न्युयोर्कको म्यानहटन प्रवेश गर्ने गाडीलाई १५ डलर शुल्क जुन ३० देखि लागु नहुने


प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार

vehicles on road at night

न्युयोर्क सिटीको म्यानहटन प्रवेश गर्ने गाडीलाई १५ डलर शुल्क लिने नियम जुन ३० देखि लागु नहुने भएको छ । यो शुल्क कार्यान्वयन अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको छ । जसका कारण मूल योजना अनुसार जुन ३० मा सुरु नहुने भएको हो ।

म्यानहट्टनका व्यवसायहरू महामारीबाट पूर्ण रूपमा पहिलेकै अवस्थामा फर्कन नसकेको गभर्नर क्याथी होकुलको ठहर रहेको तथा डेमोक्र्याटहरूले प्रतिनिधिसभा सदस्यका लागि न्युयोर्क सिटीका उपनगरहरूमा कठिन चुनौतिको सामना गरिरहदा रिपब्लिकनहरूले यो विषयलाई राजनीतिक ईस्युका रूपमा प्रयोग गर्ने योजना बनाएकाले यसको कार्यान्वयन अनिश्चितकालका लागि रोक लगाइएको हो ।

नयाँ शुल्क लागु भएमा ६० स्ट्रीट र त्योभन्दा तल म्यानहटनमा प्रवेश गर्न प्राय सवारी साधनहरूले १५ डलर टोल शुल्क तिनुपर्ने छ । यो कार्यक्रमले एमटीएको सबवे, बस र यात्रु रेलहरूको सञ्जाललाई आधुनिकीकरण गर्न प्रति वर्ष अनुमानित १ बिलियन डलर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

न्युयोर्क सिटीका सडकहरूमा भींड कम गर्न, पैदल यात्रुहरूको सुरक्षा बढाउन, ट्राफिक हिंसा कम गर्न, हावामा सुधार गर्न यो शुल्कको आवश्यकता रहेको यसका पक्षधरहरुले बताएका छन् । मूल्य निर्धारण संरचनामा १५ डलरको न्यूनतम टोल समावेश छ । स्कूल बसहरू, यात्रु बसहरू र केही सरकारी सवारीहरूको लागि छुट दिइनेछ । ट्रकहरूलाई तिनीहरूको प्रकारको आधारमा २४ वा ३६ डलर चार्ज गरिनेछ।

न्युयोर्क सिटीमा यात्रा गर्ने न्युजर्सीका ड्राइभरहरूका लागि यो योजनाले म्यानहटनमा पुग्नको लागि क्रसिङहरूमा तिर्ने शुल्कहरूका अतिरिक्त शुल्क थप्नेछ । यद्यपी यो कार्यक्रमले अझै पनि कानुनी चुनौतिहरुको भने सामना गरिरहेको छ । तर लागु भएमा न्युयोर्कवासीहरूले एकदमै फरक म्यानहट्टन देख्नसक्नेछन् ।

टोल शुल्क समावेश भएको क्षेत्र अमेरिकाकै सबैभन्दा धेरै भींड हुने क्षेत्र हो, जहाँको जाममा न्युयोर्कबासीहरुले बर्षमा ११७ घण्टा बिताउने गर्छन् भने औषत ट्राफिक स्पीड ७ माइल प्रतिघण्टामात्र हुनेगर्छ । कार्यक्रम सुरु भएपछि यो क्षेत्रमा हरेक दिन एकलाख कम गाडीहरु प्रवेश गर्ने अपेक्षा गरिएको छ । यस्ता कार्यक्रमहरु लण्डन, सिंगापुर र स्टकहोममा पनि रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com