मंगेतर भिसामा बोलाएर विवाह नगरी १० बर्षभन्दा बढी निशुल्क काम लगाउनेलाई जेल र जरिवाना
प्रकाशित मिति : पुस २१, २०८० शनिबार
मंगेतर भिसामा अमेरिका बोलाएर विवाह नगरी १० बर्षभन्दा बढी निशुल्क काम लगाउने बेष्ट भर्जिनियाको पार्कर्सबर्ग निवासी एक व्यक्तिलाई जेल सजाय र जरिवाना हुने भएको छ । ती व्यक्तिले आप्रवासीलाई लुकाएको, राखेको र अधिकारीहरुलाई पत्ता लगाउनबाट बचाउएकोमा दोषी स्वीकार गरेका छन् ।
अदालतको कागजात र अदालतमा दिएका बयानहरू अनुसार सन् २०१० को जुन १०मा ६३ वर्षीय फ्रेडरिक सेरे एन्डरसनले मंगेतर भिसामा बोलाउनका लागि फर्म आई १२९ एफमा हस्ताक्षर गरी युएससीआईएमिा आवेदन दिएको युएस एटोर्नी विल थम्पसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। एन्डरसनले विदेशी नागरिकलाई अमेरिका ल्याउनका लागि ९० दिनको मंगेतर के वान गैरआप्रवासी भिसा प्राप्त गर्न याचिका दायर गरेको स्वीकार गरेका छन् ।
विदेशी नागरिकलाई भिसा दिइएको थियो, जसमा उनी र एन्डरसनले ९० दिनभित्र विवाह गर्नुपर्ने थियो । उनी जनवरी ८, २०११ मा अमेरिका आइपुगिन् । एन्डरसनले उनलाई पिट्सबर्गबाट पिकअप गरेर भोलिपल्ट पार्कर्सबर्ग लगेका थिए । त्यसपछि उनले एन्डरसनको व्यवसायमा सन् २०२१ को मे ७ सम्म अर्थात् १० बर्षभन्दा बढी समय काम गरेकी थिइन् । उनलाई काम गरेवापत तलब नदिएको एन्डरसनले स्वीकार गरेका छन् ।
उनले ती महिलासँग विवाह पनि नगरेको र उनको के वान भिसाको म्याद अप्रिल ८, २०११ मा समाप्त हुँदा ती महिलाको अमेरिकामा बसाई गैरकानूनी हुन पुगेको अदालती कागजातमा उल्लेख छ । मे २०२१ मा संघीय अध्यागमन एजेन्टहरू कम्तिमा तीन पटक एन्डरसनको व्यवसाय भएको ठाउँमा गएका थिए । त्यतीबेला एन्डरसनले स्वीकार सरकारी अधिकारीहरूलाई ती महिलालाई पत्ता लगाउनबाट रोक्न कदम चालेका थिए ।
अध्यागमन अधिकारीहरु पुग्दा एन्डरसनले ती महिलालाई व्यवसाय पछाडि लुक्न निर्देशन दिएका थिए । एन्डरसनले त्यसपछि संघीय एजेन्टहरूसँग झूट बोल्दै ती महिला व्यवसाय भित्र नबस्ने र उनले महिनौं अघि छाडेको बताएका थिए । साथै ती महिला कहाँ छिन् भन्ने थाहा नभएको पनि उनले बताएका थिए ।
एन्डरसनको आपराधिक आचरणले एक दशक भन्दा बढीको लागि व्यक्तिको शोषणलाई सहज बनाएको तथा यस मामिलामा मानव बेचबिखनको आरोप नलागे पनि यसले जबरजस्ती श्रम र मानव बेचबिखनका अन्य रूपहरूलाई समेटेको अधिकारीहरुको भनाई छ । एन्डरसनलाई अप्रिल १८ मा सजाय सुनाइने कार्यक्रम छ। उनले पाँच वर्षसम्म जेल, तीन वर्षको सुपरिवेक्षण रिहाई र २ लाख ५० हजार जरिवानाको सामना गर्नुपर्नेछ।
कसरी पाउन सकिन्छ मंगेतर भिसा ?
यदि तपाई अमेरिकी नागरिकताप्राप्त व्यक्ति हुनुहुन्छ भने तपाईले आफ्नो विदेशमा रहेको मंगेतरलाई अमेरिकामा बोलाएर विवाह गर्न सक्नुहुनेछ । के वान नामको यो भिसाले तपाईको मंगेतरलाई अमेरिकामा आउनमा अनुमति प्रदान गर्छ तर यसरी आउने व्यक्तिले अमेरिकामा रहेको आफ्नो मंगेतरसँग ९० दिनभित्र विवाह गरिसक्नुपर्छ ।
सामान्यतया मंगेतरका रुपमा अमेरिका आउने व्यक्ति र झिकाउने व्यक्तिबीच विगत २ बर्षभित्र भौतिक रुपमा नै भेट भएको हुनुपर्छ । तर विवाह अगाडि नै भेट्ने संस्कार नहुनेहरुको सन्दर्भमा भने अमेरिकी सरकारले उक्त कठिनायीको आधारमा भिसा स्वीकृत गर्नसक्छ ।
यो भिसामा मंगेतरलाई अमेरिकामा ल्याउनका लागि अमेरिकी सरकारको युएससीआईएसमा फर्म आई १२९ एफ भरेर आवेदन दिनुपर्छ । यो फर्म अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसका विदेशमा रहेका कार्यालयमा भर्न मिल्दैन ।
यो आवेदन दिएपछि जब युएससीआईएसले तपाईको आवेदन स्वीकृत गर्छ, त्यसपछि केसलाई नेशनल भिसा सेन्टर समक्ष पठाउँछ । नेशनल भिसा सेन्टरले तपाईलाई केस नम्बर उपलब्ध गराउनुका साथै आवेदनलाई सम्बन्धित देशको दूतावासमा पठाउँछ ।
नेशनल भिसा सेन्टरबाट अन्तरवार्ताको तयारीका लागि पत्र आइसकेपछि डीएस १६० फर्म भर्नुपर्छ । त्यसपछि अन्तरवार्तामा जाँदा डीएस १६० भरेर अनलाइनमार्फत पेश गरेको कन्फर्मेशन, अद्यावधिक पासपोर्ट, जन्मदर्ता प्रमाणपत्र, पुलिस रिपोर्ट, स्वास्थ्य परिक्षण, फर्म आई १३४ भरेको स्पोन्सर, २ वटा तस्वीर, अमेरिकी नागरिक मंगेतरसँगको सम्बन्धको प्रमाण र तोकिएको शुल्क लिएर दूतावास वा कन्सुलेटमा जानुपर्छ । कागजातहरु अँग्रेजी भाषामा वा अँग्रेजीमा अनुवाद गरेर नोटरी गरिएको हुनुपर्छ ।
भिसा स्वीकृत भइसकेपछि कन्सुलर अफिस वा अमेरिकी दूतावासले भिसाका साथमा एउटा बन्द गरिएको प्याकेट समेत दिन्छ । यो प्याकेट नखोलीकनै अमेरिका आउने क्रममा अमेरिकाको विमानस्थलमा आइसकेपछि अध्यागमन अधिकारीहरुलाई बुझाउनुपर्छ । सामान्यतया मंगेतर भिसा ६ महिनाको हुने भएकाले ६ महिनाभित्र अमेरिका प्रवेश गरिसकेको हुनुपर्छ । तर विवाह भने अमेरिका प्रवेश गरेको ९० दिनभित्र गर्नुपर्छ ।
अमेरिका आइसकेपछि अमेरिकी सरकारले तोकेको निकायमा कानुनी विधिपूर्वक विवाह गर्नुपर्छ । विवाह गरिसकेपछि अमेरिकी नागरिकता हुने दम्पत्तिले ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन फाइल गर्नुपर्छ । तयसपछि उक्त आवेदन स्वीकृत भइसकेपछि ग्रिनकार्ड प्राप्त हुन्छ ।