्रतिशतसम्म कर तिर्नुपर्छ । २०२२ मा यो दरका लागि आम्दानीको सिमा एकलका लागि ४१ हजार ७ सय ७५ सम्म र दम्पत्तिका लागि ८३ हजार ५ सय ५० सम्म रहेको थियो । अर्थात् यो बर्ष गतबर्षको तुलनामा झण्डै ३ हजार डलर बढी कमाएपनि करदाताले १२ प्रतिशतसम्ममात्र कर तिरे पुग्छ ।

४४ हजार ७ सय २६ भन्दा माथि र ९५ हजार ३ सय ७५ सम्म आम्दानी हुने एकल तथा ८९ हजार ४ सय ५१ भन्दा माथि र १ लाख ९० हजार ७ सय ५० सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले २२ प्रतिशतसम्म कर तिर्नुपर्छ । २०२२ मा यो दरका लागि आम्दानीको सिमा एकलका लागि ८९ हजार ७५ सम्म र दम्पत्तिका लागि १ लाख ७८ हजार १ सय ५० सम्म रहेको थियो ।

त्यस्तै ९५ हजार ३ सय ७६ भन्दा माथि १ लाख ८२ हजार १ सय डलरसम्म आम्दानी हुने एकल तथा १ लाख ९० हजार ७ सय ५१ भन्दा माथि र ३ लाख ६४ हजार २ सय सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले २४ प्रतिशतसम्म कर तिर्नुपर्छ । १ लाख ८२ हजार १ सय १ डलरभन्दा माथि र २ लाख ३१ हजार २ सय ५० डलरसम्म आम्दानी हुने एकल तथा ३ लाख ६४ हजार २ सय १ भन्दा माथि र ४ लाख ६२ हजार ५ सय सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले ३२ प्रतिशतसम्म कर तिर्नुपर्छ ।

black ceramic mug beside white printer paper

त्योभन्दा माथि ५ लाख ७८ हजार १ सय २५ डलरसम्म आम्दानी हुने एकलले ३५ प्रतिशतसम्म कर तिर्नुपर्छ भने त्योभन्दामाथि आम्दानी हुने एकलले ३७ प्रतिशतसम्म कर तिर्नुपर्छ । संयुक्त फाइल गर्ने दम्पत्तिको सन्दर्भमा भने ६ लाख ९३ हजार ७ सय ५९ सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले ३५ प्रतिशतसम्म र त्योभन्दा माथि आम्दानी हुनेहरुले ३७ प्रतिशत कर तिर्नुपर्छ ।

यो करको दर सुन्दा तपाईले कति प्रतिशत कर तिर्दै हुनुहुन्छ भन्ने अन्यौल हुनसक्छ । किनभने आफ्नो करको दर थाहा पाउन करदाताले बिभिन्न ब्राकेटहरु हेर्नुपर्छ । अर्थात् करका फरक फरक दरहरु हेरेर हिसाब गर्नुपर्छ । कसैको आम्दानी ४४ हजार ७ सय २५ भन्दा माथि छ भने उसले सबै आम्दानीको २२ प्रतिशत कर तिर्नुपर्दैन । ४४ हजार ७ सय २५ भन्दा माथिको आम्दानी जति हो, त्यसको मात्र २२ प्रतिशत तिरे पुग्छ भने ११ हजार १ देखि ४४ हजार ७ सय २५ सम्मको १२ प्रतिशत र ११ हजार सम्मको १० प्रतिशत तिरे पुग्छ ।

यसरी अमेरिकामा करको दर सिमान्तकृत रुपमा हिसाब गरिन्छ । अर्थात् तपाईको आम्दानीको सुरुको डलरको तुलनामा पछिल्लो डलरको कर बढी तिर्नुपर्छ । योग्य ट्याक्स क्रेडिटहरु दावी गरेर तपाई करको कम दरभित्र पर्न सक्नुहुनेछ । उदाहरणका लागि यदि तपाईको आयकरको बिल २ हजार डलर छ भने तपाई ५ सय ट्याक्स क्रेडिटका योग्य भएको खण्डमा तपाईको बिल १५ सयमा झर्नेछ ।

आम्दानीको १३,८५० डलरसम्म घटाएर कम कर तिर्न सकिने

चालु कर वर्ष २०२३ को लागि आईआरएसबाट महत्त्वपूर्ण मुद्रास्फीति समायोजन गरेको छ । २०२४ मा  फाइल गरिने ट्याक्सका लागि स्टाण्डर्ड डिडक्सनको रकम बढाइएको छ । धेरै व्यक्तिले कर फाइल गर्दा आइटमाइज डिडक्सन गर्नुको साटो स्टाण्डर्ड डिडक्सन गरेर आफ्नो कर योग्य आय कम गर्छन् । २०२४ मा कर फाइल गरिने कर वर्ष २०२३ को लागि स्टाण्डर्ड डिडक्सन सबै करदाताहरुका लागि लगभग ७ प्रतिशतले बढ्नेछ।

संयुक्त रूपमा फाइल गर्ने विवाहित जोडीहरूले २७ हजार ७ सय डलरसम्म स्टाण्डर्ड डिडक्सन अन्तरगत घटाएर कर योग्य आय कम गर्न सक्नेछन्, जुन गतबर्षको तुलनामा १८ सय डलरले बढी हो । त्यस्तै एकल व्यक्तिले १३ हजार ८ सय ५० डलरसम्म स्टाण्डर्ड डिडक्सन अन्तरगत घटाएर कर योग्य आय कम गर्न सक्नेछन्, जुन गतबर्षको तुलनामा ९ सय डलरले बढी हो । घरमूलीको हकमा २० हजार ८ सय डलरसम्म स्टाण्डर्ड डिडक्सन अन्तरगत घटाउन सकिनेछ । जुन गतबर्षको तुलनामा १४ सयले बढी हो ।

तपाईंले स्टक वा क्रिप्टोकरेन्सी लगायतका कुनै लगानी बेच्नुहुन्छ, तपाईंले नाफा रकमको कर तिर्नुपर्छ। छोटो अवधिको पुँजीगत लाभलाई सामान्य आयको रूपमा कर लगाइन्छ। सामान्यतया एक वर्ष भन्दा बढीको लागि राखिएको सम्पत्तिहरूको बिक्रीमा लागू हुने दीर्घकालीन लाभहरू या त कर मुक्त हुन्छन् वा १५ वा २० प्रतिशत मा कर लगाइन्छ। यो करदाताको फाइलिङ स्थिति र कर योग्य आयमा आधारित हुन्छ ।

२०२३ को लागि दीर्घकालीन पूँजीगत लाभको लागि आय थ्रेसहोल्ड लगभग ७ प्रतिशतले बढेको थियो, जसले ब्राकेटसँग पनि म्याच गराउनुपर्छ । उदाहरणका लागि गत वर्ष ८३ हजार ३ सय ५० सम्म आम्दानी हुने एक विवाहित जोडीले पूंजीगत लाभमा कुनै पनि कर तिर्न पर्दैनथ्यो भने यो बर्ष ८९ हजार २ सय ५० सम्म आम्दानी हुने दम्पत्तिले पूंजीगत लाभमा कुनै पनि कर तिर्न पर्दैन । एकलको हकमा ४४ हजार ६ सय २५ डलरसम्म आम्दानी हुने र घरमुलीको हकमा ५९ हजार ७ सय ५० सम्म आम्दानी हुनेहरुले पूंजीगत लाभमा कुनै पनि कर तिर्न पर्दैन ।

त्यस्तै अर्नड इन्कम ट्याक्स क्रेडिटले धेरै कम देखि मध्यम आय भएका कामदारहरू र परिवारहरूलाई उनीहरूले तिर्नुपर्ने करहरू घटाउन र केही अवस्थामा तिनीहरूको फिर्ती बढाउन मद्दत गर्छ। क्रेडिट निर्धारण गर्न आय र बच्चाहरू जस्ता धेरै कारकहरू प्रयोग गरिन्छ, तर बच्चा नभएका मानिसहरू अझै पनि योग्य हुन सक्छन्।

अर्नड इन्कम ट्याक्स क्रेडिट मा यस वर्षको लागि मुद्रास्फीति समायोजन पनि हुनेछ, त्यसैले तपाईले अर्नड इन्मक ट्याक्स क्रेडिट अन्तरगतको रकम अलि बढी बनाउन सक्नुहुन्छ र अझै पनि रिफण्डको राम्रो रकम पाउन सक्नुहुनेछ । तीन वा सोभन्दा बढी योग्य बच्चाहरू भएका परिवारहरूका लागि अनुमति दिइएको अधिकतम क्रेडिट  २०२२ मा ६,९३५ बाट यस वर्ष ७,४३० पुग्नेछ।

गत बर्ष ट्याक्स फाइल गर्नेहरुले १६ हजार ४ सय ८० भन्दा कम आम्दानी भएका एकलले अर्नड इन्कम ट्याक्स क्रेडिट अन्तरगत ५६० डलर क्रेडिट पाएकोमा आगामी बर्ष १७ हजार ६ सय ४० भन्दा कम आम्दानी भएका एकलले ६ सय डलर क्रेडिट पाउनेछन् ।

त्यस्तै ट्याक्स बर्ष २०२३ का लागि अन्य केही महत्वपूर्ण परिवर्तनहरु पनि गरिएका छन् । जस्तै २०२२ मा विदेशमा कमाएको १ लाख १२ हजार डलरसम्मको रकममा कर तिर्न नपर्ने व्यस्था रहेकोमा करबर्ष २०२३ मा १ लाख २० हजार डलर सम्मको रकममा कर तिर्नुपर्नेछैन । अर्थात् आगामी बर्ष कर फाइल गर्नेले १ लाख २० हजार डलर सम्म विदेशमा गरेको आम्दानीमा अमेरिकामा कर छुट पाउनेछन् । त्यस्तै उपहारहरूको लागि वार्षिक छुट गत वर्ष १६ हजार रहेकोमा यो बर्ष बढेर १७ हजार पुगेको छ ।

पेपल लगायतमा गरेको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने नयाँ नियम यसपटक पनि लागु नहुने

पेपल लगायतमा गरेको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने ट्याक्स सम्बन्धि नयाँ नियम २०२३ का लागि पनि लागु नहुने भएको छ । आईआरएसले यो नियम लागु गर्नमा ढिलाई गर्ने घोषणा गरेको हो ।

पुरानो कार्यतालिका अनुशार २०२२ मा गरेको आम्दानीका सन्दर्भमा आगामी ट्याक्स फाइल गर्दा यो नियम लागु हुने तय भएको थियो । त्यसपछि यो नियम २०२३ देखि लागु हुने बताइएको थियो । तर यो बर्षपनि आईआरएसले संक्रमण वर्ष घोषणा गर्दा नियम लागु गर्नमा ढिलाई गरेको छ ।

यो नियम अनुशार आगामी ट्याक्स फाइल गर्दा साना व्यवसायहरु वा करदाताले पेपल, भेन्मो, स्क्वायर जस्ता एप्लीकेशनमार्फत भएको आम्दानी अनिवार्यरुपमा आईआरएसमा रिपोर्ट गर्नुपर्नेछ ।

अहिलेसम्म पेपल, भेन्मो, स्क्वायर जस्ता एप्लीकेशनमा भएको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने भएतापनि गर्ने वा नगर्ने कुरा करदातामा नै भर पर्दै आएको छ । अहिलेसम्म २० हजार डलरभन्दा माथि वा २ सय भन्दा बढी ट्रान्जेक्सनमात्र रिपोर्ट गर्नुपर्ने नियम रहेको छ । नयाँ नियम अनुशार अब विद्युतीय पेमेन्ट नेटवर्क मार्फत भएका कुल ६ सय डलरभन्दा माथिको आम्दानीबारे अनिवार्य आईआएसमा रिपोर्ट गर्नुपर्नेछ ।

बर्षमा ६ सय वा त्योभन्दा बढी कारोबार भएको खण्डमा पेपलले प्रयोगकर्ताको व्यवसायिक कारोबार आईआरएसलाई जानकारी दिनेछ । कुनै बस्तु वा सेवामार्फत लेनदेन गरिएको रकमलाई व्यवसायिक कारोवारका रुपमा परिभाषित गरिएको छ ।

यो नियम अनुशार खासगरी तपाईले कुनै कम्पनीबाट रकम प्राप्त गर्नुभएको छ भने त्यस्तो रकम आईआरएसमा रिपोर्ट गर्नुपर्छ । व्यवसायले गरेको कारोबार र व्यक्तिले गरेको कारोबार दुबै व्यवसायिक कारोवार भएको खण्डमा आईआरएसमा रिपोर्ट गर्नुपर्छ ।

कर तिर्नुपर्ने आम्दानी आईआरएसमा रिपोर्ट हुनबाट छुट्न नदिन यो प्रावधान ल्याइएको हो । यसअगाडि पनि पेपल लगाएका एप्लीकेशनले कारोबारबारे आईआरएसलाई जानकारी नगराएपनि करदाताले सबै आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने प्रावधान रहेको थियो ।

नयाँ प्रावधानले कसैले पेपल वा भेन्मोमा पठाएको उपहार लगायतका रकमलाई भने करको दायरामा राख्दैन । साथीहरु वा परिवारका सदस्यबाट प्राप्त उपहारको रकम करको दायरामा पर्दैन । उदाहरणका लागि कुनै रेष्टुरेण्टमा डिनर गर्दा तपाईले बिल तिर्नुभयो र त्यसको आधा रकम साथीले तपाईलाई पेपल वा भेन्मोमा पठाएको खण्डमा पनि त्यसको कर तिर्नुपर्दैन । तर कुनै कम्पनीबाट सेवा र सामाग्रीवापत रकम आएको छ भने त्यसको कर तिर्नुपर्नेछ ।

त्यस्तै इन्टरनेटमा सामान बेचेर पेपल लगायतबाट रकम लिनेले पनि उक्त रकम रिपोर्ट गर्नुपर्छ । प्रयोगकर्ताहरुले के बापत रकम पठाएको हो, छनौट गर्न पाउने विकल्प समेत हुन्छ । यदि उनीहरुले सेवा वा सामाग्रीवापत रकम पठाएको विकल्प छनौट गरेमा उक्त रकम आईआरएसमा रिपोर्ट गर्नुपर्छ ।

पेपलले आफ्ना प्रयोगकर्ता समक्ष उनीहरुको सोसल सेक्युरिटी नम्बर, व्यक्तिगत ट्याक्स आईडी नम्बर वा कम्पनी भएको खण्डमा कम्पनीको एनआईएन नम्बर मागिरहेको छ । उक्त विवरण पहिले नै नबुझाएका प्रयोगकर्ताले यो विवरण पेपल लगायतका पेमेन्ट एप्लीकेशनलाई बुझाउनुपर्छ ।

७५ सय डलरसम्म ऊर्जा कर क्रेडिट

यदि तपाईंले सन् २०२३ मा विद्युतीय गाडी खरिद गर्नुभएको थियो वा आफ्नो घरमा ऊर्जा सुधार गर्नुभएको थियो भने तपाईं यसपटक कर छुटको लागि योग्य हुन सक्नुहुन्छ।

क्लिन भेहिकल ट्याक्स क्रेडिटले ब्रेकलाई ७ हजार ५ सयमा सीमित गर्दछ भने योग्य इको फ्रेन्डली घर सुधार अन्तरगत हजारौं डलर क्रेडिट प्राप्त गर्न सकिन्छ । गतबर्ष ल्याइएको कर, स्वास्थ्य हेरचाह र जलवायु परिवर्तन सम्बन्धि बृहत बिलमा गाडी किन्दा ७५ सय डलरसम्म ट्याक्स क्रेडिटको व्यवस्था गरिएको हो । स्वच्छ ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणका लागि ल्याइएको यो बिलमा विद्युतीय गाडीका लागि ट्याक्स क्रेडिटको व्यवस्था गरिएको हो ।

पूरानो विद्युतीय गाडी किन्दा ४ हजार डलर ट्याक्स क्रेडिटको व्यवस्था गरिएको छ भने नयाँ विद्युतीय गाडी किन्दा ७५ सय डलर ट्याक्स क्रेडिटको व्यवस्था गरिएको छ । मध्य र कम आम्दानी भएकाहरुलाईमात्र यो ट्याक्स क्रेडिट प्रदान गरिनेछ ।

तातो पम्प र रूफटप सोलार प्यानलहरू जस्ता स्वच्छ ऊर्जा स्रोतहरू खरिद गर्ने मानिसहरूका लागि पनि छुट र ट्याक्स क्रेडिटहरू उपलब्ध छन्। ती उपायहरू अधिक मानिसहरूलाई स्वच्छ ऊर्जा उपलब्ध गराउने उद्देश्यका छन् । सोलार प्यानलहरू सेटअपको लागि लगभग ११ हजार डलर खर्च हुन्छ । रोडियम समूहको एक अध्ययनले अनुमान गरे अनुशार यी प्रावधानहरूले सन् २०३० सम्ममा प्रति वर्ष हरेक घरमा औसतमा १ हजार २५ डलर बचत गर्नेछ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com