आप्रवासीहरुलाई एसाइलम लिनका लागि नक्कली कागजातहरू बनाइदिने तीनजना पक्राउ
प्रकाशित मिति : माघ ११, २०८० बिहीबार
बेलायतमा आप्रवासीहरुलाई एसाइलम लिनका लागि नक्कली कागजातहरू उपलब्ध गराएको आरोपमा ग्रेटर म्यानचेस्टरमा तीन जना पक्राउ परेका छन्। संदिग्धहरू चिनियाँ र बेलायती नागरिकहरूद्वारा सञ्चालित कानुनी सल्लाह फर्मको हिस्सा भएको ठानिएको थियो ।
उनीहरुले ग्यारेजबाट काम गर्दै आएका थिए भने प्रति ग्राहक ३ हजार पाउण्ड भन्दा बढी शुल्क लिने गरेका थिए । फर्म दुई नियामक निकायमा दर्ता थिएन।
छापा मारिएपछि तीनै जनालाई सहजीकरणको आरोपमा पक्राउ गरिएको थियो । फर्म सोलिसिटर नियमन प्राधिकरण वा अध्यागमन सेवा आयुक्तको कार्यालयमा दर्ता नगरिएको होम अफिसले जनाएको छ ।
होम अफिसको आपराधिक र वित्तीय अनुसन्धान इकाईका सहायक निर्देशक एन्ड्र्यू र्याडक्लिफले बेलायतमा अवैध प्रवेशलाई सहजीकरण गर्ने कार्य सह्य नहुने र गैरकानुनी आप्रवासीहरूलाई झुठा एसाइलम दावीका साथ बेलायतमा बस्न मद्दत गर्ने मानिसहरूको सञ्जाललाई हटाउन अथक प्रयास गरिरहेको बताएका छन् ।
गैरकानूनी आप्रवासनसँग सम्बन्धित मन्त्री माइकल टमलिन्सन बेलायतको अध्यागमन प्रणालीलाई नाफाको लागि दुरुपयोग गरेको शंका गर्नेहरूको खोजीमा अथक प्रयास गर्ने बताएका छन् ।