नेपाली राहदानी नविकरणका लागि लस एन्जलसमा घुम्ती शिविर हुने, यसरी लिऔं अप्वाइन्टमेन्ट


प्रकाशित मिति : असार ८, २०८१ शनिबार

अमेरिकामा रहेको नेपाली दूतावासले जुलाई ९ देखि १३ सम्म क्यालिफोर्नियाको लस एन्जलसमा कन्सुलर सेवा घुम्ती शिविर संचालन गर्ने भएको छ । उक्त शिविर पशुपतिनाथ बुद्ध मन्दिरमा बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म संचालन गरिने जनाइएको छ । दिउसो १ बजेदेखि २ बजेसम्म भने लन्च ब्रेक हुनेछ ।

उक्त शिविरमा विद्युतीय राहदानी नविकरणका लागि आवेदन दिन चाहनेहरुले पहिले आफ्नो मोबाइल वा ल्यापटपको टाइमजोन काठमाडौं नेपाल छनौट गर्नुपर्नेछ । त्यसपछि अप्वाइन्टमेन्ट लिने वेवसाइटमा गएर राहदानीका लागि आवेदनमा क्लीक गर्नुपर्छ । त्यसपछि नविकरण गर्न वा अर्को प्राप्त गर्न चाहनेहरुले नविकरणमा क्लीक गर्नुपर्छ भने हातले लेखेको राहदानी नवीकरणको लागि पहिलोपटक आवेदनमा क्लीक गर्नपर्छ ।

त्यसपछि लस एञ्जलस् घुम्ती शिविरका लागि मात्र उपलब्ध गराइएको जुलाई ४ को अप्वाइन्टमेन्ट छनौट गरी सबै विवरण भरेर बारकोडसहितको पीडीएफ फारम डाउनलोड गर्नुपर्छ । उक्त बारकोडसहितको फारामको स्क्यान गरिएको पीडीएफ प्रति, राहदानी र नागरिकताको फोटोकपी इमेलमा अट्याच गरी जुलाई ३ अगावै प्रमाणिकरणका लागि आफ्नो मोबाइल नम्बर समेत उल्लेख गरी दूतावासको इमेलमा पठाउनु पर्नेछ।

फाराम प्रमाणिकरण नगरी निवेदकले भरेको विवरणहरु निकाल्न नसकिने र सो नभई बायोमेट्रिक लिन नसकिने भएकोले फारामलाई प्रमाणिकरणको लागि अनिवार्य रुपमा जुलाई ३ भित्र दूतावासमा इमेल ([email protected]) गर्न सुझाव दिइएको छ । अन्यथाः शिविरबाट सेवा प्राप्त गर्न नसकिने दूतावासले जनाएको छ ।

घुम्ती राहदानी शिविरमा सेवा लिन आउने मिति र समय स्थानीय संयोजकले इमेल वा टेलिफोनमार्फत् उपलब्ध गराउने जनाइएको छ। आवेदकलाई शिविरमा आउँदा सक्कल नागरिकता र सोको प्रतिलिपि, नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकताको प्रतिलिपि, सक्कल राहदानी र सोको प्रतिलिपि, बायोमेट्रिकका लागि रीतपूर्वक अनलाईन फाराम भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति र राहदानी दस्तुर सहित आउन सुझाव दिइएको छ ।

राहदानी दस्तुर ३४ पेजको पासपोर्ट नविकरणका लागि डेबिट कार्डबाट १५३ डलर र क्रेडिट कार्डबाट १५० डलरमा ३ प्रतिशत थपेर लिइनेछ । त्यस्तै १० बर्षभन्दा कम उमेरका बच्चाको पासपोर्टका लागि डेबिट कार्डबाट ७६ डलर ७५ सेन्टस र क्रेडिट कार्डबाट ७५ डलरमा ३ प्रतिशत थपेर लिइनेछ । हराएको र क्षति भएको पासपोर्टका सन्दर्भमा शुल्क डेबिट कार्डबाट ३०६ डलर र क्रेडिट कार्डबाट ३ सय डलरमा ३ प्रतिशत थपेर लिइनेछ । १० बर्षभन्दा कम उमेरका बच्चाको हराएको र क्षति भएको पासपोर्टका सन्दर्भमा शुल्क डेबिट कार्डबाट १५३ डलर र क्रेडिट कार्डबाट १ सय ५० डलरमा ३ प्रतिशत थपेर लिइनेछ । राहदानी दस्तुर डेबिट कार्ड वा क्रेडिट कार्डबाट मात्रै भुक्तानी गर्न सकिनेछ।

नयाँ राहदानी प्रिण्ट भई राजदूतावासले राहदानी विभागबाट प्राप्त गरिसकेपछि सम्बन्धित आवेदकको ठेगानामा पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम पनि साथमा ल्याउनुपर्नेछ । थप जानकारी आवश्यक भएमा अवैतनिक महावाणिज्यदूत ऋषि ढकाललाई ६२६ ३२० २४३७ मा सम्पर्क गर्न सकिनेछ वा वासिंटन डिसीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सकिनेछ ।

जुलाई ४ का दिन राहदानी सेवाका लागि खोलिएका अप्वाइन्टमेन्ट स्लटहरु क्यालिफोर्नियाको लस एन्जलसमा जुलाई ९ देखि १३ सम्म आयोजना हुने घुम्ती शिविरका लागि मात्र खोलिएको दूतावासले प्रष्ट पारेको छ । जुलाई ४ का दिन दूतावास बन्द हुने भएकाले दूतावासबाटै सेवा लिन चाहने सेवाग्राहीहरुले उल्लेखित मितिको अप्वाइन्टमेन्ट नलिन अनुरोध गरिएको छ।अन्यथा उक्त मितिको अप्वाइन्टमेन्ट लिई आएमा वासिंटन डिसीमा रहेको दूतावासबाट सेवा प्रदान गर्न नसकिने पनि दूतावासले जनाएको छ ।

लामो समयदेखि क्यालिफोर्निया क्षेत्रमा कन्सुलर सेवा घुम्ती शिविर संचालन नहुँदा त्यसक्षेत्रका नेपालीहरु समस्यामा परिरहेका बखत यो कन्सुलर सेवा घुम्ती शिविर संचालन गर्न लागिएको हो । वासिंटन डिसीमा आउन खर्चिलो र धेरै दिन लाग्ने भएकाले त्यस क्षेत्रका एकहजारभन्दा धेरैले राहदानी नविकरण गर्न सकेका थिएनन् । अर्थात् एकहजार भन्दा बढी नेपालीहरु उक्त क्षेत्रमा राहदानी नविकरण पर्खिएर बसेका छन् ।

यसबारे राजदूत र दूतावासमा कुरा गर्दा विगतमा गर्दै आएको अस्थायी कन्सुलर सेवाको कार्यक्रमलाई निरन्तरता दिने बचनबद्धता आएको अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले हालै खसोखाससँगको कुराकानीमा बताएका थिए । सेबाग्राहीहरु कति स्वास्थ्यको कारणले, कति वृद्ध, कति बालबालिका र अशक्त अवस्थाका मानिसहरु भएकाले वासिंटन डिसीसम्म यात्रा गर्न सक्ने अवस्था नरहेको हरेक दिन दश पन्ध्र फोनकलहरु पासपोर्ट नविकरणबारे नै आउने गरेको ढकालले बताएका थिए ।

कतिपय अवस्थामा राहदानीको म्याद सकिन ६ महिनाभन्दा बढी रहेका उक्त क्षेत्रका ग्रिन कार्ड होल्डरहरु वासिंटन डिसी जानभन्दा नेपाल जान नै सस्तो र सहज पर्ने भएकाले नेपालमै गएर समेत नविकरण गर्दै समेत आएका छन् । डिसी भन्दा ६ घण्टाको फ्लाइटमा पश्चिमी क्षेत्रका बस्ने नेपालीहरुलाई वासिंटन डिसी ट्राभल गर्नुपर्ने, त्यहाँ गएर एकरात बस्नुपर्ने र भोली पल्ट फर्किनुपर्ने भएकाले यो खर्चको हिसाबले एकदमै महंगो हुने गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com