यसकारण भत्काइने छ न्युयोर्कमा भारत र पाकिस्तानबीचको खेल भएको ३४ हजार सिटे रंगशाला


प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार

न्युयोर्कमा आइतबार भएको टी २० विश्वकप अन्तरगत भारत र पाकिस्तानबीचको खेल यो सप्ताहन्तको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो । आइतबार अमेरिकाले विश्वमा सबैभन्दा धेरै हेरिएको मध्येको खेलकुद प्रतियोगिताको पहिलोपटक आयोजना गरेको हो । भूराजनीतिक तनाव भएका दुई देशका क्रिकेट टिमको यो खेल ४ सय मिलियन भन्दा बढी मानिसहरूले हेरेको जनाइएको छ । जबकी सान फ्रान्सिस्कोमा फेब्रुअरीमा भएको सुपर बाउलको फाइनल खेल जम्मा १२५ मिलियन दर्शकले हेरेका थिए ।

यस स्केलको क्रिकेट प्रतियोगिता आयोजना गर्न अमेरिकासँग अनुभव वा ज्ञान थिएन । गत वर्ष नोभेम्बर १७ मा मात्रै आईसीसीले न्युयोर्कको लङ आइल्याण्ड नासा काउन्टीसँग न्युयोर्कमा रंगशाला निर्माण गर्न र भारतका तीन खेलसहित आठ विश्वकप खेलहरू आयोजना गर्ने सम्झौतालाई अन्तिम रूप दिएको थियो। लङ आइल्याण्डको आइसेनहोवर पार्कमा रंगशाला निर्माण गर्ने निर्णय गरियो, जुन ९ सय एकड भन्दा बढी क्षेत्रमा फैलिएको छ ।

३४ हजार सिट भएको यो रंगशालाका लागि जनवरी ८ मा काम सुरु भयो भने फेब्रुअरी १८ बाटमात्र निर्माण सुरु गरिएको थियो, जतिबेला क्रिकेट प्रतियोगिता हुन १ सय ५ दिनमात्र बाँकी थियो । आइसेनहोवर पार्कले अप्रिलमामात्र अष्ट्रेलियामा बनाइयो मैदान ड्रप इन पिच प्राप्त गरेको थियो । १० वटा पिचहरू २२ वटा ट्रकहरूले फ्लोरिडाबाट न्युयोर्कमा २ दिन लगाएर ढुवानी गरेका थिए ।

त्यसपछि यो मैदानमा ५ वटा खेलहरु भइसकेका छन् । जसमध्ये जुन ३ मा श्रीलंका र साउथ अफ्रिकाबीचको खेल साउथ अफ्रिकाले जितेको थियो भने जुन ५ मा आयरल्याण्ड र भारतबीचको खेलमा भारतले जितेको थियो । ७ जुनमा क्यानडा र आयरल्याण्डबीचको खेलमा क्यानडाले जित्यो भने ८ जुनमा नेदरल्याण्डस र साउथ अफ्रिकाबीचको खेलमा साउथ अफ्रिकाले जित्यो ।

९ जुनमा भारत र पाकिस्तानबीचको खेल भारतले जितेको छ । अब १० जुनमा साउथ अफ्रिका र बंगालादेशबीचको खेल यही रंगशालामा हुनेछ भने ११ जुनमा पाकिस्तान र क्यानडाबीचको खेल हुनेछ । त्यस्तै १२ जुनमा अमेरिका र भारतबीचको खेल भइसकेपछि यो रंगशाला भत्काइनेछ । ९ जुनको भारत र पाकिस्तानबीचको खेलका लागि टिकटहरू फेब्रुअरीको सुरुदेखि उपलब्ध गराइएको थियो भने सिट चाहनेहरूको संख्या रंगाशालाको क्षमताभन्दा २ सय गुणा बढी रहेको थियो । जसका कारण टिकटको मूल्य उच्च भयो । वेवसाइटहरुमा ६ सय देखि १२ सय डलरसम्मका टिकट बेचिएको थियो भने भीआईपी टिकटको मूल्य ५० हजार डलरसम्म रहेको थियो ।

दुई देशबीचको अन्तिम टेस्ट खेल सन् २००७ को डिसेम्बरमा भएको थियो, तर पाकिस्तान र भारतले अन्तिम पटक एक वर्षभन्दा कम समयअघि सन् २०२३ को अक्टोबरमा भएको ५० ओभरको विश्वकपको समूह चरणमा एकअर्काविरुद्ध खेलेका थिए। यो खेल भारतमा आयोजना भएको थियो । यो खेल हेर्न अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा १ लाख ३२ हजारको भींड लागेको थियो ।

बेलायती शासनको दशकपछि सन् १९४० को दशकमा भारत र पाकिस्तान स्वतन्त्र राष्ट्र बने । त्यसपछि उनीहरू एकअर्काविरुद्ध चारवटा युद्धमा संलग्न भएका छन्। पहिलो युद्ध १९४७ मा भएको थियो, जसमा तीनवटा थप युद्धहरु ६०, ७० र ९० को दशकमा भए । त्यसपछि दुईदेशबीचको सम्बन्धमा केही सुधार आएजस्तो देखिएपनि सन् २००८ देखि दुईदेशबीचको सम्बन्धमा चिसोपन कायम रहेको छ । यही राजनीतिक पृष्ठभूमिका कारण पनि दुईदेशबीचको खेलप्रति दर्शकको रुची अझ तीब्र रहेको छ ।

पछिल्लो पटक भारत र पाकिस्तान सन् २०२३ को अक्टोबरमा भएको ५० ओभरको विश्वकपको समूह चरणमा एकअर्काविरुद्ध खेल्दा भारतमा मात्र उक्त खेल ३२३ मिलियन दर्शकहरुले हेरेका थिए । जुन अमेरिकामा पछिल्लो सुपर बाउलको दर्शकको संख्याको तुलनामा दोब्बर भन्दा बढी थियो। भारतको ठूलो जनसंख्याका कारण क्रिकेट संसारमा दोस्रो सबैभन्दा लोकप्रिय खेल बनेको छ। जसका एक अर्ब भन्दा बढी प्रशंसकहरू छन् । आईसीसीको अनुसन्धान अनुशार भारतका मात्र समर्थकहरूको कुल संख्याको ९० प्रतिशत रहेको छ । र, सबैभन्दा बढी हेरिएको खेल भारत र पाकिस्तानबीचको नै हो ।

यही खेललाई मध्यनजर गरेर झण्डै १ सय दिनमा तयार पारिएको रंगशालामा खेल मैदान फ्लोरिडामा उब्जाइएको विशेष घाँसबाट बनाइएको थियो। ग्रान्डस्ट्यान्डहरू हालसालै लस भेगासको फर्मुला १ दौड र व्यावसायिक गल्फ कार्यक्रमहरूमा प्रयोग गरिएका सामग्रीहरू हुन्। जुन १२ मा ईस्ट मेडोमा अन्तिम खेल सम्पन्न भएपछि, स्टेडियम भत्काइनेछ, र त्यसका भागहरू लस भेगास र अर्को गल्फ कार्यक्रममा फिर्ता पठाइनेछ । लङ आइल्याण्डको आइसेनहोवर पार्क सामान्य अवस्थामा फर्किनेछ । यो रंगशाला यही खेलका लागिमात्र अस्थायीरुपमा बनाइएकाले खेल समाप्त भएपछि भत्काइनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com