बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द


प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार

आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले श्रीलङ्कासँग खेल्ने विश्वकपको दोस्रो खेल सनसाइन स्टेट भनेर चिनिने अमेरिकाको फ्लोरिडामा लगातार बर्षाका कारण रद्द भएको छ ।  स्थानीय समय अनुशार बेलुका साढे ७ बजे सुरु हुने खेल बर्षाका कारण अन्यौलमा थियो । खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक–एक अंक जोड्नेछन् ।

साढे ८ बजे पिच निरीक्षण सुरु भए लगत्तै पानी पर्न थालेपछि खेल रद्द गर्ने निर्णय गरिएको हो ।  समूह चरणको आफनो दोस्रो खेलमा नेपालले आज टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्ने तय भएको थियो । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा खेल हेर्न नेपाली दर्शकहरुको भीड लागेपनि बर्षाका कारण खेल रद्द भएपछि दर्शकहरुमा निराशा छाएको छ ।

खेल हेर्न फ्लोरिडा पुगेका नेपाली टोलीका समर्थकहरु । फोटो: अमित अभय अधिकारी

आज सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका थिए । उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो ।

बर्षा रोकिने आशामा आकाशतिर हेर्दै नेपाली टोलीका समर्थकहरु । फोटो : अमित अभय अधिकारी

नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब थियो । विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ ।

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता श्रीलङ्काको दक्षिण अफ्रिकासँग छ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो । विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो । जसमा नेपाल क्यानडासँग पराजित भएको थियो ।

फ्लोरिडामै श्रीलङ्काले भने दुई अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलङ्काले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो । विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com