सर्वोच्चको फैसला पछि न्युयोर्कमा ट्रम्पलाई सजाय तोक्ने सुनुवाई सेप्टेम्बरसम्म स्थगित


प्रकाशित मिति : असार १९, २०८१ बुधबार

न्युयोर्कको अदालतमा दोषी ठहर गरिएका मुद्दामा डोनाल्ड ट्रम्पलाई अब सेप्टेम्बरसम्म सजाय नसुनाइने भएको छ । राष्ट्रपतिले उनको कार्यकालमा गरेका अपराधमा उन्मुक्ति पाउने सर्वोच्चको सोमबारको फैसलापछि न्युयोर्कका न्यायाधिससले ट्रम्पलाई सजाय तोक्ने सुनुवाई सेप्टेम्बरसम्मका लागि स्थगित गरेका हुन् ।

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई मे महिनामा न्युयोर्कको अदालतले ३४ वटा अभियोगमा दोषी ठहर गरेपछि सजायका लागि जुलाई ११ का लागि सुनुवाई तोकिएको थियो । उनलाई चार वर्षसम्म जेल वा प्रोबेशनको सजाय हुन सक्ने जनाइएको थियो । न्यायाधीश हुआन मर्चनले पूर्व राष्ट्रपतिलाई आवश्यक भएमा अब सेप्टेम्बर १८ मा सजाय दिइने बताएका छन् ।

सजायको सुनुवाई स्थगनले सोमबारको सर्वोच्च अदालतको निर्णयको दूरगामी प्रभावहरूलाई जोड दिएको छ । जसमा अदालतले राष्ट्रपतिहरूलाई राष्ट्रपति कर्तव्यहरूको लागि पूर्ण प्रतिरक्षा रहेको ठहर गरेको थियो । सर्वोच्चको निर्णयले गोप्य कागजात र जर्जिया चुनावी हस्तक्षेपका मामिलामा पनि ट्रम्पविरुद्धको अभियोगलाई पनि असर गर्न सक्छ।

सजायमा ढिलाइको मतलब पूर्व राष्ट्रपति ट्रम्पलले समरमा आफ्नो अपराधको लागि कुनै ठोस सजायबाट बच्न सक्ने सम्भावना छ । ट्रम्प दोषी ठहर भएका ३४ अभियोगमा न्यूयोर्क राज्यको कानून अन्तर्गत सम्भावित सजाय भनेको प्रोबेशनदेखि चार वर्षको जेल सजाय हो ।

पोर्नस्टार स्टोर्मी डानियललाई चुप  लगाउनका लागि ट्रम्पले रकम तिरेको मुद्दामा ट्रम्पलाई दोषी ठहर गरिएको हो । जसबाट ट्रम्प अमेरिकी इतिहासमा कुनै अपराधमा दोषी ठहर हुने पहिलो राष्ट्रपति भए ।

अभियोजकहरूले ट्रम्पलाई २०१६ को चुनावको अखण्डतालाई कमजोर पार्न अवैध षड्यन्त्रमा भाग लिएको र नकारात्मक जानकारी दबाउनको लागि गैरकानूनी योजनामा ​​भाग लिएको आरोप लगाएका थिए । जसमा वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप लगाउन रकम भुक्तान गरेको विषय लुकाइएको थियो।

ट्रम्पले उक्त रकम आफ्ना वकिल माइकल कोहेनमार्फत डानियललाई दिएको र ट्याक्स फाइल गर्दा व्यापारको रेकर्डमा कानुनी खर्चको रूपमा सूचीबद्ध गरेको अभियोग लगाइएको थियो । ट्रम्पले पोर्नस्टारलाई चुप लगाउनका लागि गरेको भुक्तानीको सम्बन्धमा फर्जी व्यापार रेकर्डका सन्दर्भमा ३४ वटा अभियोगको सामना गरेका थिए ।

ट्रम्पको कम्पनी र ट्रम्प संगठनले पोर्नस्टार स्टोर्मी डेनियललाई भुक्तानीको लागि कोहेनलाई रकम दिएको तथा त्यसका लागि कोहेनलाई बोनस र अतिरिक्त भुक्तानी दिएको अभियोग लगाइएको थियो । ती लेनदेनहरू कानूनी खर्चको रूपमा कम्पनीको रेकर्डमा गलत रूपमा राखिएको अभियोजकहरुले अभियोग लगाएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com