बाइडेनको कदमपछि अध्यागमन अदालतमा एसाइलम फाइल गर्ने नेपालीको संख्यामा गिरावट


प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार

अमेरिका शरण खोज्नेहरूका लागि प्रवेशमा कडा प्रतिबन्ध लगाउने राष्ट्रपति जो बाइडेनको घोषणापछि अमेरिकाको अध्यागमन अदालतका नेपालीका एसाइलमका मुद्दाहरूमा पनि गिरावट आएको छ । गत जुलाईमा जम्मा १५९ जना नेपालीहरुले अमेरिकाको अध्यागमन अदालतमा एसाइलम प्रकृयाका लागि फाइल गरेको ट्राजेक्शनल रेकर्डस् एक्सेस क्लियरिंगहाउसले जम्मा गरेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ ।

यो संख्या गत नोभेम्बरको तुलनामा ७४ प्रतिशले गिरावट हो । गत नोभेम्बरमा अमेरिकी इतिहासमा नै सबैभन्दा धेरै ६४८ जना नेपालीहरुले अध्यागमन अदालतमा प्रकृयाका लागि फाइल गरेका थिए । त्यस्तै अक्टोबरमा ६०७ जना नेपालीहरुले अध्यागमन अदालतमा प्रकृयाका लागि फाइल गरेका थिए । जुलाईमा आएको गिरावट सन् २०२३ को मार्च यताकै सबैभन्दा कम हो ।

जुलाईमा १५९ जनामध्ये ३४ जनाले न्युयोर्क, ३३ जनाले टेक्सास, २१ जनाले क्यालिफोर्निया, १२ जनाले एरिजोना र ९ जनाले कोलोराडोको अध्यागमन अदालतमा फाइल गरेका थिए । अर्थात् उनीहरुका लागि जुलाईको मितिको नोटिस टु अपियर जारी गरिएको थियो । अहिले अमेरिकाको अध्यागमन अदालतमा ८ हजार ५ सय ३७ जना नेपालीका एसाइलमका मुद्दाहरु विचाराधिन अवस्थामा रहेका छन् । २५ बर्षमा ७ हजार १ सय ४९ नेपालीहरुको एसाइलम अमेरिकी अध्यागमन अदालतबाट स्वीकृत भएको छ ।

विनाभिसा गैरकानूनी रूपमा अमेरिकाको दक्षिणी सीमा पार गर्ने आप्रवासीको संख्यामा पनि जुलाईमा उल्लेखनीय रूपमा गिरावट छ । अब यो संख्या राष्ट्रपति बाइडेनले लागु गरेको नियम अन्तरगत सिमानाका खुलाउनका लागि अधिकारीहरूलाई आवश्यक पर्ने थ्रेसहोल्डको नजिक पुगको छ ।

अमेरिकी र मेक्सिको सीमामा विनभिसा अमेरिका आउन खोज्ने आप्रवासीहरुको पक्राउमा लगातार पाँचौं मासिक गिरावट आएको र ट्रम्प प्रशासनको बेलाको २०२० को बर्षा यता त्यहाँ अवैध आप्रवासनमा सबैभन्दा कमी आएको तथ्यांकले देखाएको छ । बाइडेनको आदेशपछि गैरकानुनी सीमा पार गर्ने क्रम जुन महिनामा तीन वर्षमा सबैभन्दा न्यून स्तरमा पुगेको थियो ।

जुनको सुरुमा राष्ट्रपति बाइडेनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने अधिकांश आप्रवासीहरूको प्रवेश निलम्बन गर्न आफ्नो अख्तियारलाई प्रयोग गरेका थिए । जसले प्रवेशका आधिकारिक पोर्टहरु बाहिर अमेरिकी शरण प्रणालीमा पहुँचलाई प्रभावकारी रूपमा बन्द गरेको थियो ।

बाइडेनको घोषणा कार्यान्वयन गर्ने नियम अन्तरगत विनाभिसा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीको संख्या लगातार ७ दिनसम्म दिनको औसत १५ सयमा झरेमा एसाइलममाथिको कारवाही हटाइने प्रावधान रहेको छ । यो गणनामा मेक्सिकोबाहेकका अन्य देशका अभिभावकविनाका बच्चाहरू समावेश गरिदैन । ती बालबालिकाहरूलाई १८ वर्षको नभएसम्म अमेरिकामा रहेको प्रायोजकसँग वा सरकारी आश्रयमा राखिन्छ।

यदि दैनिक अवैध क्रसिङको ७ दिनको औसत १५ सयमा झरेमा बाइडेनको सिमा प्रतिबन्ध रोकिनेछ । तर त्यसका लागि होमल्यान्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयोर्कासले थ्रेसहोल्डमा पुग्ने बारे तथ्यगत निर्धारण गर्नुपर्छ । तर सात दिनको औषत २५ सय नाघेमा प्रतिबन्ध पुन लाग्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com