मेरिल्याण्डमा गाडीको ठक्करबाट ७३ बर्षीय ओमबहादुर श्रेष्ठको मृत्यु, सोमबार अन्त्येष्टी गरिने


प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार

मेरिल्याण्डमा शुक्रबार कारको ठक्करबाट ७३ वर्षीय नेपाली अमेरिकन ओमबहादुर श्रेष्ठको मृत्यु भएको छ । लगभग ८ बजेर ४० मिनेटमा बेलायर रोड र पेन एभिन्यूमा बाटो पार गर्न खोजिरहेका बेला उनलाई गाडीले ठक्कर दिएको थियो।

श्रेष्ठलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ । ठक्कर दिने निसान गाडीका चालक घटनास्थलमा नै रहेका थिए । यसैबीच मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीको कार्यालय वक्तव्य जारी गर्दै गाडीको ठक्करबाट ओमबहादुर श्रेष्ठको दुःखद निधन भएको जनाएको छ ।

डेलिगेट ह्यारी भण्डारीले यस दुःखद घडीमा श्रेष्ठ परिवार र सम्पूर्ण नेपाली अमेरिकी समुदायमा हार्दिक समवेदना प्रकट गरेका छन् । श्रेष्ठ समुदायका प्रिय सदस्य रहेको उल्लेख गर्दै भण्डारीले आफ्नो कार्यालय श्रेष्ठको परिवारका साथमा रहेको बताएका छन् । घटनालगत्तै भण्डारीले शोकसन्तप्त परिवारको घरमा पुगेर समवेदना र सहानुभूति प्रकट गरेका थिए ।

श्रेष्ठका श्रीमती, चार छोरा, नौ नातिनातिना र छ पनातिपनातिना छन् । उनका तीन छोराहरू आफ्नो परिवारसँग पेरी हलमा बस्छन्। डेलिगेट भण्डारीको कार्यालयले अन्त्येष्टि प्रबन्धमा सहयोग गर्न र आवश्यक सहयोग प्रदान गर्न सक्रिय रूपमा काम गरिरहेको जनाएको छ।

श्रेष्ठको अन्त्येष्टि जुन ३ सोमबार १२०१ डन्डाल्क एभिन्युमा रहेको  फ्युनरल होममा गरिने भएको छ । अन्तिम बिदाईमा सहभागी हुन चाहनेहरुलाई विहान साढे ८ बजे उपस्थीत हुन सुचित गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com