अमेरिकामा नेपालीभाषी हत्या प्रकरण: लावतीलाई २ लाख र तामाङलाई १ लाख डलर धरौटी तोकियो


प्रकाशित मिति : श्रावण ५, २०८१ शनिबार

अमेरिकाको टेनेसीको नासभिलमा ४१ बर्षको उमेश दाहालको हत्या प्रकरणमा पक्राउ २४ वर्षीय रोशन सुब्बा–लावतीलाई २ लाख डलर धरौटी तोकिएको छ भने २२ वर्षीय किशोर तामाङलाई १ लाख डलर धरौटी तोकिएको छ । हत्या अनुसन्धानका क्रममा उनीहरुलाई जुलाई ११ मा पक्राउ गरिएको थियो । लावती र तामाङको पक्राउसँगै यो मुद्दामा हिराशतमा पुग्नेको संख्या तीन पुगेको हो ।

लावतीलाई प्रहरीले नै पक्राउ गरेको थियो भने तामाङ आफू वान्टेडमा रहेको थाहा पाएपछि सोधपुछका लागि आत्मसमर्पण गरेका थिए । उनीहरुमाथि उमेशमाथि हमलामा संलग्न रहेको आरोप छ। दुबै जना अहिले प्रहरी हिरासतमा छन् र प्रत्येकलाई आपराधिक हत्याको अभियोग लगाइएको छ। मुख्य अभियुक्त २६ बर्षीय विशाल राई जुलाई १ मा नै पक्राउ परेका थिए । उनीहरु तीनैजनालाई सुनुवाईका लागि आगामी मंगलबार अर्थात् जुन २३ मा अदालतमा पेश गर्ने तालिका रहेको छ ।

जुन २९ शनिबार नासभिलमा मन्त्र ब्याण्डको लाइभ कन्सर्टका क्रममा भएको झगडा मिलाउन खोज्दा आक्रमणमा परेका दाहालको तीनदिनपछि  मृत्यु भएको थियो । राईले दाहालको टाउकोमा लात्तिले हानेपछि दाहालको टाउकोमा गहिरो चोट लागेको थियो ।

प्रहरीले आक्रमणकारीका रुपमा राईलाई पहिचान गरेपछि घटनास्थल टप गल्फबाट १४ माइल दक्षिणपूर्वमा रहेको एन्टिओकस्थित घरबाट विशाल राईलाई  पक्राउ गरिएको थियो । राईलाई सुरुमा उत्तेजित आक्रमणको आरोप लगाइएपनि उमेशको मृत्यु पछि उक्त अभियोग आपराधिक हत्यामा अपग्रेड गरिएको छ ।

उमेश दाहाल नासभिलमा रहेको टप गल्फको तल्लो तहमा नेपाली समुदायका अन्य सदस्यहरूसँग सांगितकि कार्यक्रममा भाग लिइरहेका बेला कार्यक्रमस्थलमा हिंसात्मक झगडा भएको थियो । उक्त कन्सर्ट टप गल्फको तल्लो तहमा ६३५ व्यक्ति क्षमताको लाइभ प्रदर्शन स्थल द कावानमा आयोजना गरिएको थियो । मानिसहरू झगडा गर्दै बाहिर पार्किङ स्थलमा पुगेका थिए ।

त्यसपछि उमेशले विवादलाई मिलाउन खोज्दा उनीमाथि नै मुक्का प्रहार गरिएको थियो । त्यसपछि उनी लडेर कंक्रिटमा टाउको ठोक्किएको थियो । भुइँमा लडिरहेका बेला उमेशको टाउकोमा राईले लात हानेको जनाइएको छ । जसका कारण उनी सख्त घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको थियो । उमेश दाहालको शनिबार अन्त्येष्टी गरिएको छ ।  मृतक उमेश दाहाल २ बच्चाका पिता हुन् । उनी नेपालको झापाबाट अमेरिका आएका हुन् ।

न्यायिक आयुक्तले राईलाई सुनुवाई नहुँदासम्म धरौटी विना नै थुनामा राख्न आदेश दिएको छ । राईलाई नासभिल डाउनटाउन डिटेन्सन सेन्टरमा राखिएको छ भने रिहाइको लागि योग्य नभएको जनाइएको छ । जेल रेकर्ड अनुशार राईको मामला इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसमा समेत पठाइएको छ ।

उनीमाथि गत वर्ष पनि जघन्य आक्रमण र घाँटी थिचेको अभियोग लगाइएको थियो । तर अदालतको अभिलेख अनुसार मुद्दा खारेज भएको देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com