न्युयोर्कवासीहरूले अब चाँडै नयाँ सार्वजनिक शौचालयहरू पाउने


प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार

न्युयोर्कवासीहरूले अब चाँडै नयाँ सार्वजनिक शौचालयहरू पाउने भएका छन् । न्युयोर्क सिटीका मेयर एरिक आडम्सले सोमबार सिटीका पार्कहरूमा शौचालयहरू निर्माण वा पुन निर्माण गर्न नयाँ पहल घोषणा गरेका हुन् ।

यो योजनाले आगामी पाँच वर्षभित्र ४६ वटा नयाँ शौचालय निर्माण र हाल रहेका ३६ वटा शौचालयको मर्मतसम्भार गर्नेछ। ब्रुकलिनमा २३, म्यानहट्टनमा २८, क्वीन्समा १४, स्टेटन आइल्याण्डमा ७ र ब्रोन्क्समा १० वटा शौचालय बनाउने योजना रहेको अधिकारीहरूले बताएका छन् ।

योजनाको एक भागको रूपमा मानिसहरूले न्युयोर्क सिटीमा शौचालयहरु सजिलैसँग फेला पार्न आफ्नो फोनमा गुगल म्याप प्रयोग गर्न सक्षम हुनेछन्। जसमा एमटीए, एनवाई पार्क, डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशन र पुस्तकालय प्रणालीहरूद्वारा सञ्चालित शौचालयहरू समावेश हुनेछन्।

सिटीलाई अझ बढी बस्न योग्य सिटी बनाउने एउटा भाग भनेको साना कुराहरू समाधान गर्नु भएको मेयर आडम्सले बताए । सिटीलाई बस्न योग्य बनाउने इन्डेक्समा सार्वजनिक शौचालयमा पहुँच उच्च रहेको उनले बताए ।

न्युयोर्क सिटीमा संचालित छन् ११०३ सार्वजनिक शौचालय

न्युयोर्क सिटीमा सार्वजनिक शौचालयहरु अपुग रहेको र मध्यरातपछि शौचालय जानमा समस्या रहेको गुनासाहरु नयाँ होइनन् । अधिकांश शौचालयहरु व्यवस्थापन वा सुरक्षाका कारण देखाउँदै साँझ वा मध्यरातपछि बन्द हुने भएकाले रातीको समयमा शौचालय प्रयोग गर्नमा समस्या रहेको छ । तर कतिपय व्यक्तिले सार्वजनिक शौचालयहरु कहाँकहाँ छन्, कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारीका अभावमा दिउसै समेत समस्या भोग्ने गरेका छन् ।

न्युयोर्क सिटीमा ११०३ सार्वजनिक शौचालयहरु प्रयोगमा रहेका छन् । यी शौचालयमा फोहोरको समस्या, लामो लाइन, बेलाबेलामा बन्द हुने समस्या भने नयाँ होइन । साढे ८ मिलियन जनसंख्या भएको र हरेक बर्ष ६३ मिलियनभन्दा धेरै पर्यटकहरु आउने न्युयोर्क सिटीमा भएका शौचालयहरु प्रयाप्त छैनन् भने २४ घण्टा खल्ने शौचालयहरु जम्मा २ वटामात्र हुँदा समस्या रहेको छ ।

न्युयोर्क सिटीमा १७ सयभन्दा धेरै पार्कहरु रहेका छन्, तीमध्ये ६६२ वटामा सार्वजनिक शौचालयहरु रहेका छन् । कम्फर्ट स्टेशन भनिने यी शौचालयहरु दिनभर खुल्ला हुन्छन् भने बेलुका बन्द हुन्छन् । सेन्ट्रल पार्कमामात्र १६ वटा सार्वजनिक शौचालयहरु रहेका छन् । यद्यपी पार्कमा रहेका २५ प्रतिशत शौचालयहरु भने प्रयोग गर्नका लागि टुटेफुटेका र फोहोर छन् ।

न्युयोर्क सिटीका बोरोहरुले चलाएका सार्वजनिक शौचालयहरुको सुची यहाँ हेर्नुहोला । तपाईले जिपकोडका आधारमा नजिकको शौचालय फेला पार्न सक्नुहुनेछ ।

त्यस्तै ४७२ ट्रेन स्टेशनहरुमध्ये ७८ वटामा सार्वजनिक शौचालयहरु रहेका छन् । यी शौचालयहरु दिउसोमात्र खुल्ने गर्छन् । प्राय शौचालयहरु विहान ५ बजेदेखि मध्यरातीसम्ममात्र खुल्ला हुने गर्छन् । ट्रेन स्टेशनमा रहेका शौचालयहरुमध्ये ३४ स्ट्रीट हडशन यार्ड, फुल्टन स्ट्रीट, अपर इस्ट साइडमा सेकेण्ड एभिन्युका स्टेशनहरु तुलनात्मक रुपमा सफा रहेका छन् । टाइम्स स्क्वायरको ४२ स्ट्रीटमा ट्रेन स्टेशनमा रहेको शौचालय १९९२ मा निर्माण गरिएको हो ।

yellow and black tissue roll

त्यस्तै ब्रोक्स, म्यानहटन, क्वीन्स र ब्रुकलिनमा ५ वटा अटोमेटिक सार्वजनिक शौचालय रहेका छन् । आफै सफा हुने यी शौचालयहरुमा सबैको पहुच रहेको छ । त्यस्तै न्युयोर्क सिटीका १४ वटा निजीरुपमा संचालित सार्वजनिक स्थलमा शौचालयहरु रहेका छन् । खासगरी म्यानहटनमा सार्वजनिक शौचालय प्रयोग गर्न चाहनेहरुका यी स्थानहरु उपयोगी रहेका छन् ।

त्यस्तै न्युयोर्क सिटीमा ८८ आउटडोर र १४ इन्डोर सार्वजनिक पौडी पोखरीहरु रहेका छन् । यी सबैमा सार्वजनिक शौचालयहरु रहेका छन् । यी शौचालयहरु हरेक दिन सफा गरिने र मर्मत गरिने गरिदै आएकाले सफा समेत रहेका छन् । न्युयोर्क सिटीमा रहेका ५ वटा ड्रमइन सेन्टरमा सार्वजनिक शौचालय रहेका छन् भने २ वटा चौबीसै घण्टा खुल्ला रहन्छन् । यी ड्रपइन सेन्टर होमलेसहरुलाई खाना, बाथरुम लगायतका सुविधा उपलब्ध गराउन खोलिएका हुन् ।

सार्वजनिक शौचालयहरु सहित बुक स्टोर, कफी शप, होटल, फास्ट फुड र अन्य क्षेत्रमा रहेका निर्वाध प्रयोग गर्न सकिने शौचालयको सुची हेर्न यहाँ क्लीक गर्नुहोला । जिपकोड हालेर वा आफ्नो लोकेशन अन गरेर नजिकको शौचालय फेला पार्न सक्नुहुनेछ ।

न्युयोर्क सिटीमा ३ वटा सार्वजनिक शौचालयहरु विजनेश इम्प्रुभमेन्ट डिस्ट्रिक्टबाट व्यवस्थापन गरिएका छन् । ब्रायण्ट पार्क, हेराल्ड स्क्वायर र ग्रिली स्क्वायर पार्कमा ती शौचालयहरु रहेका छन् । मेसिज मल अगाडि हेराल्ड स्क्वायरमा रहेको शौचालय निकै सफा र राम्रो रहेको छ । यद्यपी मेसिज मलको हरेक तलामा रहेको शौचालय प्रयोग गर्नमा कुनै समस्या छैन । तर त्यहाँ जान नचाहनेहरुले यो शौचालय प्रयोग गर्न सक्छन् ।

यी बाहेकका न्युयोर्कका लाइब्रेरीहरुमा पनि सार्वजनिक शौचालयहरु रहेका छन् । क्वीन्स लाइब्रेरीहरु र म्यानहटनमा रहेको न्युयोर्क पब्लिक लाइब्रेरीको मुख्य शाखामा रहेका ट्वाइलेहरु निर्वाध प्रयोग गर्न सकिन्छ । न्युयोर्क पब्लिक लाइब्रेरी विहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहन्छ भने अन्य लाइब्रेरीहरु पनि दिउसोमा खुल्ला नै रहन्छन् ।

त्यस्तै न्युयोर्कको ग्राण्ड सेन्ट्रल स्टेशनमा रहेको शौचालय पनि निकै चर्चित छ । शौचालहरु सबैभन्दा तल्लो तलामा रहेका छन् भने अत्यन्तै सफा समेत रहेका छन् । त्यस्तै टाइम्स स्क्वायर क्षेत्रमा रहेको किम्पटन होटल र हेराल्ड स्क्वायर क्षेत्रमा रहेको स्टानफोर्ड होटलमा रहेको शौचालय प्रयोग गर्नमा पनि कुनै समस्या छैन । बु्रकलिन ब्रिज क्षेत्रमा बु्रकलिन रोष्टिंग कम्पनी र बु्रकलिन ब्रिज पार्क वातावरण तथा शैक्षिक भवनमा रहेको शौचालय पनि सहजै प्रयोग गर्न सकिन्छ ।

स्टारबक्स लगायतका क्याफेहरुमा पनि शौचालय प्रयोग गर्न सकिन्छ । स्टारबक्सले ग्राहकलाईमात्र नभई सबैका लागि शौचालय प्रयोग गर्न दिने नीति ल्याएकाले यी शौचालय प्रयोग गर्नमा कुनै समस्या छैन । न्युयोर्क सिटीका हरेक क्षेत्रमा स्टारबक्स क्याफे रहेकाले त्यहाँ गएर शौचालय प्रयोग गर्न सकिन्छ । होल फुडहरु, चेल्सी मार्केट, बेड बाथ एण्ड बियोण्डमा पनि शौचालय प्रयोग गर्न सकिन्छ । सपिङ्ग मलहरुमा पनि सफा शौचालयहरु हुने भएकाले त्यहाँ गएर शौचालयहरु प्रयोग गर्न सकिन्छ ।

म्याकडोनाल्ड, टाको बेल, चिपोट्लेदेखि ब्रान्स एण्ड नोबल बुक स्टोरहरुमा समेत शौचालय प्रयोग गर्न सकिन्छ । एप्पल स्टोरहरुमा पनि शौचालयहरु रहेका हुन्छन् । त्यस्तै आपत परेको खण्डमा प्रहरी कार्यालयमा गएर पनि तपाईले शौचालय प्रयोगका लागि अनुरोध गर्न सक्नुहुनेछ । वल्र्ड ट्रेड सेन्टरको ओकुलसमा पनि शौचालय प्रयोग गर्न सकिन्छ । त्यहाँ चौथो तलामा रहेको इटाली नजिकैको सफा शौचालय प्रयोग गर्न सकिनेछ ।

ब्याट्री पार्कमा रहेको फेरी टर्मिनलमा पनि सफा शौचालय रहेको छ । स्टटेन आइल्याण्ड जाने फेरी लाग्ने भवनमा उक्त शौचालय रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com