यो बर्ष १३ हजारभन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा नपाउने


प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

आगामी सेप्टेम्बर ३० मा समाप्त हुने चालु आर्थिक बर्ष २०२४ का नेपाली डिभी विजेताहरुका लागि सेप्टेम्बरमा समेत सिमाबन्दी तोकिएको छ । सेप्टेम्बरका लागि नेपाली डिभी विजेताहरुका लागि १३ हजारसम्म केस नम्बर तोकिएकाले अब १३ हजारभन्दा बढी केस नम्बर हुने डिभी विजेताको यसबर्षको डिभीमार्फत अमेरिकी सपना समाप्त भएको छ ।

१३ हजारभन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा नपाउने भएका हुन् । सेप्टेम्बर ३० पछि यसबर्षको डिभी समाप्त हुने र अक्टोबर १ देखि आर्थिक बर्ष २०२५ को डिभी सुरु हुने भएकाले आज प्रकाशित भिसा बुलेटिनसँगै १३ हजारभन्दा माथि केस नम्बर हुनेहरु निराश भएका छन् । विगतका बर्षहरुमा सामान्यतया अगस्त र सेप्टेम्बर महिनाका लागि सबै डिभी विजेता नेपालीहरुको केस नम्बर करेन्ट हुने वा केस नम्बरको सिमाबन्दी कममात्र रहने गरेको थियो ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले प्रकाशित गरेको अगस्तको भिसा बुलेटिन अनुशार अगस्तमा १२ हजार सम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले भिसा पाउन सक्नेछन् । सन् २०२२ मा अगस्तदेखि नै केसनम्बरमा लगाइएको सिमाबन्दी हटाइएको थियो भने २०२३ को अगस्तमा २० हजार ५ सयसम्म केस नम्बर हुने नेपालीहरुलाई भिसा प्रदान गरिएको थियो ।

कोरोना महामारी र विभिन्न कानूनी दाउपेचकाबीच डिभी २०२१ का विजेताहरुलाई भने इतिहासमा नै सबैभन्दा कम भिसा जारी गरिएको थियो । झण्डै ५ महिनासम्म अमेरिकाले डिभी २०२१ का विजेतालाई भिसा जारी गरेको थिएन ।

चालु आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ । नतिजा सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमा हेर्न सकिनेछ । सन् २०२२ को अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले अहिले भिसा पाइरहेका छन् ।

कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए ।

यो आर्थिक बर्षमा झण्डै २४ सय नेपालीले पाइसके डाइभर्सिटी भिसा

मे महिनामा २९३ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । योसँगै चालु आर्थिक बर्ष २०२४ मा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या २४ सय नाघेको छ । अक्टोबरदेखि मेसम्म २१४७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेकोमा जुनको समेत अनुमानित संख्या जोड्दा २४ सय नाघेको हो ।

मार्चमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या अनपेक्षित रुपमा घटेपनि अप्रिलमा यो संख्यामा उल्लेख्य प्रगति भएको थियो ।  अप्रिलमा कुल ३९९ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

डिसेम्बरदेखि डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या घट्दो क्रममा थियो । डिसेम्बरमा ४१४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएकोमा जनवरीमा त्योभन्दा ३११ जना र फेब्रुअरीमा त्योभन्दा पनि कम २६८ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए ।

मार्चमा यो संख्या अझ घटेर १९८ मा झरेको थियो । चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा जम्मा ३ जना र दोश्रो महिना नोभेम्बरमा जम्मा २६१ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए ।

आप्रवासी भिसाहरुमा अमेरिकी दूतावास काठमाडौंले सबैभन्दा पहिलो प्राथमिकता डाइभर्सिटी भिसालाई नै दिएको देखिन्छ । अर्थात् आप्रवासी भिसामा अन्य सबै श्रेणीको तुलनामा सबैभन्दा धेरै भिसा डिभी विजेताहरुलाई प्रदान गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com