ब्राजिलमा काटियो ६५ सयभन्दा बढीको लिङ्ग, यस्तो छ कारण


प्रकाशित मिति : असार १०, २०८१ सोमबार

man in white dress shirt wearing white goggles

ब्राजिलमा एकदशकमा ६५ सयभन्दा बढीको लिङ्ग काटिएको छ । लिङ्गको क्यान्सरका कारण उनीहरुको लिङ्गछेदन गर्नुपरेको हो । लिङ्गको क्यान्सर दुर्लभ भएपनि यस्ता घटनाहरू र मृत्यु दर विश्वभर बढिरहेको पछिल्लो तथ्यांकले देखाएको छ ।

पछिल्लो अध्ययन अनुसार ब्राजिलमा १ लाख पुरुषहरुमध्ये झण्डै २ जनामा लिङ्गको क्यान्सर देखिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार २०१२ देखि २०२२ को बीचमा मात्र २१ हजार लिङ्गको क्यान्सरका घटनाहरू रिपोर्ट गरिएका थिए।

यो अवधिमा लिङ्गको क्यान्सरका कारण ४ हजारभन्दा बढीको मृत्यु भएको छ भने सोही दशकमा ब्राजिलमा ६५ सयभन्दा बढीको लिङ्ग काट्नुपरेको छ । प्रत्येक दिन औसतमा दुईजनाको लिङ्ग काट्नुपरेको स्वास्थ्य मन्त्रालयको रिपोर्टले देखाएको छ ।

ब्राजिलको सबैभन्दा गरिब राज्य मारान्होमा हरेक १ लाख पुरुषमध्ये कम्तीमा लिङ्गको क्यान्सर देखिएको छ । जुन विश्वव्यापी रूपमा नै सबैभन्दा उच्च दर हो । लिङ्गको क्यान्सरका लक्षणहरूमा प्रायः लिंगमा घाउ निको नहुने र कडा गन्ध आउनेबाट सुरु हुन्छ। कतिपयलाई रगत बग्ने र लिङ्गको रङ पनि परिवर्तन हुने लक्षण समेत देखिन्छ ।

सुरुकै चरणमा पत्ता लागेमा केही भाग अपरेशन गरेर हटाउने, रेडियोथेरापी र केमोथेरापी जस्ता उपचारहरू मार्फत निको हुने उच्च सम्भावना हुन्छ। तर यदि उपचार नगरी छाडियो भने लिङ्गको आंशिक वा पूर्ण विच्छेदन गर्नुपर्ने अवस्था आउँछ । कतिपयको अन्य नजिकका जननांग अंगहरू जस्तै अण्डकोष समेत काट्न आवश्यक हुन सक्छ।

आंशिक छेदन गर्दा लिंगबाट पिसाब गर्न सकिन्छ । तर पूर्णरुपमा काटिएको अवस्थामाा भने मूत्रमार्गको छिद्र पेरिनियममा सार्न सकिन्छ, जुन अण्डकोष र मलद्वारको बीचमा हुन्छ । बिरामीले शौचालयमा बस्दा पिसाब फेर्न सक्छन् ।

मानव प्यापिलोमाभाइरस एचपीभीको लगातार संक्रमण एउटा मुख्य जोखिम रहेको चिकित्सकहरुको भनाई छ । एचपीभी यौनसम्पर्कको बेला सर्छ र कतिपय अवस्थामा यसले मुख र लिंगमा समेत क्यान्सर निम्त्याउन सक्छ।

एचभीपी विरुद्ध सामूहिक खोप आवश्यक भएको चिकित्सकहरु बताउँछन् । तर ब्राजिलमा यसको खोप दरहरू वास्तवमै कम स्तरमा रहेका छन् । ब्राजिलमा यो खोपको उपलब्धताको बाबजुद पनि खोपको दर केटीहरूको लागि ५७ प्रतिशत र केटाहरुको लागि ४० प्रतिशतमात्र रहेको छ । तर संक्रमण रोक्नका लागि ९० प्रतिशत दरमा खोप लगाउनु आवश्यक हुने चिकित्सिकहरु बताउँछन् ।

खोपको बारेमा गलत जानकारी, यसको प्रभावकारिताको बारेमा निराधार शंका र खोप अभियानको कमीले थोरैलेमात्र खोप लगाउने गरेका छन् । बेलायतको नेशनल हेल्थ सर्भिस वेबसाइटका अनुसार धुम्रपानले लिङ्गको क्यान्सर हुने जोखिम बढाउन सक्छ।

तर लिंगको क्यान्सर बढिरहेको ब्राजिल मात्र होइन। पछिल्लो अनुसन्धान अनुसार विश्वभर संक्रमितको संख्या बढ्दै गएको छ । २०२२ मा जर्नल जेएमआईआर पब्लिक हेल्थ एन्ड सर्भेलेन्सले ४३ देशका पछिल्लो तथ्याङ्कहरू समावेश गरी ठूलो मात्रामा गरिएको विश्लेषणको नतिजा प्रकाशित गरेको थियो ।

यसले सन् २००८ देखि २०१२ को बीचमा लिंगको क्यान्सरको सबैभन्दा धेरै घटनाहरू युगान्डामा, दोश्रोमा ब्राजिलमा र तेश्रोमा थाइल्याण्डमा भएको फेला पारेको थियो । सबैभन्दा कम भने कुवेतमा थियो ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com