‘फाटेको चप्पल लगाएर र पछाडि झोला भिरेर घुम्न जान्छु भन्नेलाई शंका गर्नैपर्यो’


प्रकाशित मिति : श्रावण २८, २०८१ सोमबार

पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम बढेपछि सरकारले कडाइ गरेको छ । विशेष गरी घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कडाइ गरिएको हो । हालैको एक हप्तामा भिजिट भिसामार्फत घरेलु कामदारका लागि विदेश जान लागेका पाँच सयभन्दा धेरै महिलासहितका पुरुषलाई विमानस्थलबाटै फर्काइएको थियो । भिजिट भिसा देखाएर काम गर्नका लागि जान खोज्नेलाई फिर्ता गरिएको अध्यागमनले बताएको छ । यो लगायतका विषयमा अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी प्रेम प्रसाद दाहालसँग खसोखासका लागि दीपेन्द्र ढुंगानाले गरेको कुराकानी ।

पछिल्लो समय भिजिटर भिसा मार्फत वैदेशिक रोजगारीमा जान खोज्नेलाई फर्काएका घटनाहरु बढेको देखिन्छ ? यहाँहरुले कत्तिको कडाई गर्नुभएको छ ?

नेपालबाट वैदेशिक रोजगारीमा जाने या जान चाहनेहरुले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर आफ्नो कामको ग्यारेन्टी गरेर गएमा उहाँहरुको सेवा र कामप्रति गरेको मिहिनेत सुरक्षित रहन्छ । त्यो हिसाबले हामीले श्रम स्वीकृतिलाई जोड दिएका छौं । भिजिट भिसामा हामीलाई झुम्क्याएर कोही गएमा उहाँहरुको पछि लाग्न अध्यागमन विभाग सक्दैन । किनभने उहाँहरुले आफूसँग ५०० डलर, दुईतर्फी टिकट, होटेल बुकिङ देखाएर घुम्न तथा घुमेर फर्किन्छु प्रतिबद्धता गर्नुहुन्छ, स्वघोषणापत्र भर्नुभएको हुन्छ । र, त्यसपछि उहाँहरु भिजिट भिसामा जानुहुन्छ । भिजिट भिसामा गएर उहाँहरु अल्झनुहुन्छ भने अध्यागन विभागले के गर्न सक्छ र ? अध्यागमन विभागले त उहाँहरुलाई सम्झाउने बुझाउने हो । अध्यागमन विभागले यसभन्दा अगाडी पनि ७५३ वटै स्थानीय तहमा परिपत्र गरेको छ । सम्बन्धित पालिकाबाट कोही भिजिट भिसामा गएमा फर्केर आउने ग्यारेन्टी गर्न, सम्झाउन, सचेतना कार्यक्रमहरु सञ्चालन गर्न बारम्बार भनेका छौं । भिजिट भिसामा जानेलाई काम गर्न नजान र काम गर्नका लागि श्रम स्वीकृति लिएर जान हामीले पनि बारम्बार सचेतना कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । यसको बाबजुद पनि उहाँहरु भिजिट भिसालाई दुरुपयोग गरेर गइरहनुभएको छ ।

के कारणले यस्तो भइरहेको हो ?

यसमा दुईवटा कुराहरु देखिन्छ । एउटा, श्रम स्वीकृति लिइसकेपछि जुन कम्पनीको लागि लिनुभएको हो त्यसमा बाँधिनुपर्ने हुने रहेछ । त्यो भन्दा बाहिर गएर काम गर्न सक्नुहुदो रहेनछ । भिजिट भिसामा गएर श्रम बेच्दा खेरी कहिलेकाँही राम्रा राम्रा अवसर पनि रहँदा रहेछन् । विशेष गरी आईटी कम्पनी लगायत हाइ लेभलको कामहरुमा त्यस्तो अवसर हुँदो रहेछ । त्यो हिसाबले उहाँहरुले अत्याधिक भिजिट भिसाको प्रयोग गरेको पाइएको छ । तर, भिजिट भिसामा गएर काम गर्नु न्यायोचित पनि होइन र कानुनसम्मत पनि रहँदैन ।

यो बारे श्रम मन्त्रालयसँग पनि बसेर छलफल गरिरहेका छौं । श्रम मन्त्रीज्यूको पनि आफ्नै चाहाना छ । प्रत्येक मानिसहरु कानूनी रुपमै श्रम गर्नको लागि जानुपर्छ भन्ने उहाँको चाहना छ । भिजिट भिसाको दुरुपयोग नहोस् भन्ने उहाँहरुको चाहना छ । बैठक बसिरहेका छौं, यसमा समन्वय भइरहेको छ । हामीले आएको भिसा कस्तो हो भन्ने पनि चेक गरिरहेका छौं । सकभर सबैलाई श्रम स्वीकृति लिएर वैदेशिक रोजगारको लागि पठाउने काममा हामी निरन्तर लागिरहेका छौं ।

कस्तो अवस्थामा विमानस्थलबाटै फर्काउने गरिएको छ ?

भिजिट भिसामा हामीले दिएको कार्यविधिहरु अनुशार ६ बुँदामा पूरा गर्दा कसैले भिजिट भिसा लिइरहेको तर उता वर्किङ भिसा देखिने समेत हुन्छ । तर श्रम स्वीकृति लिनुभएको हुदैन । भिजिट भिसामा जाने, वर्किङ भिसा देखिने, श्रम स्वीकृति नलिने गरेर उहाँहरुले आफैले आफैलाई नै गलत सावित गरिरहनुभएको हुन्छ । त्यसैले उहाँहरुलाई विमानस्थलबाट फर्काउने गरिएको छ । श्रम स्वीकृति लिएका, पासपोर्ट भएका र वर्किङ भिसा भएकाहरुलाई रोकिएको छैन । जसले गलत गर्नुहुन्छ, उहाँहरुलाई विमानस्थलबाट फर्काइन्छ ।

भिजिट भिसामा जानको लागि विमानस्थलमा कस्ता कागजात देखाउनुपर्छ ?

भिजिट भिसामा गएर घुमेर फर्कन चाहनेलाई कुनै दुःख छैन । घुमेर आउनका लागि दुबइ, थाइल्याण्ड, मलेसिया लगायतका देशममा जाँदा दुईतर्फी टिकट, ५०० डलर, पासपोर्ट, होटल बुकिङ हुनेहरुलाई समस्या हुदैँन । तर भिजिट भिसामा काम गर्ने नियतले जानेलाई समस्या हुन्छ । फाटेको चप्पल लगाएर हिडेँको, पछाडी झोला भिरेको मान्छेले भिजिट गर्न जान्छु भनेपछि शंकाको दृष्टिले हेर्नुपर्ने हुन्छ । शंकाको दृष्टिले हेरेर उहाँको पासपोर्ट चेक गर्दा श्रम स्वीकृति देखिदैन । श्रम स्वीकृति नदेखिएपछि हामीले उहाँहरुलाई फर्काउने नै हो । तपाइँ श्रम स्वीकृति लिएर आउनुस् भनेर फर्काउँछौं ।

नेपाल आउँदा अनअराइभल भिसा पाउन नसक्ने १२ वटा देशका नागरिकहरुको सन्दर्भमा के छ?

अनअराइभल भिसा प्राप्त गर्न नसक्ने निषेधित १२ वटा देशहरुमा परिमार्जन गर्नुपर्छ कि भन्ने एउटा समिति बनेको छ । त्यो समितिले रिपोर्ट दिइसकेपछि त्यसमा पनि केही होला । उहाँहरुले पनि अनअराइभल भिसामात्रै प्राप्त नगर्ने हो, तर उहाँहरुले आफूलाई दूतावासबाट अनुरोध गर्नुभयो भने अध्यागन विभागले अराइभल भिसा दिन सक्छ । उहाँहरु आउन सक्नुहुन्छ । तर, एकदमै रोकिएको वा निषेध नै गरिएकोे भन्ने होइन ।

अध्यागमनको आधुनिकीकरणमा कस्ता पहल भइरहेका छन् ?

अध्यागमनको आधुनिकीकरणको विषयमा अहिले हामीले भएको प्रगति अनुसार जहाँ छौं, त्यहाँसम्म पुगेका छौं । यहाँ भन्दा अगाडी हामीले अनलाइन पेमेन्ट सुरु गरेका थियौं । अनलाइन एप्लिकेशन सुरु गरेका थियौं । अटोमेशन सुरु गरेका थियौं । त्यसपछि इटिए लागु गरेका छौं । इटिएबाट पनि अहिले हामीले भिसा प्रदान गरिरहेका छौं । यी सम्पूर्ण प्रगतीहरु छन् । तर अहिले मुख्यरुपमा अड्किएको विषय इन्टेरनेशनल गेट वेबाट भुक्तानी हो । अर्थात् बाहिरबाट पैसा तिर्न सक्ने वातावरण बनाउन सकिरहेका छैनौं । वैदेशिक मुद्राबाट, वैदेशिक कारोबारबाट पैसा तिर्नको लागि विभिन्न कठिनाइहरु छन्, यसमा महालेखा नियन्त्रक कार्यालय लागिरहेको छ । महालेखा नियन्त्रक कार्यालयले हामीलाई सहमति दिएमा बाहिरबाट पनि अनलाइन पेमेन्ट गरेर नेपाल आउन मिल्ने र भिसा प्राप्त गर्न सक्ने वातावरण बन्नेछ ।

यसको लागि कति समय लाग्ला ?

यो प्राविधिक विषय हो । यसमा ठ्याक्कै भन्न सक्ने अवस्था रहदैन । महालेखा नियन्त्रक कार्यालयले आफ्नो सफ्टवेयर विकाश गर्नुपर्छ । अहिले नेपालभित्रको नेपाली पैसाको मात्रै राजश्व संकलन गर्ने व्यवस्था रहेछ । अब डलरमा पनि राजश्व संकलन गर्न सक्ने व्यवस्था मिलाउन सकेमा जति सक्दो चाँडो नै यो उपाय पनि निस्किन्छ ।

कस्तो व्यक्तिले नेपाल आउनको लागि राजदूतावासबाट भिसा लिनुपर्छ ? कस्तो व्यक्तिले अनअराइभल भिसा प्राप्त गर्न सक्छ ? साथै, विदेशी नागरिकलाई विमानस्थलबाट फर्काउने प्रावधान चाहीँ के के हो ?

विदेशी नागरिकलाई नेपालमा प्रवेश नदिई फर्काउने भनेको कसैको पासपोर्ट गैरकानूनी देखिएमा वा कुनै कारबाहीमा परेको भएमा मात्र हो । रेड नोटिशमा वा कालोसुचीमा भएका व्यक्तिहरुलाई हामी फर्काउछौं । हाम्रो डाटामा हेर्दा पनि गैरकानूनी तरिकाले आएको देखियो भने हामी फर्काउँछौं ।

पदयात्रामा आउनेहरुको संख्या पनि बढेको छ । के छ उनीहरुको लागि व्यवस्था ?

पदयात्रामा आउनेहरुको लागि शुल्कको हिसाबमा पूरानै हो । उहाँहरु बाहिरैबाट फर्म भरेर, निषेधित क्षेत्रमा जानको लागि पदयात्राको अनुमति प्राप्त गरेर अनि मात्रै हामी जान्छौं भन्ने सोचले फर्म भर्नुभयो भने उहाँहरुले पाउनुहुन्छ अहिलेपनि । त्यो सुविधा छ । हामीले जे गरिहेका छौं, त्यसलाई निरन्तरता दिइराखेका छौं । उहाँहरुले इटिएमार्फत भिसा प्राप्त गर्ने, पदयात्राको अनुमति लिने गर्नुपर्छ भने ट्रेकिङ एजेन्सीमार्फत आउनुपर्छ । त्यो सुविधामा कुनै कटौती भएको छैन । त्यसमा अझै विकास गरेर गइरहेका छौं ।

यहाँ आएर पदयात्राको अनुमति लिनुपर्यो भने के हुन्छ ?

पाउनुहुन्छ । त्यो उहाँहरुको इच्छाको कुरा हो । पहिले काठमाडौं छिर्छु, २–४ दिन काठमाडौंमै घुम्छु, त्यसपछि पदयात्रामा निस्किन्छु भन्नुभयो भने एजेन्सीमार्फत नै उहाँहरुले फर्म भर्नुपर्छ । कुन क्षेत्रमा जान चाहानुभएको हो, त्यो क्षेत्रमा जानको लागि अनुमति पत्र प्राप्त गरिसकेपछि उहाँ जान सक्नुहुन्छ ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गरिसकेको व्यक्तिले भिसा शुल्क तिर्नु पर्छ कि पर्दैन ?

गैरआवासीय नेपाली नागरिकता लिएको व्यक्तिले भिसा शुल्क तिर्नु पर्ने वा नपर्ने विषयमा अहिलेसम्म कानुन मौन छ । स्पष्ट रुपमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गरिसकेको व्यक्तिलाई भिसा शुल्क तिर्नुनपर्ने भन्ने कतै पनि नलेखिएको हुनाले गैरआवासिय नेपाली नागरिकता प्राप्त गरेपनि उहाँले आफ्नो भिसा अपडेट गर्नको लागि शुल्क तिर्नैपर्ने हुन्छ । यदी कसैले एनआरएन कार्ड बनाउनुभएको छ भने उहाँहरुले निशुल्क भिसा पाउनुहुन्छ ।

सरकार परिवर्तन हुँदा अध्यागममा प्रभाव पर्छ ?

अध्यामगन विभाग नीति, नियम, ऐन, कानुनले चल्छ । सरकार परिवर्तन हुँदा बित्तिकै कानुन परिवर्तन हुन्न, ऐन परिवर्तन हुन्न, नियमावली परिवर्तन हुन्न । अलिकति सफ्ट र हार्ड तरिकाले हेर्ने नीति फरक पर्ला । तर कार्य प्रक्रियाहरु उस्तै रहन्छन् । अलिकति स्थीर सरकार भएर अध्यागमन ऐन नै परिवर्तन भयो भने या कार्यविधि नै परिवर्तन भयो भने त्यहाँ तलमाथि हुन सक्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com