मार्चकालागि डिभी विजेता नेपालीको केस नम्बर ५ हजार, अहिलेसम्म कतिले पाए भिसा?
प्रकाशित मिति : पुस २९, २०८० आईतबार
डिभी २०२४ का नेपाली विजेताको केस नम्बर मार्चका लागि थपिएको छ । अब मार्चमा ५ हजारसम्म केस नम्बर हुने नेपालीहरुले भिसा पाउन सक्नेछन् । जनवरीमा ३ हजारसम्म केस नम्बर हुनेहरुका लागि भिसा सिमित गरिएको छ भने यो नम्बर फेब्रुअरीका लागि ४५ सय रहेको छ ।
आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ, जुन चालु आर्थिक बर्षको तुलनामा धेरै हो । आर्थिक बर्ष २०२३ का लागि ३८०८ जनाले डिभी लोटरी पारेका थिए । २०२४ मा पनि नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो भएको छ । एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका छन् ।
नतिजा सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमा हेर्न सकिनेछ । गतबर्षको अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् ।
कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएका थिए । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भए ।
आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको काठमाडौंमा रहेको अमेरिकी दूतावासले नोभेम्बरमा भने उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेको थियो । नोभेम्बरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले २५६ जनालाई डाइभर्सिटी भिसा दिएको थियो ।
नोभेम्बरमा अमेरिकी दूतावास काठमाडौं र अन्य दूतावासबाट डाइभर्सिटी भिसा पाउने कुल नेपालीहरुको संख्या भने २६१ रहेको थियो । अक्टोबरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले कसैलाई पनि डाइभर्सिटी भिसा जारी नगरेपनि काठमाडौंबाहेक अन्य क्षेत्रबाट भने ३ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गर्न सफल भएका थिए ।
नोभेम्बरमा काठमाडौंबाट आप्रवासी भिसाको कुनै पनि श्रेणीमा सबैभन्दा धेरै डाइभर्सिटी भिसा नै जारी गरिएको थियो । दोश्रोमा अमेरिकी नागरिकका बाबुआमाहरुले भिसा पाएका थिए । नोभेम्बरमा अमेरिकी दूतावास काठमाडौंबाट अमेरिकी नागरिकका १७२ बाबुआमाहरुले भिसा पाए । अक्टोबरमा यो श्रेणीमा काठमाडौंबाटमात्र ३३० जनाले आप्रवासी भिसा पाएका थिए ।
सामान्यतया डिभी २०२४ का विजेताहरु अक्टोबर १ बाट भिसा पाउन योग्य हुने भएतापनि अमेरिकी दूतावास काठमाडौंले भने पहिलो महिना कसैलाई पनि भिसा दिएको थिएन । गतबर्ष पनि अमेरिकी दूतावास काठमाडौंले पहिलो महिना कसैलाई पनि डाइभर्सिटी भिसा प्रदान गरेको थिएन । सामान्यता जनवरीबाट अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताहरुलाई उल्लेख्य संख्यामा भिसा प्रदान गर्दै आएकोमा यो बर्ष नोभेम्बरदेखि नै भिसा जारी गरेको छ ।