अमेरिकामा नेपाली कुन स्टाटसबाट टीपीएसमा गएका थिए? कुटनीतिज्ञबाट समेत टीपीएस आवेदन


प्रकाशित मिति : श्रावण १०, २०८१ बिहीबार

नेपालमा गएको महाभूकम्पपछि अमेरिकाले अमेरिकामा रहेका नेपालीहरुलाई संरक्षण प्रदान गर्ने टेम्पोरेरी प्रोटेक्टेड स्टाटस प्रदान गरेको थियो । सन् २०१५ को जुन २४ पछि अमेरिकामा बसोबास गर्दै आएका ग्रिनकार्ड नहुनेहरु यो स्टाटसका लागि योग्य भएका थिए । झण्डै १५ हजारको हाराहारीमा अमेरिकामा रहेका नेपालीहरुले टीपीएसका लागि आवेदन दिएका थिए । जसमध्ये झण्डै ८ हजार नेपालीहरु अहिले पनि टीपीएसमा रहेका छन् ।

युएससीआईएसले टीपीएसमा जानुभन्दा अगाडि नेपाली आवेदकहरु कुन कुन भिसा स्टाटसमा थिए भन्नेबारे विवरण सार्वजनिक गरेको छ । जसमध्ये रोचक त के छ भने अमेरिकामा रहको नेपाली कुटनीतिज्ञहरुले पनि त्यतीबेला टीपीएसका लागि आवेदन दिएका थिए । एवान भिसामा रहेका तीनजना नेपाल सरकारका कर्मचारी र कुटनीतिज्ञहरुले टीपीएसका लागि आवेदन दिएका थिए भने एटु भिसामा रहेका ६ जना नेपाल सरकारका कर्मचारीहरुले टीपीएसका लागि आवेदन दिएको युएससीआईएसले जनाएको छ । त्यस्तै एकजना ए थ्री भिसामा रहेका कूटनीतिज्ञका घरेलु कामदारले पनि टीपीएसका लागि आवेदन दिएका थिए ।

एसाइलम आवेदन दिएका ११७६ जना नेपालीहरुले टीपीएसका लागि आवेदन दिएका थिए भने भिजिटर भिसामा रहेका ९२ जना नेपालीहरुले टीपीएसका लागि आवेदन दिएको युएससीआईएसले जनाएको छ । ट्रान्जिट भिसा सीवानमा रहेका २ जना र विनाभिसा अमेरिका छिरेका १२६ जना नेपालीले टीपीएसका लागि आवेदन दिएका थिए । विद्यार्थी भिसामा रहेका १९७० जना नेपालीहरुले टीपीएसका लागि आवेदन दिएका थिए । त्यस्तै विद्यार्थी भिसावाहकका डिपेन्डेन्ट ३९९ जनाले टीपीएसका लागि आवेदन दिएका थिए ।

कामदार भिसा एचवानबीमा रहेका ५५५ जना नेपालीहरुले पनि टीपीएसका लागि आवेदन दिएका थिए । त्यस्तै उनीहरुका डिपेन्डेन्ट एचफोर भिसामा हुने २१८ जना नेपालीहरुले टीपीएसका लागि आवेदन दिएका थिए । एक्सचेन्ज भिजिटरका रुपमा जेवान भिसामा रहेका २४ जना र २२ जना उनीहरुका डिपेन्डेन्टहरुले पनि टीपीएसका लागि आवेदन दिएका थिए । टीपीएस आवेदन दिने अन्य नेपालीहरुको संख्या १८८ रहेको थियो ।

टीपीएस आवेदन दिनेहरु ४३ जना परोलमा रहेकाहरु थिए भने ८ हजार ९ सय ९४ जना कागजपत्रविहिन वा स्टाटस नखुलेकाहरु थिए । युएससीआईएसमा एसाइलमको अन्तरवार्ता भइसकेका र निर्णय कुरेर बसेकाहरु ७ जना रहेको युएससीआईएसको तथ्यांक रहेको छ । अहिलेसम्म पनि अमेरिकामा टीपीएसमा नै रहिरहेकाहरुको संख्या ७ हजार ८ सय ७५ रहेको छ । तीबोहक अरुले कतिपयले स्टाटस एड्जष्ट गरेर ग्रिनकार्ड लिइसकेका छन् भने कतिपय नेपाल फर्केका छन् । केहीको मृत्यु भएको छ भने कतिपयले टीपीएस छाडेका छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com