मिशिगनका व्यक्तिले जिते ८४२ मिलियन डलरको पावरबल ज्याकपट
प्रकाशित मिति : पुस १७, २०८० मंगलबार
मिशिगनमा बिक्रि भएको एउटै टिकटले सोमबार राति नयाँ वर्षको दिनको ८४२ मिलियन डलरको पावरबल ज्याकपट जितेको छ । उक्त टिकटमा भएका सबै ६ वटा नम्बरहरू मिलेपछि अन्तत पावरबल ज्याकपटले टिकटवालाको नयाँ बर्षलाई शुभ बनाएको छ ।
पावरबलका अनुसार यो अहिलेसम्म जितेको पाँचौं ठूलो पावरबल ज्याकपट हो। नयाँ वर्षमा मिलेनियर बनेका भाग्यशाली विजेताले कर भन्दा पहिले अनुमानित ४२५ मिलियनको एकमुष्ट भुक्तानीको विकल्प पाउनेछन् । सोमबारको विजेता संख्या १२, २१, ४२, ४४, ४९ र पावरबल १ थियो।
पावरबलका अनुसार धेरै टिकट बिक्रीले ज्याकपटलाई यसको पहिलेको अनुमानित ८१० मिलियन भन्दा ठूलो बनाएर अमेरिकाको दशौं सबैभन्दा ठूलो लोटरी ज्याकपट बनाएको थियो । सन् १९९२ मा खेल सुरु भएदेखि नयाँ वर्षको दिनमा कसैले पावरबल ज्याकपट जितेको यो पहिलो पटक हो ।
विजयी टिकट मिशिगनको ग्रान्ड ब्ल्याङ्क शहरको फुड क्यासल अफ ग्रान्ड ब्ल्याङ्कमा बिक्री गरिएको थियो । राज्यको लोटरी अनुसार जनवरी २०२१ मा १ दशमलव ०५ बिलियन मेगा मिलियन्स ज्याकपट जितेपछि यो पुरस्कार मिशिगनमा जितेको दोस्रो ठूलो लटरी ज्याकपट हो।
क्यालिफोर्निया, कनेक्टिकट, फ्लोरिडा र मेरील्याण्डमा बेचिएका टिकटहरूले पनि एक एक मिलियन डलर जितेका छन् । टेक्सास र फ्लोरिडामा बेचिएका टिकटहरूले दुई दुई मिलियन डलर जितेका छन् । तिनीहरूको टिकटहरूमा पावर प्ले सुविधा समावेश भएकोले दुई दुई मिलियन पुरस्कार जितेका हुन् ।
पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । पावरबल लोटरी सोमबार, बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ ।
लोटरीबाट राज्यले कमाएको नाफा रकम कहाँ जान्छ?
न्युयोर्क लोटरी उत्तर अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा फाइदा गर्ने लोटरी बन्ने क्रम जारी रहेको छ । यो राज्यबाट संचालित सरकारी लोटरी हो । तपाईलाई लाग्न सक्छ यसरी लोटरीबाट कमाएको नाफा रकम कहाँ जान्छ ?
वास्तवमा लोटरीबाट गरेको नाफा रकम शिक्षामा जाने गरेको छ । आर्थिक बर्ष २०२१/२०२२ मा न्युयोर्क राज्यमा शिक्षामा सहायताका लागि न्युयोर्क लोटरीले ३ दशमलव ६ बिलियन डलर प्रदान गरेको थियो । न्युयोर्क लोटरीको आम्दानी स्थानीय विद्यालय डिस्ट्रिक्टहरुमा वितरण गरिन्छ ।
राज्यबाट प्रदान गरिने अन्य सहायताका लागि जुन शुत्र प्रयोग गरिन्छ, लोटरीको आम्दानी रकम पनि त्यही शुत्र प्रयोग गरेर शिक्षामा प्रदान गरिदै आएको छ । कुन स्कुल डिस्ट्रिक्टमा कति रकम जाने भन्ने कुरा डिस्ट्रिक्टको आकार र आयस्तर दुवैलाई ध्यान दिएर निर्धारण गरिन्छ । ठूला, कम आय भएका स्कुल डिस्ट्रिक्टहरुले धेरै सहायता रकम प्राप्त गर्छन्।
लोटरीबाट भएको शतप्रतिशत आम्दानीको रकम शिक्षामा खर्च गरिन्छ । सन् १९६६ मा न्युयोर्कमा ६६ प्रतिशत मतदाताहरुले न्युयोर्कको लोटरीको आम्दानीको रकम सबै शिक्षामा प्रदान गर्नुपर्ने नियम स्वीकृत गरेका थिए ।
आर्थिक बर्ष २०२०/२०२१ मा न्युयोर्कमा ८ दशमलव ५९ बिलियनको लोटरी बिक्री भएको थियो । त्यसमध्ये २ दशमलव ५ बिलियन डलर आम्दानी शिक्षामा खर्च गरिएको थियो भने ४ बिलियन डलरभन्दा धेरै रकम विजेताहरुले पाएका थिए । बाँकी रकम बिक्रेतालाई कमिशन, ठेकेदारलाई शुल्क र अन्य खर्चमा समेत जाने गर्छ ।
अहिलेसम्मको इतिहासमा सबैभन्दा धेरै न्युयोर्कमा १० दशमलव २९ बिलियनको लोटरी आर्थिक बर्ष २०१८ /२०१९ मा बिक्रि भएको थियो । जसमध्ये ३ दशमलव ४ बिलियन विद्यालयहरुलाई सहायतामा खर्च गरिएको थियो भने बाँकी रकम विजेता, बिक्रेता, ठेकेदार र अन्य खर्चमा लागेको थियो ।
न्युयोर्कमा मेगा मिलियन, पावरबल, क्यास फर लाइफ र न्युयोर्क लोट्टोगरी ४ वटा ज्याकपट खेलाइन्छ । जसमा सबैभन्दा धेरै मेगा मिलियन बिक्रि हुने गरेको छ । त्यो बाहेक न्युयोर्कमा स्क्रयाच गर्ने र दैनिक खेलिने अन्य लोटरीहरु पनि छन् ।