सर्वशक्तिमान भगवान तल आएर भनेमात्र चुनावी मैदान छाड्ने बाइडेनको भनाई


प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

आगामी नोभेम्बरको राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीका उम्मेदबार तथा वर्तमान राष्ट्रपति जो बाइडेनले सर्वशक्तिमान भगवान तल आएर चुनावी मैदान छाड्न भनेमात्र चुनावी मैदान छाड्ने बताएका छन् । डोनाल्ड ट्रम्पलाई हराउन नसक्ने कुरामा विश्वस्त भएमा मैदान छाड्ने हो कि भनेर सोध्दा बाइडेनले यस्तो जवाफ दिएका हुन् ।

एबीसी टेलिभिजनसँगको अन्तरवार्तामा बाइडेनले भने – ‘यदि सर्वशक्तिमान् भगवान तल आएर जो चुनावी दौडबाट बाहिर निस्क भने, म दौडबाट बाहिर निस्कने थिए तर सर्वशक्तिमान् परमप्रभु तल आउँदै हुनुहुन्न ।’

जुलाई ४ बिहिबार ह्वाइट हाउसको दक्षिण लनमा बोल्दै बाइडेन। (एपी फोटो/इभान भुची)

त्यसपछि प्रश्नकर्ता जर्ज स्टेफानोपौलोसले भने  -‘म सहमत छु कि सर्वशक्तिमान् भगवान तल आउनुहुन्न। तर यदि तपाइँलाई तपाइँको सहयोगीहरु, तपाइँको डेमोक्र्याटिक पार्टीमा, सदनमा, सिनेटमा तपाइँका साथीहरु र समर्थकहरुबाट तपाई मैदानमा रहेको खण्डमा सदन र सिनेट गुमाउने कुरा बताइएमा के गर्नुहुन्छ?’

बाइडेनले यस प्रश्नको जवाफ दिन अस्वीकार गरे। उनले भने – ‘यो हुनेवाला छैन ।’

राष्ट्रपतिका रिपब्लिकन उम्मेदबार डोनाल्ड ट्रम्पसँगको बहसमा खराब प्रस्तुतीपछि त्यसलाई रिकभर गर्न बाइडेनले उच्च स्तरको यो अन्तरवार्ता दिएका थिए । एबीसी अन्तर्वार्ताको क्रममा बाइडेनले बहसमा आफ्नो निराशाजनक प्रदर्शनबारे बोल्दै त्यतीबेला उनले आफू बिरामी महसुस गरेको बताएक छन् । साथै माइक्रोफोन म्युट रहेको बेला समेत ट्रम्प चिच्याएर आफ्नो ध्यान भड्केको भन्दै बहाना समेत बनाएका छन् ।

एबीसी न्यूजमा बाइडेनको उपस्थिति बहसपछिको पहिलो प्रमुख अन्तर्वार्ता थियो । बहसमा कमजोर प्रस्तुतिपछि अहिले राष्ट्रपतिको उम्मेदबारीमा बाइडेनको विकल्पबारे छलफल तीब्र बनिरहेको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com