इतिहास रच्ने दौडमा भण्डारी, मेरिल्याण्ड राज्य सांसदपछि अमेरिकाकै सांसदमा उम्मेदवारी घोषणा
प्रकाशित मिति : माघ १६, २०८० मंगलबार
अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपालीका रुपमा इतिहास रचिसकेका नेपाली मुलका ह्यारी भण्डारीले अझ अर्को इतिहास रच्ने दौड सुरु गरेका छन् । सन् २०१९ देखि मेरिल्याण्डको राज्य संसदमा सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएका भण्डारीले अमेरिकाको संघीय सांसदका लागि उम्मेदवारीको घोषणा गरेका छन् ।
मेरिल्याण्डको सेकेण्ड डिस्ट्रिक्टबाट अमेरिकाको तल्लो सदन प्रतिनिधिसभामा ११ औं कार्यकालका लागि प्रतिनिधित्व गर्दै आएका ७८ बर्षका सांसद डच रुपर्सबर्गरले आगामी कार्यकालका लागि चुनावमा नउठ्ने घोषणा गरेको तीनदिनपछि भण्डारीले उनको स्थानमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । रुपर्सबर्गरले सन् २००३ देखि उक्त क्षेत्रमा चुनाव उठ्दै र जित्दै आएकोमा उनी अब चुनावमा नउठ्ने भएकाले यसक्षेत्रलाई नयाँ उम्मेदवारका लागि अवशरको रुपमा हेरिएको छ ।
भण्डारीले आगामी मे १४ मा हुने डेमोक्रेटिक प्राइमरीका लागि उम्मेदबारी घोषणा गरेका हुन् । यदि प्राइमरीमा जितेको खण्डमा डेमोक्रेटिकहरुको बाहुल्य रहेको उक्त क्षेत्रबाट क्यापिटल हिलका लागि भण्डारीको यात्रा लगभग सुनिश्चित हुनेछ । यद्यपी औपचारिक जीतका लागि भने आगामी नोभेम्बरमा हुने चुनावको प्रतिक्षा गर्नुपर्छ । प्राइमरीबाटै बाहिरिएको खण्डमा भण्डारीले नोभेम्बरमा हुने अन्तिम चुनावमा भने लड्न पाउनेछैनन् ।
अस्पतालको इमर्जेन्सीमा सबैभन्दा धेरै प्रतिक्षा गर्नुपर्नेमा राज्यका रुपमा मेरिल्याण्डको रेकर्ड भएकाले उनल आफ्नो प्राथमिकतामध्येको एक स्वास्थ्य सेवामा पहुच विस्तार गर्नु रहेको बताएका छन् । हाल हेल्थ एण्ड गभर्मेन्ट अपरेशन कमिटिमा समेत रहेका भण्डारीले मेरिल्याण्डमा असाध्यै राम्रो अस्पताल प्रणाली र स्वास्थ्य सेवा प्रणाली रहेपनि इमर्जेन्सीमा सबैभन्दा धेरै प्रतिक्षा गर्नुपर्ने खराब रेकर्ड रहेको बताएका छन् । नेपालमा जन्मेर हाल मेरिल्याण्डको नटिंघममा बस्दै आएका भण्डारी दुईबच्चाका पिता हुन् । उनी सन् २००५ मा अमेरिका आएका हुने भने रातीमा ग्यास स्टेशनमा काम गर्दै जोन हप्किन्स युनिभर्सिटमा अध्ययन गरेका थिए । उनले युनिभर्सिटी अफ मेरिल्याण्डबाट पीएचडी समेत गरेका छन् । भण्डारीले मेरिल्याण्डको संसदमा एसियन अमेरिकन एण्ड प्यासेफिक आइल्याण्डर ककसको अध्यक्षता समेत गर्छन् ।
भण्डारीले उम्मेदवारी घोषणासँगै भनेका छन् – ‘मेरिल्याण्ड डिस्ट्रिक्ट ८ को विधायकका रूपमा मैले पहिलो कार्यकालमा गरेको कामको मूल्यांकन गरेर मेरो निर्वाचन क्षेत्रका मतदाताले मलाई दोस्रो कार्यकालमा पहिलो मतका साथ जिताएनन् मात्र, सिंगो निर्वाचन क्षेत्रलाई नै बैजनीबाट नीलो बनाइ दिएर मेरो कामको अनुमोदन गरी दिए । यसबाट अमेरिकाको मूलधारका मतदातामाझ पनि नेपाल र नेपाली अरू बढी देखिएको छ, सुनिएको छ । मेरिल्याण्डमा नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा सकारात्क परिवर्तन भएको छ । मेरिल्याण्डका मात्र हैन, अमेरिकाभरिका नेपालीका लागि खासगरी दुस्खको बेला काँध थाप्दै आएको छु । यसबाट पीर र समस्यामा परेका धेरै नेपालीको चहराइरहेको घाउमा मल्हम लागेको मैले अनुभव गरेको छु ।’
‘इतिहासले फेरि एकपटक ममार्फत् अमेरिकाभरिका नेपालीका लागि एउटा सुनौलो मौका ल्याइदिएको छ । मेरै निर्वाचन क्षेत्रसमेत रहेको मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ लाई बिगत २१ वर्षदेखि अनवरत् रूपमा प्रतिनिधित्व गर्दैआएका कंग्रेसमेन डच रूपेर्सबर्गरले अवकाशको घोषणा गरेपछि ओपन सिट भएको छ । डेमोक्रेटिक पार्टीले जित्ने सिट ओपन हुनु भनेको त्यही क्षेत्रको सबैभन्दा बढी मत ल्याएर जितेको र बरियताक्रममा पनि नम्बर १ मा रहेको डेलिगेटका लागि एकजुगमा एक दिन एकपटक आउने सुनौलो अवसर हो । कम्तिमा मेरो सक्रिय राजनीतिक जीवनमा यस्तो अवसर फेरि आउने छैन भन्नेमा म विश्वस्त छु,’ भण्डारीले भने ।
उनले एक वक्तव्यमा भनेका छन् – ‘म यो सुनौलो अवसर अमेरिकाभरिका नेपालीको अवसरका रूपमा स्विकार्छु र विनम्रतापूर्वक मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ को लागि डेमोक्रेटिक पार्टीको उम्मेद्वारी घोषणा गर्न चाहन्छु । मलाई थाहा छ, मेरो लागि यो चुनौतिको पहाड हो । तर, अमेरिकामा रहेका तमाम तह र तप्काका नेपालीबाट सहयोग, साथ र सद्भाव पाएँ भने यो चुनौतिको पहाडलाई सम्याएर अवसरको मैदान बनाउन सक्ने छु ।’
‘मसँग यो चुनौतिलाई स्विकार गर्ने अध्ययन, अनुभव, आँट र पृष्ठभूमी छ । त्यसैले मैले यो चुनौति मेरो लागिभन्दा पनि नेपाल र नेपालीका लागि लिनैपर्छ भन्ने ठानेको हुँ । यो यात्रा मेरिल्याण्डको राजधानी एनापोलिसको लागि हैन, अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित क्यापिटलको हिलको हो । अहिले म मेरिल्याण्डको विधायक हुँ भने यो जीतपछि अमेरिकाका ५० राज्यकै एक कंग्रेसमेन हुनेछु । त्यसबाट अमेरिकाभरिका समग्र नेपालीले आफ्नो मूलको पहिलो कंग्रेसमेन पाउँने छन् ,’ भण्डारीले भने ।
भण्डारीले नेपाल र नेपाली समुदायका लागि के गरे?
मेरिल्याण्ड राज्य संसदमा दोश्रो कार्यकाल सेवा गरिरहेका नेपाली मूलका ह्यारी भण्डारीले नेपाल र नेपाली समुदायका लागि के काम गरे ? यसबारेमा धेरैको चासो रहेको छ ।
भण्डारीले सामाजिक न्यायको प्रत्याभूति दिने खालका दर्जनबढी आप्रवासीमैत्री कानून निर्माण गरेका थिए भने नेपाली र एशियालीसमुदाय केन्द्रका लागि लाखौं डलर विनियोजन गराउन सफल भए । कोरोना कहरमा २५ नेपालीको शव व्यवस्थापन गरेभने बाल्टिमोर काउन्टीमा दीपावलीलाई मान्यता दिलाउन पहल गरे । नेपाली विद्यार्थीहरूलाई राज्य प्रतिनिधि छात्रवृत्ति प्रदान गर्नेदेखि एसेम्बलीबाट दशै विधेयक पारित गराउन सफल भए ।
कोभिड १९ को खोप र अन्य सामग्री नेपाल पठाउन भूमिका खेलेका उनले कोरोना महामारीका बेलामा १६ सय भन्दा धेरै नेपालीलाई बेरोजगार भत्ताका लागि संयोजन गरे । नेपालीलाई टीपीएस प्रदान गर्न निरन्तर वहस पैरवी गर्दै आएका उनले नेपाली भाषालाई मेरिल्याण्ड डीएमभीमा मान्यताका लागि पहल गरे । नेपाली समुदायका हरेक दुख सुखमा साथ र सहयोग गर्दै आएका उनले गरेका कैयन महत्वपूर्ण कामहरुमध्ये मुख्यलाई हामीले सुचिकृत गरेका छौं ।
मेरिल्याण्डमा नेपालीको संस्था बानालाई राज्य सांसद भण्डारीको पहलमा दुई लाख ५० हजार डलर
मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको संस्था बाल्टिमोर एशोसियन्स अफ नेप्लिज इन अमेरिका बानालाई विधायिकी बण्डमार्फत् दुईलाख ५० हजार अमेरिकी डलर सहयोग स्वीकृत गराउन सफल भए । सहयोगमध्ये एक लाख २५ हजार बाना बिल बण्डका रूपमा राज्यका तर्फबाट र एक लाख २५ हजार म्याचिङ फण्डका रूपमा बाल्टिमोर काउन्टीका तर्फबाट दिनेगरी स्वीकृत भयो ।
भण्डारीले सन् २०१९ मा यसका लागि संसदमा बिल पेश गरेका थिए । जुन एक लाख २५ हजार म्याचिङ फण्ड प्राप्त भएपछि निकाशा हुने र ७ बर्षभित्र प्रयोग गर्नुपर्नेगरी स्वीकृत भएको थियो । बाल्टिमोर काउन्टीका तर्फबाट म्याचिङ फण्ड प्राप्त भइसकेकाले यो रकम निकाशाका लागि समेत सहज भएको थियो । यो रकम सन् २०२७ भित्र प्रयोग गरिसक्नुपर्नेछ ।
बाल्टिमोर काउन्टीले चालु खर्चबाटै म्याचिङ फण्ड बानाको खातामा जम्मा गरिदिएको थियो । समुदायका लागि चालु खर्चबाटै म्याचिङ फण्ड उपलव्ध हुनु आफैंमा मानक उपलव्धी हो । यस्तो उपलव्धी नेपालीका लागि पहिलो हो भने अमेरिकाका अन्य समुदायका लागि पनि सम्भवत पहिलो हो ।
मेरिल्याण्ड संसदमा नेपाली समुदायको एक मात्र सदस्य भएकाले यो अभियानको प्रारम्भ गर्ने र यसलाई तार्किक निष्कर्षमा पुर्याउँने आधिकारिक व्यक्तिका रूपमा यो सुखद् खबर सार्वजनिक गर्न पाउँदा आफू निकै खुशी भएको भण्डारीले बताएका थिए ।
बाना बण्ड बिल पारित भएर राज्यबाट एक लाख २५ हजार निकासा भएको सन् २०२० मा हो । तर त्यसका लागि म्याचिङ फण्ड खोज्नुपर्ने प्रावधान रहेकाले त्यो रकम समयमा उपभोग गर्न सकिएको थिएन । तर बाल्टिमोर काउन्टीले म्याचिङ फण्ड उपलव्ध गराइदिएकाले बानालाई दुई लाख ५० हजार रकम पाउन सहज भएको छ ।
बानाको सामुदायिक भवन दुई लाख ९८ हजारमा खरिद गरिएको थियो भने संस्था ऋणमै रहेको छ। यसको स्तरोन्नतिका लागि राज्य र काउन्टीले दुई लाख ५० हजार सहयोग प्रदान गरेको हो । दुई लाख ९८ हजारको संरचनाका लागि दुई लाख ५० हजार सहयोग यो आफैंमा एक मानक सहयोग हो ।
कोरोना महामारीका बेलामा नेपाललाई खोप उपलब्ध गराउन पहल
कोरोना महामारीका बेलामा नेपालमा खोप उपलब्ध गराउने कुरा निकै महत्वपूर्ण थियो । अमेरिकाबाट नेपालका लागि खोप उपलब्ध गराउनका लागि विभिन्न तहबाट विभिन्न प्रयासहरु भएका थिए । राष्ट्रपति बिद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोप उपलब्ध गराईदिन पत्र लेखेकी थिईन् ।अमेरिकामा रहेका नेपालीहरुले आफ्नो क्षेत्रका जनप्रतिनिधिहरुलाई फोन गर्नेदेखि हस्ताक्षर अभियान संचालन गर्नेसम्मका काम भएका थिए ।
त्यसमध्ये मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य ह्यारी भण्डारीले नेपाल सरकारको औपचारिक आग्रहलाई सार्थकता प्रदान गर्न खेलेको सहयोगी भूमिका पनि उल्लेखनीय थियो । राज्य बिधान सभा सदस्य भण्डारीले स्टेट डिपार्टमेन्ट यूएसएआईडी व्यवस्थापन तथा अन्तराष्ट्रिय बिकास अध्यक्ष बेन कार्डिन र विश्व स्वास्थ्य उपसमिति अध्यक्ष सिनेटर क्रिस भ्यान होलेनलाई औपचारिक रुपमा नै पत्र लेखेका थिए । नेपालले भारत र चीनलाई औपचारिक आग्रह गरेकै बखत बिधान सभा सदस्य भण्डारीले अमेरिकी सरकारका उच्चपदस्थ अधिकारीहरुसमक्ष नेपाललाई खोप सहायताका लागि आग्रह गरेका थिए ।
अमेरिकी सरकारले नेपाललाई पनि खोप उपलब्ध गराउने औपचारिक निर्णय भएपछि ग्लोबल हेल्थ इस्युमा काम गरिरहेका क्रिस भ्यानले भण्डारीलाई इमेल लेखेर नेपालका लागि यस्तो विषम परिस्थितिमा काम गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । नेपाललाई खोप उपलब्ध गराउने बिषयमा पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा विश्व स्वास्थ्य उपसमिति अध्यक्ष क्रिस भ्यान होल्यान, अमेरिकामा रहेका उच्च अधिकारीहरुले बिधान सभा सदस्य भण्डारीको नेतृत्वमा जुम बैठक समेत गरेका थिए । नेपालमा भ्याक्सिन सहयोगका लागि अमेरिकी संसदलाई आव्हान गर्दै भण्डारीले हस्ताक्षर अभियान समेत चलाएका थिए ।
टीपीएसवाहकका पक्षमा राजनीतिक लविंग
भण्डारीले अमेरिकामा रहेका नेपाली टीपीएसवाहकका पक्षमा निरन्तर राजनीतिक लविंग गर्दै आएका छन् । भण्डारीले अमेरिकामा टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा लैजान समेत राजनीतिक लविंग गर्दै आएका छन् ।
टीपीएसवाहकका लागी बाइडेन प्रशासन समेत सकारात्मक रहेकाले नेपाली समुदायले ढोका ढकढक्याउनुपर्ने बेला भएकाले यस सन्दर्भमा काम गरिरहेको उनले बताए ।
भिसा नपाएका नेपाली डिभी विजेताहरुको समस्या समाधानका लागि भण्डारीले अमेरिकी सरकारलाई औपचारिक आग्रह गरेका थिए । त्यस्तै कोरोना महामारीका बेलामा विभिन्न भिसामा अमेरिका आउन नपाएका नेपालीहरुका सन्दर्भमा अमेरिकी दूतावास काठमाडौंसँग लविंग गरेर उनले ती नेपालीहरुलाई अमेरिका आउने वातावरण बनाउन सहयोग गरेका थिए । जसमा डाक्टरहरुको ठूलो समुह समेत थियो ।
अमेरिकामा नेपालीको दाहसंस्कार र शव नेपाल पठाउन सहयोग
कोरोना महामारीका बेलामा अमेरिकामा शवहरु दाहसंस्कार गर्ने पालो पाउन समेत निकै मुस्किल रहेको थियो । अझ न्युयोर्कमा स्थीति दर्दनाक रहेको थियो । कोरोनाका कारण मृत्यु भएका कैयन नेपालीका शवहरु दाहसंस्कारका लागि एकातिर पालो पाउन मुस्किल थियो, अर्कोतर्फ शव दाहसंस्कारका लागि रकम जुटाउन पनि मुस्किल थियो । यो अवस्थामा भण्डारीले जनप्रतिनिधिका रुपमा नेपालीका शव दाहसंस्कारको वातावरण मिलाउनेमात्र नभई सस्तोदरमा दाहसंस्कारको प्रबन्ध समेत गरेका थिए । कतिपय नेपालीको शव दाहसंस्कारका लागि फण्डको समेत व्यवस्था गर्न भूमिका खेलेका थिए ।
त्यस्तै कोरोना महामारीपछि अमेरिकामा मृत्यु भएका कैयन नेपालीको शव नेपाल पठाउन पनि भण्डारीले सहयोग गरेका थिए । अन्तर्राष्ट्रिय उडानहरु बन्द हुनुभन्दा ठीक अगाडि क्यालिफोर्नियाको सेक्रोमेन्टोमा रहेको सटर जनरल हस्पिटलमा दुखद निधन भएको रोजी रानाको शव नेपाल पठाउने काममा भण्डारीले उल्लेख्य सहयोग गरेका थिए ।
रोजीको पार्थिक शरीरलाई क्यालिफोर्नियावाट आन्तरिक शव व्यवस्थापनको जिम्मेवारी सहित शवगृहहरुको समन्वयमा मेरिल्याण्डमा ल्याइएको थियो । रोजीको शव बुझ्न भण्डारी आफै एयरपोर्टमा गएका थिए । महामारीपछि शव नेपाल पठाउन मुस्किल रहेको अवस्थामा भण्डारीले कोरोनाबाहेक अन्य कारणले मृत्यु भएकाहरुका शव नेपाल पठाउन उल्लेखय सहयोग गरेका थिए ।
मेरिल्याण्ड राज्य संसदको तल्लो सदनबाट दशैं विधयेक पारित
भण्डारीले हाउसको तल्लो सदनमा ल्याएको दशैं बिल मेरिल्याण्ड राज्यको दुवै सदनले पारित गरेपछि गतबर्ष गभर्नर वेज मूरले हस्ताक्षर गरेका थिए । योसँगै राज्यको कानुनमा दशैंलाई मान्यता दिइएको थियो । राज्य संसदको ४४६ औ सेसनले पारित गरेको हाउस विल ०९६७ ले हिन्दु नेपालीहरुको चाड दशैंलाई कोमोमोरिटिभ मान्यता दिएको थियो । भण्डारीको लविङ र अथक प्रयासपछि विधयेक पारित हुन सफल भएको थियो ।