अमेरिकाबाहिर रहेको बेला ग्रिनकार्ड हराए, नष्ट भए वा चोरी भएमा भएमा चाल्नुपर्ने कदम
प्रकाशित मिति : भाद्र १६, २०८१ आईतबार
यदि तपाई अमेरिकाबाहिर रहेको बेलामा नै तपाईको ग्रिनकार्ड हराएमा, नष्ट भएमा वा चोरी भएमा तपाईले आई १३१ ए फर्म भरेर ट्राभल डकुमेन्टका लागि आवेदन दिनुपर्छ । यो डकुमेन्टका आधारमा एयरलाइन्स वा अन्य यात्राका साधनहरुले ग्रिनकार्ड हराएको व्यक्तिलाई पनि यात्राको अनुमति दिने भएकाले यसलाई क्यारिअर डकुमेन्ट समेत भनिन्छ ।
यो डकुमेन्टसहित अमेरिकामा आउने व्यक्तिलाई चढाएवापत एयरलाइन्स वा यात्राका साधनका तर्फबाट अमेरिकी सरकारलाई जरिवाना तिर्नु पर्दैन । यदि अमेरिकाबाहिर एकबर्षभन्दा कम अवधिका लागि रहेको र त्यही बेलामा ग्रिनकार्ड हराएको वा चोरिएको वा क्षति भएको भएमा यो आवेदन दिन सकिन्छ ।
तपाईले ट्राभल डकुमेन्टका लागि आई १३१ ए आवेदन अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिसमा आफै उपस्थीत भएर दिनुपर्छ । अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिसमा जानुभन्दा अगाडि तपाईले अनलाइनबाटै उक्त आवेदनको शुल्क तिर्नुपर्छ ।
यदि तपाई अमेरिकी दूतावास काठमाडौमा आवेदन दिंदै हुनुहुन्छ भने तपाईले सुरुमा अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिनुहोला । अप्वाइन्टमेन्ट लिनका लागि यो लिंकमा क्लीक गर्नुहोला ।
अप्वाइन्टमेन्ट लिइसकेपछि तपाई उक्त दिन उपस्थीत हुँदा अद्यावधिक पासपोर्ट, भरेको आई १३१ ए फर्म, ग्रिनकार्डको फोटोकपी वा अन्य कुनै प्रमाण, ५७५ डलर शुल्क तिरेको रसिद, ग्रिनकार्ड चोरिएको वा हराएको भएमा त्यसको प्रहरी रिपोर्ट लिएर जानुपर्छ ।
आवेदनको शुल्क ५७५ डलर लाग्छ । शुल्क तिर्नका लागि यहाँ क्लीक गर्नुहोला ।
शुल्क तिरिसकेपछि पेमेन्ट कन्फर्मेशन पेज वा शुल्क तिरेको प्रमाणसहित अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिसमा उपस्थीत हुनुपर्छ । तर शुल्क तिर्नु अगाडि आई १३१ ए आवेदन तपाईले नजिकको दूतावास, कन्सुलेट वा युएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिसबाट प्रकृयामा लैजान सक्ने नसक्नेबारे सम्पर्क गरेर सोध्नुपर्छ ।
यदि प्रकृयामा लैजाने बताएको खण्डमा तपाईले फर्म आई १३१ ए डाउनलोड गरेर भर्नुपर्छ ।
फर्म आई १३१ ए डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोला ।
यो फर्म ५ पेज लामो रहेको छ । तर आफै भर्नेहरुका लागि २ पेजमात्र भरे पुग्छ । र भर्नका लागि सरल रहेको छ । नाम, ठेगाना, एलियन नम्बर, सोसल सेक्युरिटी नम्बर, जन्ममिति, अमेरिका छाडेको मिति, अमेरिका फर्कने योजना बनाएको मिति लगायतका विवरणहरु उल्लेख गरेर फर्म भरेपछि हस्ताक्षर अनिवार्य गर्नुपर्छ ।
फर्म भरिसकेपछि हस्ताक्षरसहितको यो फर्म, शुल्क तिरेको रिसिप्ट, सक्कली पासपोर्ट, पासपोर्टको फोटोकपी, ग्रिनकार्डको प्रमाण, अमेरिका छाडेको र फर्कने आइटनरी, ३० दिनभित्र खिचेको पासपोर्ट शैलीको फोटो लिएर अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिस वा दूतावासमा जानुपर्छ ।
आवेदन स्वीकृत गर्नका लागि झण्डै दुईसाताको अवधि लाग्ने बताइन्छ । तर इमर्जेन्सी भएको अवस्थामा भने छिटो पनि स्वीकृत हुनसक्छ । आवेदन स्वीकृत भइसकेपछिमात्र प्राप्त ट्राभल डकुमेन्टसहित यात्रा गर्नुपर्छ ।