ग्रिनकार्डवाहकका दम्पत्ति र बच्चाहरुको भिसा प्रतिक्षा अवधि ४ महिना कम, अमेरिकाभित्र हुनेलाई भने तनाव


प्रकाशित मिति : फाल्गुन २, २०८० बुधबार

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट प्रकाशित मार्चको भिसा बुलेटिनले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका साथै अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुको अनुहारमा थोरै भएपनि चमक ल्याएको छ । अब अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले दूतावासमा भिसा अन्तरवार्ताका लागि प्रतिक्षा गर्नुपर्ने अवधि झण्डै ३ बर्ष ८ महिनामा झरेको छ । अर्थात् सन् २०२० को जुन २२ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले आगामी मार्चमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् । जनवरीमा यो अवधि झण्डै ४ बर्ष २ महिना रहेकोमा फेब्रुअरीमा झण्डै ४ बर्षमा झरेको थियो ।

त्यस्तै अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले दूतावासमा भिसा अन्तरवार्ताका लागि प्रतिक्षा गर्नुपर्ने अवधि पनि मार्चमा झण्डै ५ महिना कम भएको छ । अर्थात् १ अक्टोबर २००९ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अब मार्चमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् । फेब्रुअरीमा २२ अप्रिल २००९ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र भिसा अन्तरवार्ता पाउन सफल भएका थिए ।

अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुले भिसा पाउन लाग्ने अवधिमा मार्चमा १ महिना १ साता छिटो भएको छ अर्थात् ८ फेब्रुअरी २०१५ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले मार्चमा भिसा अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।

ग्रिनकार्डवाहकका विवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउने लाग्ने अवधिमा १ महिना ३ साता छिटो भएको छ अर्थात् २२ नोभेम्बर २०१५ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अब मार्चमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् । अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीका सन्दर्भमा २ साता कम भएको छ । अर्थात् ८ जुन २००७ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अब मार्चमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।

अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि गत अगस्तसम्म ग्रिनकार्ड फाइल गर्ने मिति करेन्ट रहदै आएकोमा सेप्टेम्बरदेखि भने करेन्ट छैन । अथात् सेप्टेम्बरदेखि अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले आई १३० पिटिसन र ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ फाइल गर्न पाउँदैनन् ।

सेप्टेम्बर १, २०२३ को प्राथमिकता मितिमा अहिलेसम्म टसमस नभएकाले सेप्टेम्बर १ पछि आई १३० पिटिसन दिएकाहरुले उक्त पिटिसन विचाराधिन भएकै अवस्थामा अहिलेसम्म पनि ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन दिन पाएका छैनन् । जसले गर्दा उनीहरुलाई आफ्नो भिसा वा अध्यागमन स्टाटस जोगाउने झन्झट भएको छ । सेप्टेम्बर १ अगाडि आई १३० पिटिसन दिएकाहरुले भने सेप्टेम्बरदेखि नै ग्रिनकार्ड आवेदन आई ४८५ पेश गर्न पाइरहेका छन् । आई ४८५ पेश गरिसकेपछि भिसा वा अध्यागमन स्टाटस जोगाउने झन्झट नहुनसक्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com