विनाभिसा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीलाई नयाँ नियम अन्तरगत फिर्ता पठाउन सुरु


प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार

अमेरिकी सिमा सुरक्षा एजेन्टहरूले राष्ट्रपति बाइडेनको कार्यकारी आदेश अन्तर्गत मेक्सिकोकोबाट विनाभिसा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूलाई फिर्ता पठाउन सुरु गरेका छन् । बाइडेनले सिमाक्षेत्रमा एसाइलम खोज्नेहरुलाई कडाई गर्न नयाँ नीतिको घोषणा गरे लगत्तै सिमाक्षेत्रमा आएकाहरुलाई फर्काउन थालिएको हो ।

राष्ट्रपतिले सीमामा आपतकालिन अवस्था घोषणा गरेको एक दिन पछि मेक्सिकोबाट अवैध रूपमा प्रवेश गरेका आप्रवासीहरूलाई फिर्ता गरिएको हो । बाइडेन प्रशासनले तोकेका आधारभूत नियमहरू अन्तर्गत उनीहरुलाई फिर्ता गरिएको हो । तर कति आप्रवासीहरू फर्काइयो भन्नेबारे केही बताइएको छैन ।

बाइडेनको नयाँ नियमले विनाभिसा सिमा पार गर्नेहरुको संख्या औषतमा १५ सयभन्दा माथि भएपछि सिमाक्षेत्रमा एसाइलममा प्रतिबन्ध लगाउँछ । यो प्रतिबन्धले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूमा प्रतिबन्धको प्रभाव कुन स्तरमा पार्छ भनेर अहिले नै मापन गर्न भने मुस्किल रहेको छ ।

बाइडेन प्रशासनले कार्यकारी आदेशका नयाँ प्रतिबन्धहरू लागु गर्ने प्रयास प्रारम्भिक हप्ताहरूमा बढाउने भएको छ । गैरकानूनी क्रसिङहरू हटाउन देशनिकालाको उपाय महत्त्वपूर्ण रहेको अधिकारीहरुले बताएका छन् ।

आप्रवासीहरू रियो ग्रान्देको किनार हुँदै अमेरिका पुग्छन् । (फोटो: अल्फ्रेडो एस्ट्रेला / एएफपी)

बाइडेन प्रशासनले नयाँ उपायहरू अन्तर्गत आप्रवासीहरूलाई उनीहरुका देशमा फर्काउने संख्या बढाउनको लागि देशनिकालाका उडानहरूमा छोटो अवधिको बृद्धिको तालिका भने बनाएको छैन । अधिकारीहरूले देशनिकाला वा मेक्सिको फिर्ता गर्ने आप्रवासीहरुको संख्या एक दशकमा उच्चतम स्तरमा बढाएको बताएका छन् । उनीहरुले आगामी हप्ताहरूमा उडानहरू बढाउने योजना बनाएका छन्।

आइसले हरेक दिन लगभग पाँच देखि सातवटा देशनिकालाका उडानहरु सञ्चालन गर्दै आएको छ । मुख्य रूपमा मध्य अमेरिका र पश्चिमी गोलार्धका अन्य राष्ट्रहरूमा देशनिकालाका लागि यी उडानहरु संचालित छन् । ती उडानहरूले सामान्यतया लगभग १०० देखि १२० जना निर्वासितहरू बोक्छन्। उडानहरूलाई तिनीहरूको लागतको अतिरिक्त महत्त्वपूर्ण योजना र समन्वय आवश्यक पर्दछ।

बाइडेन प्रशासनले उडानका अतिरिक्त मेक्सिकोसँगको स्थल सीमामार्फत थप आप्रवासीहरूलाई फिर्ता पठाउने प्रयास गर्नेछ। मेक्सिकोका अधिकारीहरूले मध्य अमेरिकीहरू, क्युबालीहरू, हाइटियनहरू र भेनेजुएलाका नागरिकहरुलाईमात्र फिर्ता लैजाने सिमितता कायम गरेकाले अरु देशका नागरिकहरुलाई उडानमार्फत पठाउनुपर्छ ।

मेक्सिकोले नेपाल, चीन, भारत, अफ्रिकाका राष्ट्रहरू र विश्वका अन्य ठाउँहरूबाट अमेरिका प्रवेश गरेका आप्रवासीहरूलाई फिर्ता लिदैन । ती देशका नागरिकहरुलाई शरण लिन अयोग्य सावित गर्दा पनि नयाँ प्रतिबन्धहरूले उनीहरुलाई द्रुत निर्वासन गर्न सक्दैन । किनभने उनीहरुलाई उडानमार्फत फरक प्रकृया अपनाएर देशनिकाला गर्नुपर्ने हुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com