न्युयोर्क सिटीले यसबर्षको पहिलो गर्मी लहर सामना गर्दै, मंगलबार तापक्रम ९० डिग्री नाघ्ने
प्रकाशित मिति : असार १, २०८१ शनिबार
न्युयोर्कमा आधिकारिक रुपमा समर सिजन बिहिबार जुन २० देखि सुरु हुनेछ । तर त्यसको २ दिन अगाडि नै न्युयोर्क सिटीले यसबर्षको पहिलो गर्मीको लहर सामना गर्नेछ । मंगलबार न्युयोर्क सिटीको तापक्रम ९० डिग्री नाघ्ने अनुमान गरिएको छ ।
बिहीबार समरको पहिलो दिन तापक्रम ९२ डिग्री फरेनहाइट पुग्ने अनुमान गरिएको छ । तापक्रम शुक्रबार ९४ डिग्री फरेनहाइट र शनिबार ९६ डिग्री फरेनहाइट पुग्ने अनुमान गरिएको छ । यो सेप्टेम्बर पछि पहिलो उच्च तापक्रमका रुपमा रेकर्ड हुनेछ ।
न्युयोर्क सिटीमा तापक्रम १०० डिग्री फरेनहाइट अनुभव हुनेछ भने आद्र पनि हुनेछ। यद्यपी आधिकारिक रूपमा न्युयोर्क सिटीमा १ सय डिग्री तापक्रम नपुगेपनि नजिकैका क्षेत्रहरूमा भने पुग्ने अनुमान गरिएको छ ।
नेवार्क, फिलाडेल्फिया, हार्टफोर्ड, कनेक्टिकट र पश्चिम तर्फ ओहायो र मिशिगनमा सोमबार रेकर्ड उच्च हुने अपेक्षा गरिएको छ । गर्मीको लहरले पूर्वी अमेरिका र पूर्वी क्यानडाका भागहरूमा कम्तिमा १३५ मिलियन मानिसहरूलाई प्रभाव पार्ने जनाइएको छ ।
बिहीबार न्यूयोर्क क्षेत्रले चौथो स्तरको तातो तापक्रमको जोखिम सामना गर्ने अपेक्षा गरिएको छ । गभर्नर क्याथी होकुलले न्युयोर्कबासीहरुलाई सुरक्षित रहन सक्दो सावधानी अपनाउन चेतावनी दिएकी छिन् ।