अमेरिकाको अधिकांश सामान अब चीनको साटो मेक्सिकोबाट, नेपालबाट ल्याइयो १४३ मिलियनको सामान


प्रकाशित मिति : माघ २४, २०८० बुधबार

विगत दुई दशकदेखि अमेरिकाले चीनबाट अन्य सबै राष्ट्रको तुलनामा सबैभन्दा धेरै मूल्यको वस्तु आयात गरेको थियो । अब त्यो अवस्था रहेन। वाणिज्य मन्त्रालयले बुधबार जारी गरेको नयाँ व्यापार तथ्याङ्क अनुसार मेक्सिको अब अमेरिकामा सामानको शीर्ष निर्यातकर्ता भएको छ।

मेक्सिकोले गत वर्ष अमेरिकामा ४७५ दशमलव ६ बिलियन डलरको सामान पठाएको थियो, जुन २०२२ को तुलनामा ५ प्रतिशतले बढी हो । यसैबीच चीनले गत वर्ष अमेरिकामा ४२७ दशमलव २ बिलियन डलरको सामान पठाएको थियो, जुन २०२२ को तुलनामा २० प्रतिशतले कमी हो ।

समग्रमा वस्तु र सेवाहरूमा कुल अमेरिकी व्यापार घाटा गत वर्ष ७७३ दशमलव बिलियन डलर थियो, जुन सन् २०२२ को तुलनामा १९ प्रतिशत गिरावट हो । यो सन् २००९ पछिको व्यापार घाटामा सबैभन्दा ठूलो वार्षिक गिरावट हो।

नेपालबाट सन् २०२३ मा अमेरिकाले १४३ दशमलव ६ मिलियन डलरको सामान ल्याएको छ । जसले गर्दा अमेरिकामा सबैभन्दा धेरै सामान आउने मुलुकको सुचीमा नेपाल ११९ औं नम्बरमा छ । सन् २०२३ मा अमेरिकाबाट नेपालमा ६२ दशमलव ८ मिलियन डलरको सामान पठाइएको छ ।

२०२२ को तुलनामा नेपालबाट अमेरिका ल्याइएको सामानमा केही बृद्धि देखिएको छ । सन् २०२२ मा १४३ दशमलव ३ मिलियन डलरको सामान नेपालबाट अमेरिका ल्याइएको थियो भने २५९ दशमलव ४ मिलियन डलरको सामान अमेरिकाबाट नेपाल गएको थियो ।

नेपालबाट अमेरिका सबैभन्दा धेरै सामान ल्याइने मुलुकमा २०२२ मा नेपाल १२७ औं नम्बरमा रहेकोमा अहिले माथि उक्लेको छ । तर अमेरिकाबाट नेपाल सामान पठाउने मुलुकमा सन् २०२२ मा १२४ नम्बरमा रहेकोमा २०२३ मा १६५ नम्बरमा पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com