बढी उमेरका व्यक्तिले अतिरिक्त कटौती दाबी गरेर कर तिर्ने रकम घटाउन सक्ने


प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार

कर फाइल गर्ने समय नजिकिदै गर्दा करदाताहरु आफ्नो कर योग्य आम्दानी घटाउने तरिकाहरूको खोजिमा छन् । यसको एउटा तरिका भनेको अतिरिक्त स्टाण्डर्ड डिडक्सन लिनु हो। स्टाण्डर्ड डिडक्सनको बारेमा करदाताहरु प्राय सबैलाई थाहा छ । यो आईआरएसद्वारा निर्धारण गरिएको फ्ल्याट डलर रकम हो जसले मोर्गेज ब्याज र परोपकारी दानहरू जस्ता कटौतीहरूलाई आइटमाइज नगरीकन कर योग्य आम्दानी घटाउँछ। तर त्यो बाहेक अतिरिक्त स्टाण्डर्ड डिडक्सन पनि रहेको छ, जसबाट निश्चित उमेरका व्यक्तिले फाइदा लिन सक्छन् ।

६५ वर्ष वा सोभन्दा माथिका करदाताहरूले अतिरिक्त स्टाण्डर्ड डिडक्सनको फाइदा लिन सक्छन् । तर कति रकम घटाउन सकिने भन्ने कुराको निर्धारण फाइलिङ स्थितिमा निर्भर गर्दछ । दम्पत्तिमध्ये एकजना ६५ बर्ष उमेर नाघेको अवस्थामा गर्न सकिने अतिरिक्त स्टाण्डर्ड डिडक्सन फरक हुन्छ भने दम्पत्ति मध्ये एकजना दृष्टिविहिन भएको अवस्थामा गर्न सकिने अतिरिक्त स्टाण्डर्ड डिडक्सन फरक हुन्छ । ६५ बर्ष पनि नाघेको र दृष्टिविहिनपनि भएको अवस्थामा अतिरिक्त स्टाण्डर्ड डिडक्सनमार्फत करमा घटाउन सकिने रकम अझ धेरै हुन्छ । ६५ बर्ष नपुगेका तर दृष्टिविहिन भएकाहरुले पनि अतिरिक्त स्टाण्डर्ड डिडक्सनबाट करको रकम घटाउन सक्छन् ।

यसपटक ट्याक्स फाइल गर्दा यदि करदाता ६५ बर्ष नाघेको वा दृष्टिविहिनमध्ये कुनै एउटा श्रेणीमा परेको खण्डमा स्टाण्डर्ड डिडक्सन अन्तरगत घटाउन सकिने १३ हजार ८ सय ५० को अतिरिक्त एकल वा घरमूलीले थप १८५० डलर घटाउन सक्नेछन् । करदाता ६५ बर्ष नाघेका दम्पत्ति भएमा हरेकले १५ सय डलरका दरले ३ हजार डलर घटाउन सक्नेछन् । उदाहरणका लागि यदि दम्पत्ति नै ६५ बर्ष नाघेका भएमा उनीहरुले स्टाण्डर्ड डिडक्सन अन्तरगत २७ हजार ७ सय र अतिरिक्त ३ हजार गरी ३० हजार ७ सय डलर करयोग्य आम्दानी घटाएर करको बिल कम गर्न सक्छन् ।

यदि करदाता ६५ बर्षपनि नाघेको छ र दृष्टिविहिनपनि छ भने स्टाण्डर्ड डिडक्सन अन्तरगत घटाउन सकिने १३ हजार ८ सय ५० को अतिरिक्त एकल भएमा ३७ सय डलर र विवाहित भएमा हरेकको ३ हजार डलरका दरले घटाउन सक्नेछन् । याद गर्नुहोस्, यसरी घटाउन सकिने रकम अन्य सबै करदाताहरुले स्टाण्डर्ड डिडक्सन अन्तरगत घटाउन सकिने एकलको १३ हजार ८ सय ५०, घरमूलिको २० हजार ८ सय र संयुक्त फाइल गर्ने दम्पत्तिको २७ हजार ७ सयभन्दा अतिरिक्त हो ।

कर वर्ष २०२३ को लागि यदि तपाईं जनवरी २, १९५९ भन्दा ,अघि जन्मनुभएको खण्डमा मात्र तपाईं ६५ बर्षको मानिने आईआरएसले जनाएको छ । यदि तपाइँ वा तपाइँको दम्पत्ति पनि वर्षको अन्त्यमा कानुनी रूपमा दृष्टिविहिन हुनुहुन्थ्यो वा तपाइँलाई किन दृष्टिविहिन मान्नु पर्छ भनेर व्याख्या गर्ने डाक्टरको नोट छ भने तपार्इ ठूलो अतिरिक्त कटौती दावी गर्न योग्य हुनुहुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com