पुनरावेदनको फैसला: २०२० र २०२१ का डिभी विजेताको अमेरिकी सपना समाप्त


प्रकाशित मिति : असार ११, २०८१ मंगलबार

आज वासिंटन डिसीमा रहेको पुनरावेदन अदालतले बाइडेन प्रशासनका पक्षमा फैसला गरेपछि भिसा पाउन बाँकी रहेका २०२० र २०२१ का डिभी विजेताको अमेरिकी सपना समाप्त भएको छ । २०२० र २०२१ का डिभी विजेताका मुद्दाहरूमा पुनरावेदन अदालतले तल्लो अदालतको निर्णयलाई उल्टाएको हो ।

तल्लो अदालतका न्यायाधीश मेहता र न्यायाधीश चुटकनले गरेको आदेशविरुद्ध बाइडेन प्रशसनले पुनरावेदन गरेको थियो । आजको फैसलासँगै २०२० र २०२१ का झण्डै २० हजार भिसा पाउन बााकी रहेका डिभी विजेताहरुको अध्यागमन यात्रा समाप्त भएको छ ।

आर्थिक वर्ष २०२० र २०२१ समाप्त भएपछि वादीहरूले डाइभर्सिटी भिसाका लागि आफ्नो योग्यता गुमाएको र डिस्ट्रिक्ट कोर्टहरुले यी स्पष्ट वैधानिक समयसीमाहरू ओभरराइड गर्नको लागि एक न्यायोचित अधिकार दाबी गर्न गल्ती गरेको अदालतको फैसलामा उल्लेख छ । त्यसैले सरकारले चुनौती दिएका डिस्ट्रिक्ट कोर्टका आदेशहरूलाई उल्टाउने अदालतको आदेशमा भनिएको छ ।

वासिंटन डिसीको पुनरावेदन अदालतमा यसबारेको मुद्दा लामो समयदेखि विचाराधिन रहेको थियो ।  डिभी २०२० र २०२१ का विजेतालाई भिसा जारी गर्न अमेरिकी सरकारले आवश्यक प्रविधि भने जडान गरिसकेको थियो ।  विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले सबै अदालतमा पेश गरेको कागजातमा विगतका बर्षका डिभीलाई प्रकृयामा लैजानका लागि प्रविधिमा आवश्यक सुधार गरिसकेको  थियो ।

सन् २०२१ को अगस्त १७ मा तल्लो अदालतले डिभी २०२० का ९०९५ भिसा संरक्षणका लागि आदेश दिएको थियो । त्यसपछि अक्टोबर २३ मा जारी गरिएको आदेशमा यी भिसाहरु सन् २०२२ को सेप्टेम्बर ३० अगाडि जारी गर्न आदेश दिइएको थियो । तर २०२२ को अप्रिल ५ मा पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी सुरु गर्न नपर्नेगरी अदालतले आदेश दिएको थियो ।

सन् २०२१ को सेप्टेम्बर २७ मा अदालतले कार्यकारी आदेशका कारण भिसा जारी हुन नसकेका २७ दुतावास र पोष्टका लागि डिभी २०२१ का ९६६ भिसा संरक्षणका लागि आदेश दिएको थियो । सन् २०२१ कै अक्टोबर २० मा यी भिसाहरु सकभर छिटो जारी गर्न आदेश दिइएपनि सन् २०२२ को अप्रिल ६ को आदेशमा पुनरावेदनको फैसला नआउँदासम्म भिसा जारी गर्न प्रतिक्षा गर्नसकिने व्यवस्था गरिएको थियो ।

त्यस्तै सन् २०२१ सेप्टेम्बर ३० को आदेशमा ६ हजार ९ सय १४ भिसा संरक्षणको आदेश दिइएको थियो । तर यसका सन्दर्भमा पनि  अप्रिल १८ मा अदालतले पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी गर्नु नपर्ने निर्णय गरेको थियो । त्यस्तै सन् २०२१ को सेप्टेम्बर ३० कै आदेशमा ४८१ भिसा संरक्षणको आदेश दिएपनि २०२२ को अप्रिल ६ को आदेशमा अदालतले पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी गर्नु नपर्ने निर्णय गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com