बाइडेनबाट नयाँ योजना घोषणा, ५ लाख कागजपत्रविहिनले अन्ततः अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने


प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार एक व्यापक नयाँ नीति घोषणा गरेका छन् जसले ५ लाख कागजपत्रविहिनलाई अन्ततः अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने बाटोमा लैजानेछ । यो कार्यक्रमले कानुनी हैसियत नभएका अमेरिकी नागरिकका केही दम्पत्तिहरूलाई स्थायी बसोबास र अन्ततः नागरिकताको लागि आवेदन दिन अनुमति दिनेछ।

योग्य हुनको लागि आप्रवासीले सन् २०२४ को जुन १७ अगाडि १० वर्षसम्म अमेरिकामा बसेको र अमेरिकी नागरिकसँग विवाह गरेको हुनुपर्छ। यदि योग्य आप्रवासीको आवेदन स्वीकृत भएमा अमेरिका नछाडिकनै ग्रीन कार्डको लागि आवेदन दिन र अस्थायी वर्क परमिट प्राप्त गर्न तीन वर्षको समय पाउनेछ । साथै यस बीचमा देशनिकालाबाट पनि जोगिनेछ ।

अमेरिकी नागरिकसँग विवाह गरेको अभिभावकका करिब ५० हजार गैरनागरिक बच्चाहरू पनि सम्भावित रूपमा सोही प्रक्रियाको लागि योग्य हुन सक्नेछन् । दम्पतीले कति समयदेखि विवाह गरेको हुनुपर्छ भन्ने कुनै आवश्यकता छैन । साथै जुन १७ पछि विवाह गर्नेहरु कोही पनि योग्य हुँदैन। जुन १७ पछि अमेरिकामा बसोबास गरेको १० वर्ष पुग्नेहरु पनि योग्य हुनेछैनन् ।

 

समरको अन्त्यसम्म आवेदनहरूको लागि खुला हुनेछ भने आवेदन शुल्कहरू निर्धारण गर्न बाँकी छ। बाइडेनले दम्पत्तिहरुका लागि गरेको मंगलबारको घोषणा एकदमै नयाँ प्रकारको भने होइन । यस्तै नीति राष्ट्रपतिहरू जर्ज डब्लु बुश र बराक ओबामाले पनि सैन्य सदस्यहरूको परिवारका सदस्यहरूलाई सुविधा दिन प्रयोग गरेका थिए ।

आजको राष्ट्रपति बाइडेनको घोषणाले अमेरिकी नागरिकका गैरनागरिक दम्पत्ति र बच्चाहरूलाई आफ्नो परिवार सँगै राख्न सुनिश्चित गर्ने ह्वाइटहाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले गैरकानूनी रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई शरण खोज्नबाट प्रतिबन्ध लगाउने कार्यकारी आदेश घोषणा गरेपछि यो कदम आएको हो । जसमा सीमा एजेन्टहरूले सामना गर्ने संख्या दैनिक औसत २५ सय भन्दा बढी भएमा सिमानाका बन्द गर्न सकिने प्रावधान छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार वर्षौंदेखि औसत दैनिक अवैध क्रसिङले त्यो सीमा नाघेको छ, डिसेम्बरमा यो संख्या दैनिक ८,००० को हाराहारीमा थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com