जुन १५ अघि प्राथमिकता मिति छ? ग्रिनकार्डवाहकका दम्पत्ति/बच्चालाई अगस्तमा ग्रिनकार्ड आवेदन


प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

मंगलबार सार्वजनिक अगस्तको भिसा बुलेटिनले अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका अनुहारमा खुशी ल्याएको छ । अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुको ग्रिनकार्ड फाइल गर्ने मिति एकैपटक साढे ७ महिनासरेपछि जुन १५ भन्दा अगाडि आई १३० आवेदन फाइल गरेकाहरुले अगस्तमा ग्रिनकार्ड आवेदन आई ४८५ पनि फाइल गर्न सक्ने भएका छन् ।

विगत १० महिनादेखि टसमस नभएको मिति जुलाईका लागि २ महिना सरेको थियो भने अब अगस्तका लागि उनीहरुका लागि धेरै राहत भएको छ । अर्थात् अगस्तमा १५ जुन २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्तिहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर परमिट प्राप्त गर्न र ट्राभल डकुमेन्टमा यात्रा गर्न समेत समेत पाउनेछन् । आई ४८५ पेश गरिसकेपछि भिसा वा अध्यागमन स्टाटस जोगाउने झन्झट नहुनसक्छ ।

ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि ग्रिनकार्ड फाइल गर्ने मिति गतबर्षको अगस्तसम्म करेन्ट रहदै आएकोमा सेप्टेम्बरदेखि भने कन्करेन्ट छैन । अथात् अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले आई १३० पिटिसन र ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ भने फाइल गर्न पाउँदैनन् ।

सामान्यता परिवारमा आधारित ग्रिनकार्डका लागि युएससीआईएसले भिसा बुलेटिनमा रहेको फाइलिङ मितिलाई नै आधार मान्दै आएको छ । भिसा बुलेटिन मंगलबारमात्र सार्वजनिक भएकाले युएससीआईएसले पनि छिट्टै आगामी महिनाका लागि ग्रिनकार्ड आवेदनका लागि फाइलिङ चार्ट प्रकाशित गर्ने अपेक्षा गरिएको छ ।

तर अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीका सन्दर्भमा भिसा पाउने मितिमा भने फेरबदल भएको छैन । जुलाईको भिसा बुलेटिनमा १५ नोभेम्बर २०२१ अगाडि प्राथमिकता मिति भएकालेमात्र आप्रवासी भिसा पाउनसक्ने उल्लेख भएकोमा अगस्तका लागि समेत उक्त मितिमा फेरबदल नभएको हो । अर्थात् अगस्तमा पनि अमेरिबाहिर हुने ग्रनकार्डवाहकका दम्पत्ति र छोराछोरीले आप्रवासी भिसा पाउनका लागि प्रतिक्षा अवधि झण्डै २ बर्ष ९ महिना रहेको छ ।

यद्यपी उनीहरुको आवेदन युएससीआईएसबाट स्वीकृत भइसकेको खण्डमा भने जुन १५, २०२४ भन्दा अगाडि आवेदन दिएको आवेदन नेशनल भिसा सेन्टरले डकुमेन्ट्री क्वालीफाइड हुनका लागि प्रकृया अगाडि बढाउँछ । तर भिसा अन्तरवार्ताका लागि भने भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेट नै प्रतिक्षा गर्नुपर्छ । युएससीआईएसले आई १३० आवेदन प्रकृयामा लैजान भने लामो समय लगाउने गरेको छ । उदाहरणका लागि ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुका लागि फाइल गरिएको आई १३० आवेदनमा निर्णण् हुन नेशनल बेनिफिट सेन्टरमा औषतमा ५ बर्ष लाग्ने गरेको छ ।

अमेरिकी नागरिकका अमेरिकाभित्रै हुने विवाहित छोराछोरीका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्न पाउने अवधि ३ महिना सरेको बाहेक परिवारमा आधारित अन्य श्रेणीमा आप्रवासी भिसा पाउने र अमेरिकाभित्रै हुनेले ग्रिनकार्ड आवेदन फाइल गर्ने मितिमा भने जुलाईको तुलनामा अगस्तामा कुनै टसमस भएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com