यो आर्थिक बर्षमा झण्डै २४ सय नेपालीले पाइसके डाइभर्सिटी भिसा, मे महिनामा २९३


प्रकाशित मिति : असार १७, २०८१ सोमबार

मे महिनामा २९३ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । योसँगै चालु आर्थिक बर्ष २०२४ मा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या २४ सय नाघेको छ । अक्टोबरदेखि मेसम्म २१४७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेकोमा जुनको समेत अनुमानित संख्या जोड्दा २४ सय नाघेको हो ।

मार्चमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या अनपेक्षित रुपमा घटेपनि अप्रिलमा यो संख्यामा उल्लेख्य प्रगति भएको थियो ।  अप्रिलमा कुल ३९९ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

डिसेम्बरदेखि डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या घट्दो क्रममा थियो । डिसेम्बरमा ४१४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएकोमा जनवरीमा त्योभन्दा ३११ जना र फेब्रुअरीमा त्योभन्दा पनि कम २६८ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए ।

मार्चमा यो संख्या अझ घटेर १९८ मा झरेको थियो । चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा जम्मा ३ जना र दोश्रो महिना नोभेम्बरमा जम्मा २६१ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए ।

आप्रवासी भिसाहरुमा अमेरिकी दूतावास काठमाडौंले सबैभन्दा पहिलो प्राथमिकता डाइभर्सिटी भिसालाई नै दिएको देखिन्छ । अर्थात् आप्रवासी भिसामा अन्य सबै श्रेणीको तुलनामा सबैभन्दा धेरै भिसा डिभी विजेताहरुलाई प्रदान गरिएको छ ।

सन् २०२२ मा डिभी भरेकाहरुले अहिले भिसा पाइरहेका हुन् । २०२३ मा भरेकाहरुले आगामी अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् ।

आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ । २०२४ को डिभी लोटरी कार्यक्रम अन्तरगत नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो भएको छ । २०२४ को डिभी लोटरीका लागि एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका थिए ।

कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन ।

डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएका थिए । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com