१० पटक सगरमाथा आरोही लाक्पाको बृत्तचित्र नेटफिल्क्समा आउँदै, भन्छिन्: ११ औं प्रयास पनि गर्छु


प्रकाशित मिति : असार १९, २०८१ बुधबार

१० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी लाक्पा शेर्पाको सगरमाथा आरोहण र जीवनयात्राबारेको बृत्तचित्र ‘माउन्टेन क्वीन : द समिट्स अफ लाक्पा शेर्पा’ नेटफिल्क्समा आउने भएको छ । आगामी जुलाई ३१ मा बृत्तचित्र रिलिज गरिने नेटफिल्क्सले घोषणा गरेको छ । २ पटकसम्म ओस्कार नोमिनेशनमा परेकी निर्देशक लुसी वाकरले निर्देशन गरेको यो बृत्तचित्र मंगलबार न्युयोर्क सिटीको आईएफसी सेन्टरमा हलमा भरिभराउ अमेरिकी दर्शकमाझ प्रिमियर गरिएको थियो ।

बृत्तचित्र प्रदर्शनपछि प्रश्नोत्तर कार्यक्रममा खसोखासको प्रश्नको जवाफ दिदै लाक्पाले अर्को पटक पनि सगरमाथा आरोहणको प्रयास गर्ने बताएकी छिन् । उनले भनिन् – ‘म इमान्दारिताका साथ भन्न चाहन्छु कि म मेरो सगरमाथा आरोहणको रेकर्ड सहजै अरुलाई तोड्न दिन्न । किनकी मैले अरुका घरमा भाँडा माझेर, घर सफा गरेर यी रेकर्डहरु कायम गरेकी हुँ । त्यसैले मैले अर्कोपटक पनि सगरमाथा आरोहणको प्रयास गर्नेछु ।’

उनले अगाडि भनिन् – ‘अब त मेरा छोराछोरीहरु हुर्किसकेका छन् । शिक्षित भइसकेका छन् । आफ्नो हेरचाह आफै गर्नसक्ने भइसकेका छन् । हिमालयहरु मेरा सबैभन्दा नजिकका साथीहरु हुन् । म उनीहरुबाट अलग रहन सक्दिन । बाल्यकालमा मैले कहिले पनि टेलिभिजन हेर्ने मौका पाइन । हिमालयहरु नै मेरा लागि टेलिभिजन रहे । हिमालयहरु नै मेरा नजिकका साथी रहे । हिमालयहरु नै मेरा विद्यालयहरु हुन् ।’

फोटो श्रोत: नेटफिल्क्स

धेरै महिलाहरुले अहिले सगरमाथा आरोहण गरिरहेको र आफ्नो पदचिन्ह पछ्याएको उल्लेख गर्दै लाक्पाले यसबाट आफूलाई असाध्यै खुशी लागेको बताइन् । अब आफ्नो अनुभव अरुलाई बाड्न चाहने र धेरैभन्दा धेरैलाई प्रेरित गर्न चाहने उनले बताइन् । अरुलाई मागदर्शन गर्ने र आफ्नो अनुभव अरुलाई बाड्ने आफ्नो सपना र चाहना रहेको उनले बताइन् ।

२० बर्षभन्दा लामो समयदेखि अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी लाक्पाले अमेरिकाका सबै राज्यका उच्च स्थानहरुमा पुग्न चाहेको समेत बताइन् । प्रश्नोत्तरका क्रममा निर्देशक लुसी वाकरले बृत्तचित्र निर्माणका क्रमका रोचक अनुभवहरु समेत बताएकी थिइन् । लाक्पाको कथाबाट आफू निकै प्रभावित भएको र बृत्तचित्र त्यसलाई व्यक्त गर्ने शक्तिशाली माध्यम हुने भएकाले आफूले लाक्पाको बारेमा बृत्तचित्र बनाउने योजना बनाएको उनले बताइन् ।

नेपाली भाषामा समेत सबटाइटल रहने उक्त बृत्तचित्रमा लाक्पाको सगरमाथा आरोहणको कथामात्र नभई उनको जीवन संघर्षको आरोह अवरोहलाई पनि जीवन्त तरिकाले प्रस्तुत गरिएको छ । नेपालमा छँदा उनले गरेको संघर्ष र रोमानियन अमेरिकनसँग विवाह गरेर अमेरिका आइसकेपछि उनले गरेको संघर्षलाईमात्र होइन, आफ्ना रोमानियन अमेरिकन पतिबाट भोग्नुपरेको घरेलु हिंशा, उक्त हिंशा देखेकी छोरीले भोगेको मानसिक आघात लगायतलाई पनि बृत्तचित्रमा जीवन्त तरिकाले देखाइएको छ । बृत्तचित्रमा लाक्पाले नेपाली महिला र विश्वभरका महिलाहरुलाई बारम्बार एउटै सन्देश दिएकी छिन् – ‘कहिले पनि हार नमान्नुहोस् ।’

बृत्तचित्रमा लाक्पा शेर्पा । फोटो सौजन्य:  क्रिस्टोफर न्यूम्यान/ नेटफ्लिक्स

लाक्पा शेर्पा सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने महिलामा विश्वमा नै पहिलो हुन् । उनले सन् २०२२ को मे १२ मा दशौंपटक सगरमाथाको आरोहण गरेकी थिइन् । उनी सन् २००० मा सगरमाथा आरोहण गरेर सफलताका साथ फर्कने पहिलो नेपाली महिला बनेकी थिइन् । पासाङ ल्हामु शेर्पा सन् १९९३ को अप्रिलमा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला बनेपनि उनी सकुशल फर्कन सकेकी थिइनन् । फर्कने क्रममा उनको निधन भएको थियो ।

लाक्पा शेर्पाको बाल्यकाल संखुवासभाको मकालु गाउँमा बितेको हो । उनी परिवारको एघारौ सन्तान हुन । लाक्पाले सन् २००२ मा रोमानियाली जन्म अमेरिकी नागरिक जर्ज डिजमारेस्कुसँग विवाह गरेकी थिइन् । सन् २००१ देखि सन् २००६ सम्म यी दुई जोडीले पटकपटक एकसाथ सगरमाथाको सफल आरोहण गरेका थिए । लाक्पा दुई छोरीहरु र एक छोराकी आमा पनि हुन् । पर्वतारोही हुनुभन्दा पहिले लाक्पाले ट्रेकर गाइडहरुको लागि भान्छाका कामदारका रूपमा काम गर्न थालेकी थिइन् । उनका आफन्तहरु पनि पर्वतारोहण गरिरहने भएकाले उनी अरु पर्वतारोहीसँगै सामान बोक्दै हिड्ने काम गर्दागर्दै पर्वतारोही बन्ने प्रेरणा मिलेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com