न्युयोर्क टाइम्स स्क्वायरमा ३ प्रहरीलाई छुरा हान्नेले स्वीकारे अभियोग, १२० बर्षसम्म जेल सजाय हुनसक्ने
प्रकाशित मिति : पुस २६, २०८० बिहीबार
नयाँ वर्षको पूर्वसन्ध्यामा टाइम्स स्क्वायरमा ३ अधिकारीहरूलाई छुरा प्रहार गरेको अभियोगमा पक्राउ परेका ट्रेभर बिकफोर्डले बिहीबार अभियोग स्वीकार गरेका छन् । उनी सरकारी अधिकारीहरूको हत्या प्रयासका तीनवटा र सरकारी अधिकारीहरूमाथि आक्रमणको तीनवटा अभियोगमा दोषी ठहर भएका छन् ।
यी अभियोगहरुमा उनले १२० बर्षसम्म जेल सजाय पाउन सक्नेछन् । उनलाई अप्रिल ११ मा सजाय सुनाइने कार्यक्रम छ ।
टाइम्स स्क्वायर परिधिमा चेकपोइन्टमा खटिएका तीन प्रहरी अधिकारीहरूलाई २०२२ नयाँ वर्षको पूर्वसन्ध्यामा चक्कु आक्रमणपछि उनी पक्राउ परेका थिए । आक्रमण गर्दा १९ वर्षका बिकफोर्ड सन् २०२२ को डिसेम्बरमा वर्दीमा अफिसरहरूमाथि आक्रमण गर्ने उद्देश्यले मेनबाट आएका थिए ।
बिकफोर्डले प्रतिष्ठित नयाँ बर्षको उत्सवलाई जिहादको नाममा हिंसा र घृणाका निर्लज्ज कार्यहरूबाट लक्षित गरेको तथा भ्रामक विचारधाराहरूको समर्थनमा आतंकवादी कार्यहरू गरेको बताउदै युएस एटोर्नी जनरल डेमियन विलियम्सले अब बिकफोर्डले काम अनुशार संघीय जेलमा लामो समय बिताउने बताएका छन् ।
बिकफोर्डले अनुसन्धानकर्ताहरूलाई आक्रमण असफल भएको बताएका थिए । किनभने आक्रमणमा कुनै पनि अधिकारीको मृत्यु भएको थिएन । आक्रमणकारीले पनि उनकै शब्दमा शहादत प्राप्त गर्न सकेनन् ।
३१ डिसेम्बर २०२२ मा बिकफोर्डलाई अधिकारीहरूले गोली हानेर गिरफ्तार गरेका थिए । उनले नयाँ वर्षको पूर्वसन्ध्याको उत्सवको लागि सेट गरिएको सुरक्षित क्षेत्र बाहिर वेस्ट ५२ औं स्ट्रीट र आठौं एभिन्यू नजिकै १८ इन्चको चक्कुले प्रहरी अधिकारीहरूलाई आक्रमण गरेका थिए ।
आक्रमणले टाइम्स स्क्वायरमा उक्त वर्षको नयाँ वर्षको पूर्वसन्ध्याको उत्सवको लागि सुरक्षा समायोजन गर्नुपरेको थियो ।