अमेरिकाको कामदार भिसा एच वान बीको भिसा प्रकृया आजबाट सुरु


प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीमा छानिएकाहरुलाई युएससीआईएसले नोटिफिकेशन पठाइसकेकाहरुले छनौट भएकाहरुका लागि भिसा प्रकृया अप्रिल १ बाट सुरु भएको छ । अप्रिल १ पछि लोटरीमा छानिएकाहरुका लागि युएससीआईएसमा पिटिसन फाइल गर्न सकिनेछ । पिटिसन स्वीकृत भएको खण्डमा उनीहरुले आगामी अक्टोबर १ देखि अमेरिकामा काम सुरु गर्न सक्नेछन् ।

अमेरिकाको कामदार भिसा एचवान बीका लागि लोटरीमा सहभागी हुन अनलाइन दर्ता मार्च ६ बाट मार्च २५ को मध्यान्ह १२ बजेसम्म थियो ।  हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराएको थियो । हरेक व्यक्तिको दर्ताका लागि १० डलर शुल्क लिइएको थियो ।

यसपटकदेखि आवेदकको पासपोर्ट नम्बर वा यात्रा अनुमति कागजातको विवरण समेत पेश गर्नुपर्ने नियम रहेको थियो ।  यदि लोटरीमा छनौट भएर कामदार भिसा एचवानबीमा अमेरिका आउनुपरेको खण्डमा जुन पासपोर्ट प्रयोग हुन्छ, त्यही पासपोर्ट नम्बर प्रयोग गर्नुपर्ने प्रावधान रहेको थियो ।

एचवान बी कामदार भिसाको कोटा ६५ हजार रहेको छ भने अमेरिकी मास्टर्स डिग्री भएकाहरुका लागि थप २० हजार कोटा रहेको छ । यसरी एउटा आर्थिक बर्षका लागि कुल भिसा संख्या ८५ हजार रहेको छ ।

यो भिसाका लागि अमेरिका आउन चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन । यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीलेमात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ । एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ । लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ । वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ । वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् । चालु आर्थिक बर्षको चार महिनामा मात्र ३९५ जना नेपालीहरुले कामदार भिसा एचवान बी पाइसकेका छन् भने ९९ जना उनीहरुका आश्रितहरुले एचफोर भिसा पाइसकेका छन् । गत आर्थिक बर्ष २०२३ मा ११३५ जना नेपालीहरुले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com