आधिकारिक रूपमा ह्यारिसलाई डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी प्राप्त


प्रकाशित मिति : श्रावण १८, २०८१ शुक्रबार

उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार औपचारिक रूपमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवारी प्राप्त गरेकी छिन् । अब ह्यारिस अमेरिकामा राष्ट्रपतिका लागि प्रमुख पार्टीको उम्मेदवारको रूपमा चयन हुने पहिलो अश्वेत महिला भएकी छिन् ।

लगभग ४ हजार डेमोक्र्याटिक डेलिगेटहरुद्वारा गरिएको भर्चुअल मतदान बिहीबार बिहान ९ बजे सुरु भएको थियो । शुक्रबार दिउसो १ बजेतिर ह्यारिसले मनोनयन जित्नका लागि डेलिगेटहरुबाट पर्याप्त मतहरू प्राप्त गरेकी छिन् ।

ह्यारिस एक मात्र उम्मेद्वार थिइन्, जो रोल कल भोटको लागि योग्य थिइन् । धेरै डेलिगेटहरुले उनलाई पहिले नै समर्थन गरिसकेका थिए । अब राष्ट्रपतिको टिकटको नेतृत्व गर्ने पहिलो अश्वेत महिलाको औपचारिक आरोहण लामो समयदेखि जातीय र लैङ्गिक मुद्दाहरूले घेरिएको राष्ट्रका लागि कोशेढुङ्गाको रूपमा मानिएको छ ।

भर्चुअल मतदान अवधि सकिएपछि आधिकारिक रूपमा अर्को हप्ता नोमिनेशन स्वीकार गर्ने ह्यारिसले बताएकी छिन् । यो प्रक्रिया औपचारिक रूपमा सोमबार सम्म जारी रहनेछ । अब सबैको ध्यान ह्यारिसले उपराष्ट्रपति उम्मेदबारका लागि कस्को छनौट गर्नेछिन् भन्नेमा रहेको छ ।

ह्यारिसले उपराष्ट्रपति उम्मेदबारका लागि ६ जनाको सुची तयार गरेको र उनीहरुसँग यसै सप्ताहन्तमा अन्तरवार्ता लिने जनाइएको छ । केन्टकीका गभर्नर एन्डी बेशियर, इलिनोयका जेबी प्रिट्जकर, पेन्सिल्भेनियाका जोश शापिरो र मिनेसोटाका टिम वाल्जका साथै ट्रान्सपोर्टेशन सेक्रेटरी पीट बुटाजज र सिनटेर मार्क केलीमध्येबाट एकजना छनौट गर्ने बताइएको छ ।

क्यालिफोर्नियामा भारतीय आमा र जमैकाका बुबाबाट जन्मिएकी ह्यारिस अमेरिकाको लगभग २५० वर्षको इतिहासमा प्रमुख दलका तर्फबाट राष्ट्रपतिको उम्मेदबार बन्ने दोश्रो अश्वेत व्यक्ति बनेकी छिन्। रिपब्लिकन उम्मेदबार डोनाल्ड ट्रम्पलाई पराजित गरेमा उनी राष्ट्रको पहिलो महिला र पहिलो एसियाली मूलकी अमेरिकी राष्ट्रपति हुनेछिन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com