न्युयोर्क सिटी काउन्सिलबाट ११२ दशमलव ४ बिलियन डलरको बजेट पारित, कहाँ कति खर्च?


प्रकाशित मिति : असार १६, २०८१ आईतबार

building beside body of water during night time

न्यूयोर्क सिटी काउन्सिलले आइतवार ११२ दशमलव ४ बिलियन डलरको बजेट पारित गरेको छ । बजेटका पक्षमा ४७ मतका साथ बार्षिक बजेट स्वीकार गरिएको हो । तीनजनाले बजेटको विपक्षमा मतदान गरेका थिए ।

काउन्सिल नेतृत्वसँग सम्झौता वार्ता गरेका मेयर एरिक आडम्सले बजेट पारित गर्ने कार्यको प्रशंसा गरेका छन् । काउन्सिल सदस्य टिफनी क्याबान, शाहाना हनिफ र एलेक्सा एभिल्सले बजेटको विरोध गरेका थिए ।

नयाँ आर्थिक वर्ष २०२५ को बजेट जुलाई १, २०२४ देखि जुन ३०, २०२५ सम्म चल्छ। शुक्रबार घोषणा गरिएको खर्च योजनाले मेयरको कार्यकारी बजेट योजना भन्दा १ बिलियन डलरले खर्च बढाएको छ।

विद्यालयमा प्री के र थ्री केमा कोटाहरु थप्न १०० मिलियन डलर छुट्याइएको छ भने संग्रहालय र सांस्कृतिक संस्थाहरूको लागि ५८ मिलियन डलर छुट्याइएको छ । पुस्तकालयहरू हप्ताको सात दिन खुला राख्न ५३ मिलियन डलर छुट्याइएको छ ।

अर्को दशकमा ५ लाख नयाँ आवासहरु निर्माण गर्ने लक्ष्यलाई समर्थन गर्न किफायती आवासको लागि २ बिलियन डलर छुट्याइएको छ । सिटीमा ट्रेनको भाडा आधा कम तिर्ने कार्यक्रममा योग्य व्यक्तिहरूको संख्या बढाउन २० मिलियन डलर छुट्याइएको छ ।

६३ मिलियन डलर सार्वजनिक सुरक्षा र जीवनको गुणस्तरको रक्षा गर्न, अवैध गाँजा पसलहरू बन्द गर्न र बढी उमेरका व्यक्तिका लागि सुरक्षा सुरक्षा प्रदान गर्न छुट्याइएको छ । सिटी काउन्सिलले मध्यरातको समयसीमा सकिनुभन्दा केही घण्टा अघि आइतबार बजेट स्वीकृत गरेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com