१७ बर्ष पुग्यो अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि


प्रकाशित मिति : असार २६, २०८१ बुधबार

अगस्तको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि १७ बर्ष पुगेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबार सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार १ अगस्त २००७ भन्दा अगाडि आई १३० आवेदन पेश गरेर स्वीकृत भई नेशनल भिसा सेन्टरबाट सबै प्रकृया पूरा भएकाहरुले अगस्तमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि बढेको बढ्यै रहेको छ । गत बर्षको फेब्रुअरीमा यो अवधि १६ बर्ष पुगेको थियो । गतबर्षको अगस्तको भिसा बुलेटिनको तुलना गर्दा एकबर्षको अवधिमा यो अवधि ४ महिनामात्र सरेको छ । गतबर्षको अगस्तमा यो मिति २२ अप्रिल २००७ रहेको थियो । त्यस्तै सन् २०२२ को अगस्तमा यो मिति २२ मार्च २००७ रहेको थियो ।

त्यस्तै सन् २०२१ को अगस्तमा यो मिति १ मार्च २००७ थियो । अर्थात् ३ बर्षको अवधिमा ५ महिनामात्र सरेको छ । जसका कारण सन् २००७ भन्दा पछाडि आई १३० आवेदन दिएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले आप्रवासी भिसा पाउन सकेका छैनन् । लामो समयको प्रतिक्षा अवधिका कारण भिसा कुरेर बसेका उनीहरु निराश भएका छन् ।

अगस्तको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि ८ बर्ष १० महिना रहेको छ । अर्थात् २२ अक्टोबर २०१५ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले अगस्तमा भिसा पाउन सक्नेछन् ।

त्यस्तै ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले भिसा पाउन लाग्ने अवधि २ बर्ष ९ महिना रहेको छ । अर्थात् १५ नोभेम्बर २०२१ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले अगस्तमा भिसा पाउन सक्नेछन् ।

ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि ८ बर्ष ३ महिना रहेको छ । अर्थात् १ मे २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले अगस्तमा भिसा पाउन सक्नेछन् ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि १४ बर्ष ४ महिना रहेको छ । अर्थात् १ अप्रिल २०१० भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले अगस्तमा भिसा पाउन सक्नेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com