९ महिनामा अमेरिकी नागरिकका २ हजार नेपाली बाबुआमालाई आप्रवासी भिसा, दम्पत्ति १५ सय


प्रकाशित मिति : असार १७, २०८१ सोमबार

नेपालीहरुका सन्दर्भमा आप्रवासी भिसाहरुमा सबैभन्दा पहिलो प्राथमिकता डाइभर्सिटी भिसालाई दिएको अमेरिकाले दोश्रो प्राथमिकता भने अमेरिकी नागरिकका नेपाली बुबाआमालाई दिएको छ । चालु आर्थिक बर्षको ९ महिनामा नेपालीहरुका सन्दर्भमा डाइभर्सिटी भिसापछि सबैभन्दा धेरै भिसा पाउनेहरुमा अमेरिकी नागरिकका नेपाली बुबाआमाहरु रहेका छन् ।

चालु आर्थिक बर्ष २०२४ को ९ महिनामा आप्रवासी भिसा प्राप्त गर्ने अमेरिकी नागरिकका बुबाआमाको संख्या २ हजार नाघेको छ । अक्टोबरदेखि मेसम्ममात्र १७८६ जना अमेरिकी नागरिकका बुबाआमाहरुले आप्रवासी भिसा प्राप्त गरेका छन् । यो श्रेणीमा आप्रवासी भिसा प्राप्त गर्न भिसा करेन्ट हुनु पर्दैन ।

अक्टोबरमा ३३१, नोभेम्बरमा १६६, डिसेम्बरमा २६३, जनवरीमा पनि २६३, फेब्रुअरीमा ११०, मार्चमा २६०, अप्रिलमा २८३ र मेमा ३७३ जना अमेरिकी नागरिकका नेपाली बुबाआमाहरुले आप्रवासी भिसा प्राप्त गरेको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक रहेको छ । यो संख्यामा अमेरिकाभित्रै स्टाटस एड्जष्ट गर्नेहरुको संख्या भने समावेश छैन ।

आईआर फाइभ श्रेणीको यो भिसालाई परिवारमा आधारित ग्रीन कार्ड पनि भनिन्छ । यो भिसाले कम्तीमा २१ वर्षको उमेरका अमेरिकी नागरिकहरूका विदेशी बाबुआमालाई अमेरिकामा बस्न र स्थायी बासिन्दा बन्न अनुमति दिन्छ।

त्यसपछि अमेरिकी नागरिक र ग्रिनकार्डवाहकका नेपाली दम्पत्तिले आप्रवासी भिसा पाउने गरेका छन् । यसलाई दुई श्रेणीमा विभाजन गरेर भिसा जारी गरिन्छ । अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका दम्पत्तिले पाउने आप्रवासी भिसा आईआर वान र सीआर वान श्रेणीको हुन्छ ।

१० बर्षे ग्रिनकार्ड प्राप्त गर्नेगरी आउनेले आईआरवान भिसा पाउँछन् भने २ बर्षे शर्त सहितको ग्रिनकार्ड पाउनेले सीआरवान भिसा पाउँछन् । सामान्यतया विवाह गरेको २ बर्ष पूरा भएको छैन भने २ बर्षे ग्रिनकार्ड पाउनेगरी उनीहरुले सीआर वान भिसा प्राप्त गर्छन् तर विवाह गरेको २ बर्ष नाघिसकेको छ भने आईआर वान भिसा प्रदान गरिन्छ ।

अक्टोबरदेखि मेसम्म सीआरवान भिसा ८७३ जना नेपालीहरुले पाएका छन् भने सोही अवधिमा ५५६ जना नेपालीहरुले आईआरवान भिसा पाएका छन् । अर्थात् अक्टोबरदेखि मेसम्म जम्मा १४२९ जना अमेरिकी नागरिक र ग्रिनकार्डवाहकका नेपाली दम्पत्तिले गैरआप्रवासी भिसा प्राप्त गर्न सफल भएका छन् । यसमा पनि अमेरिकामा नै रहेर स्टाटस एड्जष्ट गर्नेको संख्या समावेश छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com